प्रोटोन ई–मास ५ सार्वजनिक, पहिलो १०० ग्राहकले पाउने विशेष अफर
काठमाडौं । नेपालको विद्युतीय सवारी बजारमा प्रतिस्पर्धा झन् तीव्र बन्दै गएको बेला प्रोटोन गाडीको नेपालका लागि आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा.लि. ले आफ्नो दोस्रो पूर्ण विद्युतीय मोडल प्रोटोन ई–मास ५ नेपाली बजारमा औपचारिक रूपमा सार्वजनिक गरेको छ । कम्पनीले यो गाडीलाई आफ्नो सेग्मेन्टकै पहिलो रियर–ह्विल–ड्राइभ (आरडब्ल्यूडी) कम्प्याक्ट इलेक्ट्रिक एसयूभीका रूपमा प्रस्तुत गरेको छ ।
प्रोटोनले ई–मास ५ लाई प्राइम र प्रिमियम गरी दुई भेरियन्टमा उपलब्ध गराएको छ । प्राइम भेरियन्टको आधिकारिक मूल्य रु. ३२.९९ लाख र प्रिमियम भेरियन्टको मूल्य रु. ३६.९९ लाख निर्धारण गरिएको छ । तर कम्पनीले सुरुआती पहिलो १०० ग्राहक का लागि विशेष अफर पनि ल्याएको छ । यसअन्तर्गत प्राइम भेरियन्ट रु. २९.९९ लाख र प्रिमियम भेरियन्ट रु. ३४.९९ लाख मा उपलब्ध हुनेछ ।
ई–मास ५ को सबैभन्दा ठूलो विशेषता यसको रियर–ह्विल–ड्राइभ प्लेटफर्म हो । यससँगै मल्टि–लिङ्क रियर सस्पेन्सन प्रयोग गरिएकाले सन्तुलित तौल वितरण, उत्कृष्ट ह्यान्डलिङ तथा अझ सहज ड्राइभिङ अनुभव प्राप्त हुने कम्पनीको दाबी छ । विशेषगरी सहरी सडकदेखि राजमार्ग र नेपालको घुमाउरो पहाडी सडकसम्म यसले थप स्थिरता दिने विश्वास कम्पनीले व्यक्त गरेको छ ।
प्राइम भेरियन्ट मा ५८ किलोवाट क्षमताको इलेक्ट्रिक मोटर र ३०.१२ किलोवाट–घण्टा क्षमताको क्याटएल एलएफपी ब्याट्री जडान गरिएको छ । यसले डब्लुएलटीपी मापदण्डअनुसार २२५ किलोमिटरसम्म रेन्ज दिने कम्पनीले जनाएको छ ।
त्यसैगरी प्रिमियम भेरियन्ट मा ८५ किलोवाट क्षमताको मोटर र ४०.१६ किलोवाट–घण्टा क्षमताको क्याटएल एलएफपी ब्याट्री उपलब्ध छ । यो भेरियन्टले डब्लुएलटीपी मापदण्डअनुसार ३२५ किलोमिटरसम्म यात्रा गर्न सक्ने दाबी गरिएको छ ।
दुवै भेरियन्टको एक्सेलेरेसन पनि निकै आकर्षक रहेको कम्पनीको भनाइ छ । प्राइम भेरियन्टले ० देखि ५० किलोमिटर प्रतिघण्टा गति ४.४ सेकेन्ड मा पूरा गर्छ भने प्रिमियम ले यही गति ३.९ सेकेन्ड मै हासिल गर्न सक्छ ।
चार्जिङतर्फ हेर्दा, डिसी फास्ट चार्जर प्रयोग गर्दा ३० प्रतिशतदेखि ८० प्रतिशतसम्म चार्ज हुन करिब २१ मिनेट लाग्ने कम्पनीले जनाएको छ । साथै, गाडीमा ३.३ किलोवाट क्षमताको भीटूएल (भेहिकल–टु–लोड) सुविधा पनि उपलब्ध छ, जसमार्फत बाह्य विद्युतीय उपकरण सञ्चालन गर्न सकिन्छ ।
आकारका हिसाबले ई–मास ५ को लम्बाइ ४,१३५ मिमि, चौडाइ १,८०५ मिमि, उचाइ १,५८० मिमि तथा ह्विलबेस २,६५० मिमि रहेको छ । १७५ मिमि ग्राउन्ड क्लियरेन्स भएकाले नेपाली सडक अवस्थालाई पनि सहज रूपमा सामना गर्न सक्ने अपेक्षा गरिएको छ ।
सुरक्षाका लागि सबै भेरियन्टमा ६ वटा एयरब्याग स्ट्यान्डर्ड रूपमा उपलब्ध छन् । प्रिमियम भेरियन्ट मा भने लेभल–२ एड्भान्स्ड ड्राइभर असिस्टेन्स सिस्टम (एडीएएस) सहितका आधुनिक सुरक्षा प्रविधि पनि समावेश गरिएको छ ।
जगदम्बा मोटर्सका अनुसार प्रोटोन ई–मास ५ ले आधुनिक प्रविधि, आकर्षक मूल्य, उच्च सुरक्षा तथा उत्कृष्ट ड्राइभिङ अनुभवलाई एउटै प्याकेजमा प्रस्तुत गर्दै नेपाली ईभी बजारमा नयाँ प्रतिस्पर्धा सिर्जना गर्ने अपेक्षा गरिएको छ । विशेषगरी आरडब्ल्यूडी प्लेटफर्म, मल्टि–लिङ्क सस्पेन्सन र प्रतिस्पर्धात्मक मूल्यका कारण यो मोडल कम्प्याक्ट इलेक्ट्रिक एसयूभी सेग्मेन्टमा बलियो विकल्प बन्न सक्ने कम्पनीको विश्वास छ ।