Newad1
Featured blog image

भोटेकोसीका प्रभावित परिवारका लागि एसटीसी ग्रुपबाट ५० लाख रुपैयाँ सहयोग

काठमाडौं । भोटेकोसी बाढीबाट प्रभावित परिवारलाई तत्काल राहतसँगै पुरानै दैनिकीमा फर्काउन सरकारी प्रयासमा निजी क्षेत्रको साथ थपिँदै गएको छ । विपद्ले जनजीवन र स्थानीय अर्थतन्त्रमा गम्भीर असर पारेपछि व्यावसायिक संस्थाहरू पनि राहत तथा पुनःस्थापनामा जुट्न थालेका हुन् ।

एसटीसी ग्रुपको पहलमा प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा संयुक्त रूपमा ५० लाख रुपैयाँ हस्तान्तरण गरिएको छ । उक्त रकम अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई बुझाइएको हो ।

यस सहयोगमा एसटीसी ग्रुपले नेपालमा आधिकारिक रूपमा प्रतिनिधित्व गर्दै आएको भारतीय अटोमोबाइल कम्पोनेन्ट उत्पादक भेरोक इन्टरनेसनलको समेत सहभागिता छ । उपलब्ध विवरणअनुसार भेरोकले बाढीपीडितका लागि १० लाख रुपैयाँ योगदान गरेको हो ।

एसटीसी नेपालका प्रबन्ध निर्देशक सुरेन्द्रकुमार उप्रेतीले विपद्को समयमा प्रभावित नागरिकको साथमा उभिनु सबैको साझा दायित्व भएको बताए । सरकारको राहत तथा उद्धार अभियानमा निजी क्षेत्रले पनि जिम्मेवारी निर्वाह गर्नुपर्ने विश्वाससहित सहयोग गरिएको उनको भनाइ छ ।

भोटेकोसी क्षेत्रमा आएको बाढीले स्थानीय बस्ती, सडक, व्यापारिक गतिविधि तथा अन्य भौतिक संरचनामा ठूलो क्षति पुर्‍याएको छ । प्रभावित परिवारको तत्काल राहतसँगै दीर्घकालीन पुनःस्थापनाका लागि सरकार, निजी क्षेत्र र नागरिक तहबीचको सहकार्य आवश्यक देखिएको छ ।

एसटीसी ग्रुपले नेपालमा अटोमोबाइल कम्पोनेन्ट, लुब्रिकेन्ट, टायर तथा ब्याट्री उत्पादन र वितरणसम्बन्धी व्यवसाय गर्दै आएको छ । ग्रुपले आफ्नो सहयोगबाट बाढी प्रभावित परिवारको राहत तथा पुनःस्थापनामा केही टेवा पुग्ने विश्वास व्यक्त गरेको छ ।

footer