चार भेरियन्टमा आयो स्काईवेल बीई ११, मूल्य ४६ लाख ९९ हजारदेखि
काठमाडौं । नेपाली इलेक्ट्रिक एसयूभी बजारमा फरक ब्याट्री क्षमता र रेन्ज रोज्न चाहने ग्राहकका लागि अर्को विकल्प थपिएको छ । नाडा अटो शोमा सार्वजनिक गरिएको नयाँ गाडीमा कम्पनीले नियमित मूल्यभन्दा कम विशेष अफरसमेत घोषणा गरेको छ ।
नेपालका लागि स्काईवेलको आधिकारिक
वितरक एलआरआर मोटर्सले बीई ११ लाई चार भेरियन्टमा बिक्री सुरु गरेको हो । यसको
नियमित सुरुवाती मूल्य ४९ लाख ९९ हजार रुपैयाँ भए पनि नाडा अटो शो अवधिभर इन्ट्री
भेरियन्ट ४६ लाख ९९ हजार रुपैयाँमा उपलब्ध हुनेछ ।
४१० किलोमिटर रेन्ज दिने कम्फर्ट
भेरियन्टको नियमित मूल्य ५५ लाख ९९ हजार रुपैयाँ तोकिएको छ । नाडा अवधिमा भने
यसलाई ५३ लाख ९९ हजार रुपैयाँमा खरिद गर्न सकिने कम्पनीले जनाएको छ ।
यही रेन्ज दिने लक्जरी भेरियन्टको
नियमित मूल्य ५६ लाख ९९ हजार र नाडा विशेष मूल्य ५४ लाख ९९ हजार रुपैयाँ छ । ठूलो
ब्याट्रीसहित ५२० किलोमिटर रेन्ज दिने भेरियन्टको नियमित मूल्य ६४ लाख ९९ हजार
रुपैयाँ भए पनि अटो शो अवधिमा ५९ लाख ९९ हजार रुपैयाँ कायम गरिएको छ ।
दुई ब्याट्री विकल्प
बीई ११ को ४१० किलोमिटर रेन्ज दिने
संस्करणमा ५१.९१ किलोवाट आवर क्षमताको एलएफपी ब्याट्री दिइएको छ । त्यस्तै, ५२०
किलोमिटर रेन्ज दिने संस्करणमा ७१.९८ किलोवाट आवर क्षमताको एनएमसी ब्याट्री प्याक
प्रयोग गरिएको छ ।
दुवै ब्याट्री विकल्पमा १५० किलोवाट
क्षमताको इलेक्ट्रिक मोटर उपलब्ध छ । कम्पनीका अनुसार डिसी फास्ट चार्जर प्रयोग
गर्दा यसको ब्याट्री ३५ मिनेटमा ७० प्रतिशतसम्म चार्ज गर्न सकिन्छ ।
गाडीमा ८०० भोल्ट हाई–भोल्टेज
आर्किटेक्चर प्रयोग गरिएको कम्पनीले जनाएको छ । सामान्यतः यस्तो आर्किटेक्चरले
उच्च क्षमताको फास्ट चार्जिङ र प्रभावकारी पावर व्यवस्थापनमा सहयोग गर्छ ।
नेपाली सडकलाई लक्षित १९८ एमएम ग्राउन्ड क्लियरेन्स
बीई ११ मा १९८ एमएम ग्राउन्ड
क्लियरेन्स उपलब्ध छ । नेपालका उबडखाबड सडक, अग्ला स्पिड ब्रेकर तथा कच्ची बाटोमा
गाडी चलाउँदा पर्याप्त ग्राउन्ड क्लियरेन्स ग्राहकको प्रमुख प्राथमिकतामध्ये पर्ने
गरेको छ ।
यसमा पानारोमिक सनरुफ, ३६० डिग्री
क्यामेरा र भेन्टिलेटेड सिटलगायत फिचर उपलब्ध छन् । फराकिलो क्याबिन र आधुनिक बडी
डिजाइनलाई कम्पनीले यसको लक्जरी पहिचानसँग जोडेको छ ।
नाडा अटो शोमा बीई ११ लाई ‘एच–१९’
स्टलमा अवलोकन गर्न सकिनेछ । एलआरआर मोटर्सले अटो शो सुरु हुनुअघि स्काईवेलको लोगो
अनावरण गर्दै ब्रान्डलाई औपचारिक रूपमा नेपाली बजारमा प्रवेश गराएको थियो ।