Newad1
Featured blog image

कम मूल्यको ईभी बजारमा सुजुकीको प्रवेश, नयाँ मोडलले बदल्न सक्छ खेल


काठमाडौं । जापानी अटो निर्माता सुजुकीले युरोपको तीव्र गतिमा विस्तार भइरहेको किफायती विद्युतीय कार बजारलाई लक्षित गर्दै आफ्नो अहिलेसम्मकै सबैभन्दा सस्तो ईभी सार्वजनिक गर्ने तयारी गरेको छ । कम्पनीले ‘भिजन इ–स्काइ’ कन्सेप्टमा आधारित नयाँ उत्पादन मोडललाई सन् २०२७ को वसन्तदेखि युरोप तथा बेलायतमा बिक्रीका लागि उपलब्ध गराउने योजना बनाएको हो ।

यो नयाँ मोडलको नाम भने कम्पनीले अझै सार्वजनिक गरेको छैन । तर, मूल्य २० हजार पाउन्डभन्दा कम राख्ने लक्ष्यसहित विकास भइरहेको बताइएको छ । यसले बजारमा पहिलेदेखि प्रतिस्पर्धा गरिरहेका डासिया स्प्रिङ, रेनो ट्विङ्गो इ–टेक तथा होन्डा सुपर–एन जस्ता किफायती विद्युतीय कारसँग प्रत्यक्ष प्रतिस्पर्धा गर्नेछ ।

आकारका हिसाबले यो मोडल अहिले बिक्री भइरहेको सुजुकी स्विफ्टभन्दा पनि सानो हुनेछ । कन्सेप्ट संस्करण जापानको ‘केई कार’ मापदण्डअनुसार तयार गरिएको थियो, जसको लम्बाइ करिब ३.४ मिटर रहेको छ । उत्पादन संस्करणमा डिजाइनमा धेरै परिवर्तन नहुने अपेक्षा गरिएको छ । बम्पर, हेडलाइट, ढोकाको ह्यान्डल र साइड मिररमा सामान्य सुधार गरिए पनि समग्र डिजाइन कन्सेप्टकै नजिक रहने अनुमान गरिएको छ ।


सुजुकी यूकेको नेतृत्व गरिरहेका डेभिड केटलीका अनुसार ‘ए–सेग्मेन्ट’ विद्युतीय कार कम्पनीका लागि अत्यन्त महत्वपूर्ण परियोजना हो । उनका अनुसार यो मोडलले सुजुकीलाई नयाँ ग्राहक वर्गसम्म पुग्ने अवसर दिनेछ र यसको सम्भावनाप्रति कम्पनी निकै आशावादी रहेको छ ।

कम्पनीले मोटरको क्षमता वा ब्याट्रीको विस्तृत विवरण भने हालसम्म सार्वजनिक गरेको छैन । यद्यपि कन्सेप्ट मोडलले एकपटकको पूर्ण चार्जमा २७० किलोमिटरभन्दा बढी दूरी पार गर्ने दाबी गरिएको थियो । यही सेग्मेन्टका प्रतिस्पर्धी रेनो ट्विङ्गो इ–टेकले करिब २६३ किलोमिटर र होन्डा सुपर–एनले करिब २०६ किलोमिटर रेन्ज उपलब्ध गराउने बताइएको छ ।

युरोपमा किफायती ईभीको माग तीव्र रूपमा बढिरहेका बेला सुजुकीको यो नयाँ मोडल कम्पनीका लागि रणनीतिक रूपमा पनि महत्वपूर्ण बन्ने देखिएको छ । हाल सुजुकीको पूर्ण विद्युतीय लाइनअपमा इ–भिटारा मात्रै रहेको छ भने कम्पनी अझै माइल्ड–हाइब्रिड र हाइब्रिड प्रविधिमै बढी निर्भर छ । नयाँ ईभीले युरोप तथा बेलायतमा लागू भएका कडा कार्बन उत्सर्जन मापदण्ड पूरा गर्न पनि कम्पनीलाई सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

यसैबीच, अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार सुजुकीले सन् २०२९ सम्ममा अर्को नयाँ विद्युतीय मोडल पनि बजारमा ल्याउने तयारी गरिरहेको छ । उक्त मोडल क्रसओभर बडी शैलीमा आउने सम्भावना रहेको बताइएको छ ।


footer