सर्भिस मात्र होइन, बीएस–६ प्रविधिको ज्ञान पनि बाँड्यो एसएमएल महिन्द्राले

काठमाडौं । एसएमएल महिन्द्रा सवारीसाधनको नेपालका लागि आधिकारिक वितरक लक्ष्मी कमर्सियल भेहिकल्स प्रालिले इटहरीमा आयोजना गरेको चारदिने निःशुल्क सर्भिस क्याम्प सफलतापूर्वक सम्पन्न गरेको छ । जेठ ३१ गतेदेखि असार ३ गतेसम्म सञ्चालन भएको उक्त क्याम्पबाट १०० भन्दा बढी एसएमएल महिन्द्राका बस, ट्रक तथा अन्य व्यावसायिक सवारीसाधनले सेवा प्राप्त गरेका छन् ।

ग्राहकलाई गुणस्तरीय बिक्रीपछिको सेवा उपलब्ध गराउने कम्पनीको दीर्घकालीन प्रतिबद्धताअन्तर्गत आयोजित क्याम्पको उद्घाटन प्याब्सन सुनसरीका अध्यक्ष थानेश्वर ढकालले रिबन काटेर गरेका थिए। कार्यक्रममा लक्ष्मी कमर्सियल भेहिकल्सका हेड–सेल्स एन्ड अफ्टर सेल्स सञ्जय खड्का, एसएमएल महिन्द्रा नेपालका सर्भिस हेड मनोज सी. सैनीसहित कम्पनीका प्राविधिक टोलीको उपस्थिति रहेको थियो ।

आकर्षक छुटसहित निःशुल्क प्राविधिक सेवा
बीएस–६ प्रविधिबारे सचेतना र प्राविधिक सीप विकासमा जोड
ग्राहक सन्तुष्टि नै पहिलो प्राथमिकता

क्याम्प अवधिभर सहभागी ग्राहकलाई निःशुल्क सवारी स्वास्थ्य परीक्षण, अनुभवी प्राविधिकबाट प्राविधिक परामर्श तथा आवश्यक निरीक्षण सेवा प्रदान गरिएको थियो। साथै, मर्मत खर्च कम गर्ने उद्देश्यले श्रम शुल्कमा ५० प्रतिशतसम्म, लुब्रिकेन्टमा १५ प्रतिशत तथा स्पेयर पार्ट्समा १५ देखि ५० प्रतिशतसम्म विशेष छुट उपलब्ध गराइएको कम्पनीले जनाएको छ ।

सेवा लिन आएका ग्राहकलाई कम्पनीले आकर्षक उपहारसमेत वितरण गरेको थियो ।

यस सर्भिस क्याम्पको अर्को विशेष आकर्षण आधुनिक बीएस–६ प्रविधिबारे सचेतना कार्यक्रम रह्यो। एसएमएल महिन्द्रा नेपालका सर्भिस हेड मनोज सी. सैनीको नेतृत्वमा रहेको टोलीले इटहरी, झापा र विराटनगर क्षेत्रका विभिन्न शैक्षिक संस्था तथा अटोमोबाइल वर्कसपहरूमा अन्तरक्रिया कार्यक्रम सञ्चालन गरेको थियो ।

कार्यक्रममा अटोमोबाइल अध्ययनरत विद्यार्थी, प्रशिक्षक तथा स्थानीय ग्यारेज सञ्चालकलाई बीएस–६ प्रविधिको कार्यप्रणाली, इन्धन दक्षता, वातावरणीय लाभ तथा आधुनिक डायग्नोस्टिक प्रणालीबारे विस्तृत जानकारी प्रदान गरिएको थियो ।

आधुनिक सवारीमा देखिने जटिल प्राविधिक समस्या पहिचान तथा समाधानका लागि प्रयोग हुने डिजिटल उपकरणबारे दिइएको व्यावहारिक प्रशिक्षणले स्थानीय प्राविधिक जनशक्तिको क्षमता अभिवृद्धिमा सहयोग पुग्ने विश्वास कम्पनीले व्यक्त गरेको छ ।

कार्यक्रमको समापनका अवसरमा बोल्दै लक्ष्मी कमर्सियल भेहिकल्सका हेड–सेल्स एन्ड अफ्टर सेल्स सञ्जय खड्काले ग्राहक सन्तुष्टि कम्पनीको प्रमुख प्राथमिकता रहेको बताए ।

उनले सवारी बिक्रीमा मात्र सीमित नभई आधुनिक अटोमोबाइल प्रविधि, विशेषगरी बीएस–६ सवारीको सही प्रयोग र मर्मतसम्बन्धी ज्ञान प्रवाहमार्फत ग्राहकलाई दीर्घकालीन रूपमा विश्वसनीय सेवा प्रदान गर्न कम्पनी प्रतिबद्ध रहेको उल्लेख गरे। साथै, भावी प्राविधिक जनशक्ति र अटो व्यवसायीसँग गरिएको ज्ञान आदानप्रदानले नेपालको अटोमोबाइल क्षेत्रको समग्र विकासमा सकारात्मक योगदान पुग्ने उनको विश्वास थियो ।

कम्पनीले आगामी दिनमा पनि देशका विभिन्न स्थानमा यस्ता निःशुल्क सर्भिस क्याम्प, प्राविधिक तालिम तथा ग्राहक केन्द्रित कार्यक्रमहरू सञ्चालन गर्दै एसएमएल महिन्द्रा ग्राहकलाई उत्कृष्ट स्वामित्व अनुभव प्रदान गर्ने जनाएको छ ।

इटहरीमा सम्पन्न यस सर्भिस क्याम्पले एसएमएल महिन्द्रा सवारीधनीमा नयाँ उत्साह थप्नुका साथै कम्पनी र ग्राहकबीचको सम्बन्ध अझ मजबुत बनाउन सफल भएको कम्पनीको भनाइ छ ।