Newad1
Featured blog image

ईभी कम्पनीकै संस्थापक भन्छन्– सुपरकारको भविष्य पेट्रोलमै छ

काठमाडौं । अटो उद्योग तीव्र रूपमा इलेक्ट्रिकतर्फ मोडिँदै गर्दा महँगा सुपरकारको संसारले भने फरक बाटो समात्ने संकेत देखिएको छ । गति र नयाँ प्रविधिभन्दा विशिष्ट बनावट, मेकानिकल अनुभव र ग्राहकको व्यक्तिगत रोजाइ महत्त्वपूर्ण बन्न थालेपछि माथिल्लो सेग्मेन्टमा पेट्रोल इन्जिनको आयु अझै लामो हुने तर्क अघि आएको हो ।

इलेक्ट्रिक हाइपरकार निर्माता रिमाकका संस्थापक तथा बुगाटी रिमाकका प्रमुख कार्यकारी अधिकृत मेट रिमाकले सामान्य प्रयोगका अधिकांश गाडी इलेक्ट्रिक भए पनि स्पोर्ट्स कार र त्यसभन्दा माथिल्लो सेग्मेन्टका गाडी लामो समयसम्म कम्बसन इन्जिनमै टिक्ने बताएका छन् ।

अमेरिकी सञ्चारमाध्यम सीएनबीसीसँगको कुराकानीमा उनले महँगा सुपरकारको बजारलाई स्विस घडीसँग तुलना गरेका छन् । स्मार्टवाचले परम्परागत घडीभन्दा धेरै काम गर्न सके पनि हस्तकला, इतिहास र विशिष्टताका कारण ग्राहकले महँगो स्विस घडी रोजेजस्तै सुपरकारमा पनि यही प्रवृत्ति देखिने उनको बुझाइ छ ।

उनका अनुसार आधुनिक प्रविधिले गाडीको पर्फर्मेन्सलाई सहज र सस्तो बनाइदिएको छ । अहिले चीनबाट करिब ५० हजार अमेरिकी डलरमा पाइने गाडीले समेत एक दशकअघिका महँगा पर्फर्मेन्स कारलाई गतिमा उछिन्न सक्ने अवस्था बनेको छ । त्यसैले माथिल्लो सेग्मेन्टमा गति मात्र बिक्रीको मुख्य आधार नरहने उनको तर्क छ ।

धनी ग्राहकले अब आफ्नो व्यक्तित्व, रुचि र कथा झल्किने गाडी खोजिरहेको रिमाकले बताएका छन् । यही कारण महँगा ब्रान्डमा कस्टमाइजेसन, हातले तयार गरिने पार्ट्स, मेकानिकल जटिलता तथा सीमित उत्पादन अझ महत्त्वपूर्ण बन्ने उनको भनाइ छ ।

रिमाकको अभिव्यक्ति आफैँमा रोचक छ । उनले सन् २००९ मा इलेक्ट्रिक हाइपरकार कम्पनी स्थापना गरेका थिए । कम्पनीको रिमाक नेभेराले प्रतिघण्टा ४१२ किलोमिटरको प्रोडक्सन ईभी टप स्पिड रेकर्डसमेत बनाएको थियो ।

तर, बुगाटीमा भने तत्काल पूर्ण इलेक्ट्रिक मोडल ल्याउने उनको योजना छैन । चिरोनको उत्तराधिकारी टुरबियोनमा ८ दशमलव ३ लिटरको भी१६ पेट्रोल इन्जिन र तीनवटा इलेक्ट्रिक मोटर समेटिएको हाइब्रिड पावरट्रेन प्रयोग गरिएको छ । यसको पेट्रोल इन्जिनले ७४६ किलोवाट र तीन इलेक्ट्रिक मोटरले थप ५९७ किलोवाट शक्ति दिन्छन् । कुल सिस्टम आउटपुट १ हजार ३४३ किलोवाट छ ।

एकातिर संसारकै शक्तिशाली इलेक्ट्रिक कार र अर्कोतिर विशाल कम्बसन इन्जिनयुक्त बुगाटी एउटै उत्पादन केन्द्रमा बन्नु आफैँमा अनौठो संयोग भएको रिमाकले स्वीकार गरेका छन् ।

उनको भनाइले पेट्रोल गाडीको समग्र भविष्य सुरक्षित रहेको अर्थ भने दिँदैन । नेपालसहित विश्वका आम यात्रुवाहक गाडीमा कम सञ्चालन खर्च, सहज प्रविधि र उत्सर्जनसम्बन्धी नीतिका कारण ईभीको विस्तार जारी रहनेछ । तर सीमित संख्यामा बन्ने करोडौँ मूल्यका सुपरकारमा पेट्रोल इन्जिन केवल पावरट्रेन नभई आवाज, इतिहास, मेकानिकल कला र स्वामित्व अनुभवका रूपमा टिक्न सक्ने उनको निष्कर्ष छ ।

footer