सुरक्षित ब्याट्री र किफायती मूल्यले एम्पियरको बजार विस्तार
काठमाडौं । भारतको विद्युतीय दुईपाङ्ग्रे सवारी बजारमा एम्पियर ब्रान्डले नयाँ उपलब्धि हासिल गरेको छ । कम्पनीले हालसम्म भारतमा उत्पादन तथा खुद्रा बिक्री गरिएका आफ्ना विद्युतीय स्कुटरको संख्या ४ लाख भन्दा बढी पुगेको जनाएको छ । यस उपलब्धिले किफायती र व्यावहारिक विद्युतीय स्कुटरतर्फ उपभोक्ताको आकर्षण निरन्तर बढिरहेको संकेत गरेको छ ।
ग्रिभ्स इलेक्ट्रिक मोबिलिटीका अनुसार आर्थिक वर्ष २०२६ मा एम्पियरले वार्षिक आधारमा ५१ प्रतिशत वृद्धि हासिल गरेको छ । कम्पनीको बजार हिस्सा पनि आर्थिक वर्ष २०२५ को ३.६ प्रतिशतबाट बढेर आर्थिक वर्ष २०२६ मा ४.४ प्रतिशत पुगेको छ । भारतमा परम्परागत दुईपाङ्ग्रे निर्माता, विद्युतीय सवारी केन्द्रित स्टार्टअप तथा नयाँ क्षेत्रीय ब्रान्डबीच तीव्र प्रतिस्पर्धा भइरहेका बेला एम्पियरले निरन्तर वृद्धि कायम राख्न सफल भएको हो ।
एम्पियरले आफ्नो अधिकांश सफलता एक लाख भारतीय रुपैयाँभन्दा कम मूल्य वर्गका विद्युतीय स्कुटरमार्फत हासिल गरेको जनाएको छ । किफायती मूल्य, दैनिक प्रयोगका लागि उपयुक्त विशेषता तथा सञ्चालन खर्च कम हुने भएकाले यस्ता स्कुटरप्रति उपभोक्ताको रुचि बढ्दै गएको कम्पनीको भनाइ छ ।
कम्पनीका स्कुटरमा शतप्रतिशत एलएफपी (लिथियम फेरो फस्फेट) ब्याट्री प्रविधि प्रयोग गरिएको छ । यो प्रविधि सुरक्षा, तापीय स्थिरता र लामो आयुका लागि परिचित मानिन्छ । कम्पनीले ब्याट्रीको आयु करिब २ लाख किलोमिटरसम्म पुग्न सक्ने दाबी गरेको छ । विद्युतीय सवारी खरिद गर्दा उपभोक्ताले सबैभन्दा बढी ध्यान दिने विषयमध्ये ब्याट्री सुरक्षा पनि एक भएकाले एलएफपी प्रविधिले उपभोक्तामा थप विश्वास सिर्जना गरेको कम्पनीको विश्वास छ ।
भारतीय बजारमा एम्पियरले हासिल गरेको सफलता नेपालका लागि पनि चासोको विषय बनेको छ । नेपालमा एम्पियर ब्रान्डका विद्युतीय स्कुटर एसटिसी अटो सोलुसन्सले आधिकारिक रूपमा बिक्री–वितरण गर्दै आएको छ । पछिल्लो समय अन्तर्राष्ट्रिय स्तरमा मध्यपूर्व क्षेत्रमा जारी द्वन्द्वका कारण पेट्रोलियम पदार्थको मूल्यमा देखिएको उतारचढाव र मूल्यवृद्धिले नेपाली उपभोक्तालाई पनि विद्युतीय सवारीतर्फ आकर्षित गरिरहेको बजारले देखाएको छ ।
विशेषगरी दैनिक आवागमनका लागि कम सञ्चालन खर्च, न्यून मर्मत खर्च र वातावरणमैत्री विकल्पको खोजीमा रहेका नेपाली उपभोक्ताबीच विद्युतीय स्कुटरको लोकप्रियता निरन्तर बढिरहेको छ । यस्तो अवस्थामा भारतमा एम्पियरले हासिल गरेको बिक्री उपलब्धिले नेपालमा पनि ब्रान्डप्रतिको विश्वास र चासो थप बढाउने अपेक्षा गरिएको छ ।