Newad1
Featured blog image

उपत्यकाबाहिर सार्वजनिक यात्रुवाहक सवारी दर्ता खुला, काठमाडौंमा अझै सर्त

काठमाडौं । यातायात व्यवस्था विभागले चार महिनादेखि रोकिएको सार्वजनिक यात्रुवाहक सवारीसाधनको नयाँ दर्ता असोज १ गतेदेखि सर्तसहित खुला गरेको छ । काठमाडौं उपत्यकाबाहिर दर्ता हुने सवारीमा विद्युतीय यात्रुवाहकलाई प्राथमिकता दिइनेछ भने उपत्यकाभित्र तत्काल सबै प्रकारका सार्वजनिक सवारी दर्ता गर्न पाइने छैन ।

विभागले सातै प्रदेशका सम्बन्धित मन्त्रालय र सबै स्थानीय तहलाई भदौ ३० गते पत्र पठाउँदै नयाँ व्यवस्था कार्यान्वयन गर्न भनेको हो । काठमाडौं उपत्यकाभित्र हाललाई स्कुल बस र सञ्चालनमा रहेका सार्वजनिक सवारीको सट्टाभर्नामा ल्याइने सवारीको मात्र दर्ता खुलाइएको छ ।

उपत्यकाको रुट तथा सवारी व्यवस्थापनलाई कारण देखाउँदै अन्य नयाँ सार्वजनिक यात्रुवाहक सवारीको दर्ता भने अझै सीमित राखिएको छ । विभागको पत्रले नयाँ रुट इजाजत खुला गरिएको विषय उल्लेख गरेको छैन ।

विभागले गत जेठ ७ गते अर्को सूचना जारी नभएसम्मका लागि देशभर सार्वजनिक सवारीसाधनको नयाँ दर्ता रोक्न निर्देशन दिएको थियो । सार्वजनिक यातायातको वैज्ञानिक व्यवस्थापन हुन नसकेको, सवारी चाप र ट्राफिक जाम बढेको तथा आवागमनमा कठिनाइ भएको कारण देखाउँदै विद्युतीयसहित सबै प्रकारका नयाँ सार्वजनिक सवारीको दर्ता रोकिएको थियो ।

त्यसपछि जेठ ८ गते वा त्यसअघि नै प्रतीतपत्र खोलेर आयात प्रक्रिया अघि बढाइएका तथा नेपाल भित्रिसकेका सार्वजनिक सवारीलाई कागजातका आधारमा दर्ता गर्न छुट दिइएको थियो । विभागले साउन १८ गते सार्वजनिक मालवाहक सवारीको दर्ता पनि खुलाइसकेको छ ।

नयाँ निर्णयसँगै उपत्यकाबाहिर सञ्चालन गर्ने गरी सार्वजनिक यात्रुवाहक सवारी दर्ता गर्ने बाटो खुलेको छ । काठमाडौं उपत्यकामा नयाँ बस, माइक्रोबस वा अन्य यात्रुवाहक सवारी दर्ता गर्न चाहने व्यवसायीका हकमा भने स्कुल बस अथवा सट्टाभर्नाको सर्त लागू हुनेछ ।

footer