Newad1
Featured blog image

भारत हुँदै नेपालसम्म आइपुग्ला सुजुकीको सानो विद्युतीय कार ?

काठमाडौं । सुजुकीको बहुप्रतीक्षित सानो विद्युतीय कार भिजन ई–स्काइ अब भारत हुँदै नेपाली बजारसम्म आइपुग्ने सम्भावना बलियो बन्दै गएको छ । जापान मोबिलिटी शोमा अवधारणा मोडलका रूपमा पहिलो पटक सार्वजनिक गरिएको यो कार अहिले उत्पादन संस्करणको रूपमा युरोपेली सडकमा परीक्षण भइरहेको छ । भारतीय अटो मिडियाका अनुसार कम्पनीले यसलाई सन् २०२७ सम्म भारतीय बजारमा ल्याउने तयारी गरिरहेको छ ।


युरोपमा परीक्षणका क्रममा देखिएको गाडी पूरै क्यामुफ्लाजले ढाकिएको भए पनि यसको उचाइ, बक्सी डिजाइन र व्यावहारिक बनोटले सुजुकी वागनआरको झल्को दिन्छ । यसले उत्पादन मोडल अवधारणासँग धेरै हदसम्म मिल्ने संकेत दिएको छ ।

सुजुकीले यो कार मुख्य रूपमा सहरभित्रको दैनिक आवतजावतलाई लक्षित गरेर विकास गरिरहेको छ । कार्यालय जाने–आउने, बजार किनमेल गर्ने तथा छोटो दूरीको यात्रा गर्ने प्रयोगकर्तालाई ध्यानमा राखेर यसलाई सानो आकारमै व्यावहारिक बनाइएको छ । अगाडिको भागमा ठाडो डिजाइन, प्रोजेक्टर हेडल्याम्प र फराकिलो बम्पर देखिन्छ भने गोलाकार ह्विल आर्च, फ्लस डोर ह्यान्डल र स्पोर्टी अलोय ह्विलले आधुनिक स्वरूप दिएका छन् ।

पछाडिको भागमा ‘सी’ आकारको पिक्सेल शैलीको टेललाइट, रुफ स्पोइलर, पछाडिको वाइपर र ठूलो रियर ग्लास रहने अपेक्षा गरिएको छ । छोटो ओभरह्याङका कारण पार्किङ र भीडभाडयुक्त सडकमा चलाउन सजिलो हुने अनुमान गरिएको छ ।


अवधारणा मोडलको लम्बाइ ३,३९५ मिलिमिटर थियो । उत्पादन संस्करणले पनि यही आकार कायम राखेमा यो फियाट ५००, डासिया स्प्रिङ, रेनो ट्विङ्गो र लिपमोटर टी०३ जस्ता साना विद्युतीय कारसँग प्रतिस्पर्धा गर्नेछ ।

प्राविधिक विवरण कम्पनीले अझै सार्वजनिक गरेको छैन । तर एक पटकको पूर्ण चार्जमा २७० किलोमिटरभन्दा बढी रेन्ज दिने लक्ष्य राखिएको बताइएको छ । यसमा अगाडिका पाङ्ग्रामा शक्ति पठाउने एकल मोटर र करिब २५ देखि ३० किलोवाट-आवर क्षमताको ब्याट्री प्याक रहने अनुमान गरिएको छ ।

केबिनमा डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर, ठूलो इन्फोटेनमेन्ट स्क्रिन, वायरलेस चार्जिङ प्याड, तीन स्पोक स्टेयरिङ र आधुनिक ड्यासबोर्ड लेआउट जस्ता सुविधा रहने अपेक्षा गरिएको छ ।


भारतपछि नेपाल आउने सम्भावना किन बलियो ?

सुजुकीले अहिले उत्पादन संस्करणलाई युरोपमा परीक्षण गरिरहेको भए पनि भारतीय अटो मिडियाहरूले यो सानो विद्युतीय कार सन् २०२७ सम्म भारतमा पनि ल्याउने तयारी भइरहेको उल्लेख गरेका छन् । यदि भारतमा यसको उत्पादन वा बिक्री सुरु भयो भने नेपालका लागि यसको सम्भावना उल्लेख्य रूपमा बढ्नेछ ।

नेपालमा सुजुकी गाडीको आधिकारिक वितरक सीजी मोटोकर्पले अधिकांश नयाँ मोडल भारतीय बजारबाटै ल्याउँदै आएको छ । त्यसैले भारतमा भिजन ई–स्काइ सार्वजनिक भएपछि केही समयभित्रै यसको नेपाली बजार प्रवेशको सम्भावना पनि रहनेछ ।

हाल नेपाली बजारमा सानो विद्युतीय कारको माग क्रमशः बढिरहेको छ । यस्तो अवस्थामा भिजन ई–स्काइ नेपाल आएमा टाटा टियागो EV, एमजी कोमेट र सिट्रोन ई–सी३ जस्ता मोडलसँग प्रत्यक्ष प्रतिस्पर्धा गर्ने देखिन्छ । सुजुकी ब्रान्डप्रतिको विश्वास, दैनिक प्रयोगका लागि पर्याप्त रेन्ज र सानो आकार यसको मुख्य आकर्षण बन्न सक्छ ।

यद्यपि भारतमा यसको लन्च मिति वा प्राविधिक विवरणबारे सुजुकीले अहिलेसम्म आधिकारिक घोषणा गरेको छैन । त्यसैले भारतीय बजारमा सन् २०२७ सम्म आउने अपेक्षा हालसम्म सार्वजनिक भएका उद्योग स्रोत र भारतीय अटो मिडियाको रिपोर्टमा आधारित हो ।


footer