Newad1
Featured blog image

दोस्रो पुस्ताको बीवाईडी सिगल रियर–ह्विल ड्राइभमा, मोटर पावर ९५ किलोवाट

काठमाडौं । बीवाईडीले आफ्नो सानो विद्युतीय ह्याचब्याक सिगलको दोस्रो पुस्तामा ठूलो संरचनागत परिवर्तन गरेको छ । नयाँ सिगलमा मोटरलाई अगाडिबाट पछाडिको एक्सलमा सारेर रियर–ह्विल ड्राइभ बनाइएको छ । नेपालसहित विभिन्न अन्तर्राष्ट्रिय बजारमा यही मोडल एट्टो १, डल्फिन मिनी र डल्फिन सर्फ नामले बिक्री हुँदै आएको छ ।

चीनको उद्योग तथा सूचना प्रविधि मन्त्रालयमा पेस गरिएको विवरणअनुसार नयाँ सिगलमा ९५ किलोवाटको पर्मानेन्ट म्याग्नेट सिंक्रोनस मोटर राखिएको छ । हालको सिगलमा ५५ किलोवाटको फ्रन्ट मोटर छ । मोटर पावरसँगै नयाँ मोडलको अधिकतम गति पनि बढेर प्रतिघण्टा १५० किलोमिटर पुगेको छ । यसमा एलएफपी ब्याट्री प्रयोग हुने पुष्टि भए पनि ब्याट्री क्यापासिटी, रेन्ज र चार्जिङ पावरको पूर्ण विवरण सार्वजनिक भएको छैन ।

मोटर पछाडि सारिएपछि बोनटमुनि छुट्टै फ्रन्ट ट्रंक थपिएको छ । यसको क्यापासिटी भने बीवाईडीले खुलाएको छैन । पुरानो टर्सन बिमको ठाउँमा स्वतन्त्र मल्टिलिंक रियर सस्पेन्सन राखिएको छ भने गाडीमा १६ इन्चका ह्विल र २०५/६० आर१६ आकारका फराकिला टायर प्रयोग गरिएको छ । यसले पुरानो मोडलको तुलनामा सस्पेन्सन र सडकमा गाडीको व्यवहारसमेत फरक बनाउन सक्नेछ ।

दोस्रो पुस्ताको सिगल पहिलेभन्दा ठूलो पनि भएको छ । यसको लम्बाइ ४,२०५ एमएम, चौडाइ १,८१० एमएम, उचाइ १,५७० एमएम र ह्विलबेस २,६५० एमएम छ । हालको मोडलभन्दा यो ४२५ एमएम लामो छ भने ह्विलबेस १५० एमएम बढेको छ । चार सिटे संरचनाबाट पाँच सिटे बनेको नयाँ सिगल आकारका हिसाबले बीवाईडी डल्फिन नजिक पुगेको छ ।

क्याबिनमा फ्ल्याट–बटम दुई–स्पोक स्टेयरिङ ह्विल, फ्लोटिङ सेन्ट्रल टचस्क्रिन, फिजिकल टगल स्विच, वायरलेस फोन चार्जर र ठाडो रूपमा राखिएका दुई कपहोल्डर देखिएका छन् । बाहिरी भागमा सेमी–हिडन मेकानिकल डोर ह्यान्डल, स्प्लिट टेललाइट र ठूलो रुफ स्पोइलर राखिएको छ । छनोट गरिएका भेरियन्टमा लिडारसहित बीवाईडीको डाइपाइलट ३०० चालक सहायता प्रणाली उपलब्ध हुन सक्ने नियामकीय विवरणले देखाएको छ ।

नेपालमा बीवाईडीको आधिकारिक वितरक साइमेक्स इंकले सिगललाई एट्टो १ नाममा बिक्री गर्दै आएको छ । यहाँ उपलब्ध २०२६ एट्टो १ मा ४५ किलोवाटको फ्रन्ट मोटर छ । यसको डाइनामिक भेरियन्टमा ३०.०८ किलोवाट आवर ब्याट्री र २३० किलोमिटर डब्लुएलटीपी रेन्ज तथा प्रिमियममा ३८.८८ किलोवाट आवर ब्याट्री र ३०० किलोमिटर डब्लुएलटीपी रेन्ज छ । हालको मूल्य डाइनामिकको ३० लाख ७५ हजार र प्रिमियमको ३४ लाख ८० हजार रुपैयाँ छ । दोस्रो पुस्ताको सिगल नेपालमा एट्टो १ कै नाममा आउने वा नआउने, नेपाली स्पेसिफिकेसन कस्तो हुने र मूल्य कति पर्ने भन्ने घोषणा भइसकेको छैन ।

footer