नाइमापछि नाडामा प्रोटोनको तयारी, नयाँ अफर सार्वजनिक गर्ने संकेत
काठमाडौँ । एउटै प्रदर्शनीमा सहरी यात्राका लागि कम्प्याक्ट गाडी खोज्ने र परिवारसहित लामो दूरीको यात्रा गर्न चाहने ग्राहकलाई फरक–फरक विकल्प उपलब्ध हुँदा एउटा स्टलमा विशेष चहलपहल देखियो । आकार, प्रयोग र मूल्यमा भिन्न दुई इलेक्ट्रिक एसयूभीले अवलोकनकर्ताको ध्यान आफूतिर तानेका हुन् ।
नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ मा प्रदर्शन गरिएका प्रोटोन इमास ५ र इमास ७ प्रति ग्राहकले उल्लेख्य चासो देखाएको नेपालका लागि आधिकारिक वितरक जगदम्बा मोटर्सले जनाएको छ । गाडीका फिचर, मूल्य, स्वामित्व खर्च र बुकिङ प्रक्रियाबारे जानकारी लिने अवलोकनकर्ताको उपस्थिति उत्साहजनक रहेको कम्पनीको भनाइ छ ।
सहरी प्रयोगलाई प्राथमिकता दिएर तयार पारिएको प्रोटोन इमास ५ कम्प्याक्ट इलेक्ट्रिक एसयूभी हो । रियर–ह्विल–ड्राइभ प्लेटफर्ममा आधारित यस गाडीमा १४.६ इन्चको फुल एचडी डिस्प्ले, ३७५ लिटरको बुट स्पेस, स्मार्ट स्टोरेज तथा बाह्य विद्युतीय उपकरण चलाउन सकिने भेहिकल–टु–लोड प्रविधि दिइएको छ ।
नेपाली सहरका साँघुरा सडक, दैनिक कार्यालय आवतजावत र सानो परिवारको आवश्यकतालाई ध्यानमा राख्दा इमास ५ व्यावहारिक विकल्पका रूपमा देखिएको छ । यसको प्राइम भेरियन्टको मूल्य ३२ लाख ९९ हजार र प्रिमियम भेरियन्टको मूल्य ३६ लाख ९९ हजार रुपैयाँ तोकिएको छ ।
इमास ७ भने फराकिलो केबिन र लामो दूरीको यात्रालाई प्राथमिकता दिने परिवारका लागि तयार पारिएको ठूलो इलेक्ट्रिक एसयूभी हो । यसको प्राइम भेरियन्टमा १६० किलोवाटको मोटर र ४९.५२ किलोवाट आवर क्षमताको एलएफपी ब्याट्री उपलब्ध छ । कम्पनीका अनुसार यसले एकपटकको पूर्ण चार्जमा ३४५ किलोमिटरसम्म डब्लूएलटीपी रेन्ज दिन्छ ।
गाडीमा १५.४ इन्चको डिस्प्लेसँगै चालक सहायता प्रणालीसमेत उपलब्ध छ । इमास ७ को प्राइम भेरियन्टको मूल्य ४९ लाख ९९ हजार र प्रिमियम भेरियन्टको मूल्य ५९ लाख ९९ हजार रुपैयाँ उल्लेख गरिएको छ ।
नाइमा एक्स्पोमा यी गाडी हेर्न छुटाएका ग्राहकले नाडा अटो सो २०२६ मा प्रत्यक्ष अवलोकन गर्न सक्नेछन् । प्रोटोनले हल नम्बर ४ स्थित स्टल जी–१५ बाट इमासका मोडल प्रदर्शन गर्ने तयारी गरेको छ । नाडाका अवसरमा थप आकर्षक अफरसमेत सार्वजनिक गरिने जगदम्बा मोटर्सले जनाएको छ ।