रियर–ह्विल–ड्राइभ प्रविधिसहित प्रोटोन ई.मास ५ नेपाली सडकमा उत्रिने
काठमाडौं । नेपालको विद्युतीय सवारी (ईभी) बजार तीव्र गतिमा विस्तार भइरहेका बेला प्रोटोन गाडीको नेपालका लागि आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा.लि. ले नयाँ प्रोटोन e.MAS 5 (ई–मास ५) नेपाली बजारमा ल्याउने तयारी गरेको छ । कम्पनीका अनुसार यो आफ्नो सेग्मेन्टमा नेपालकै पहिलो रियर–ह्विल–ड्राइभ (RWD) कम्प्याक्ट इलेक्ट्रिक एसयूभी हुनेछ ।
कम्पनीले यस गाडीको आगमनले नेपाली ईभी बजारमा नयाँ प्रविधिको सुरुआत गर्ने विश्वास व्यक्त गरेको छ । प्रविधिमैत्री, उच्च कार्यसम्पादन गर्ने तथा वातावरणमैत्री सवारीप्रति उपभोक्ताको बढ्दो आकर्षणलाई मध्यनजर गर्दै विकसित गरिएको यस एसयूभीले उत्कृष्ट ड्राइभिङ अनुभव, सहज प्रयोग र उच्च सुरक्षालाई प्राथमिकतामा राखेको कम्पनीको दाबी छ ।
रियर–ह्विल–ड्राइभ प्लेटफर्ममा आधारित भएकाले ई–मास ५ मा सन्तुलित तौल वितरण, उत्कृष्ट ह्यान्डलिङ, स्थिर ड्राइभिङ प्रदर्शन तथा सहज नियन्त्रणको सुविधा उपलब्ध हुने बताइएको छ । यी विशेषताले सहरी सडक, राजमार्ग तथा नेपालको पहाडी भूगोलमा समेत आत्मविश्वासका साथ यात्रा गर्न सहयोग पुग्ने कम्पनीको विश्वास छ ।
शंकर ग्रुपअन्तर्गत सञ्चालनमा रहेको जगदम्बा मोटर्सले दिगो तथा वातावरणमैत्री यातायात प्रणालीलाई प्रवर्द्धन गर्ने उद्देश्यसहित अन्तर्राष्ट्रियस्तरका आधुनिक सवारीसाधन नेपाली बजारमा भित्र्याउँदै आएको छ । कम्पनीले देशव्यापी बिक्री तथा सेवा सञ्जाल विस्तार, ग्राहक–केन्द्रित सेवा र बिक्रीपछिको सेवामा निरन्तर लगानी गर्दै विश्वस्तरीय स्वामित्व अनुभव प्रदान गर्ने लक्ष्य राखेको जनाएको छ ।
कम्पनीका अनुसार प्रोटोन ई–मास ५ को आगमनले अत्याधुनिक प्रविधि, उच्च गुणस्तर र उत्कृष्ट मूल्य–प्रतिफल सहितको विश्वस्तरीय विद्युतीय सवारी नेपाली ग्राहकसम्म पुर्याउने आफ्नो दीर्घकालीन योजनालाई थप सुदृढ बनाउनेछ ।
यस गाडीसँग सम्बन्धित विस्तृत प्राविधिक विवरण, प्रमुख विशेषता, मूल्य, बुकिङ प्रक्रिया तथा औपचारिक सार्वजनिक मितिसहितका सम्पूर्ण जानकारी आगामी केही साताभित्र सार्वजनिक गरिने कम्पनीले जनाएको छ ।