काठमाडौंको ट्राफिक व्यवस्थापन सुधार्न नाडा र ट्राफिक प्रहरीबीच रणनीतिक सहकार्य

काठमाडौं | असार १ काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्थापनलाई थप प्रभावकारी बनाउने उद्देश्यसहित नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (NADA) र काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय बीच सहकार्यलाई थप सुदृढ बनाउने विषयमा महत्वपूर्ण छलफल भएको छ ।

असार १ गते नाडाका अध्यक्ष सुरेन्द्रकुमार उप्रेती नेतृत्वको प्रतिनिधिमण्डलले काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका नवनियुक्त प्रमुख सुरेशप्रसाद काफ्लेसँग भेटवार्ता गर्दै ट्राफिक व्यवस्थापनमा देखिएका चुनौती तथा सम्भावित समाधानका विषयमा विस्तृत विचारविमर्श गरेको हो ।

एआई ट्राफिक लाइट र जनचेतना अभियानमा सहकार्यको प्रस्ताव
लाइसेन्सधारी र नयाँ सवारीधनीका लागि अनिवार्य प्रशिक्षणको प्रस्ताव
स्वर्ण उत्सव कार्यक्रमका लागि ट्राफिक प्रहरीसँग सहयोगको आग्रह
सहकार्यलाई निरन्तरता दिने प्रतिबद्धता

भेटका क्रममा प्रमुख काफ्लेले नाडा र ट्राफिक प्रहरीबीच दीर्घकालीन तथा सिर्जनात्मक सहकार्य आवश्यक रहेको उल्लेख गर्दै राजधानीमा आधुनिक एआई (AI) प्रविधियुक्त ट्राफिक लाइट प्रणाली लागू गर्न नाडाले पहल गर्नुपर्ने धारणा राखे ।

उनले काठमाडौंमा ट्राफिक सचेतनामूलक कार्यक्रमलाई व्यापक बनाउन निजी क्षेत्रको भूमिका महत्वपूर्ण हुने बताउँदै संयुक्त अभियान सञ्चालन गर्न सुझाव दिएका छन् ।

प्रमुख काफ्लेले सवारी साधन खरिद गर्ने नयाँ ग्राहक, सर्भिस सेन्टरका प्राविधिक तथा पहिलो पटक ड्राइभिङ लाइसेन्स प्राप्त गर्ने व्यक्तिलाई काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयबाट करिब एक घण्टाको आधारभूत ट्राफिक प्रशिक्षण दिने व्यवस्था लागू गर्नुपर्ने प्रस्ताव पनि अघि सारे ।

उनका अनुसार यस्तो प्रशिक्षणले ट्राफिक नियमप्रतिको सचेतना बढाई दुर्घटना न्यूनीकरण र ट्राफिक व्यवस्थापनमा सकारात्मक योगदान पुर्‍याउनेछ ।

साथै, पहाडी क्षेत्रका लागि उपयुक्त ठूला क्षमताका मोटरसाइकलहरू समेत काठमाडौंमा सञ्चालन भइरहेको विषय उल्लेख गर्दै उनले स्कुटरको तुलनामा मोटरसाइकलमा दुर्घटनाको जोखिम बढी देखिएको तथ्यसमेत प्रस्तुत गरेका थिए ।

छलफलका क्रममा नाडाका अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीले विगतदेखि ट्राफिक प्रहरीसँग हुँदै आएको सहकार्यको स्मरण गर्दै आगामी ५०औँ वार्षिक साधारण सभा तथा स्वर्ण उत्सव अन्तर्गत असार १३ देखि १९ गतेसम्म आयोजना हुने सप्ताहव्यापी कार्यक्रम सफल बनाउन ट्राफिक प्रहरीको सहयोग आवश्यक रहेको बताए ।

उनले उक्त अवसरमा स्टिकरमार्फत ट्राफिक जनचेतना अभियान सञ्चालन गर्ने योजना रहेको जानकारी पनि दिएका छन् ।

नाडाका महासचिव मिलनबाबु मल्लले विगतदेखि ट्राफिक प्रहरीसँग सहकार्य गर्दै आएको उल्लेख गर्दै आगामी दिनमा पनि संयुक्त रूपमा जनचेतनामूलक र व्यवस्थापनसम्बन्धी कार्यक्रम अघि बढाइने बताए ।

बैठकमा नाडाका उपाध्यक्ष विक्रम सिंहानिया, सचिव मेघराज पौडेल तथा कोषाध्यक्ष पंकज अग्रवालले समेत ट्राफिक व्यवस्थापन सुधार र संस्थागत सहकार्यलाई अझ प्रभावकारी बनाउने विषयमा आफ्ना धारणा राखेका थिए ।