सञ्चालन खर्च घटाउने दाबीसहित टाटाका बीएस–६ बस च्यासिस सार्वजनिक
धनगढी । सुदूरपश्चिमको सार्वजनिक यातायातलाई आधुनिक बनाउने बहस चलिरहेका बेला यातायात व्यवसायीमाझ नयाँ पुस्ताका बस च्यासिस प्रदर्शन गरिएको छ । कम प्रदूषण, किफायती सञ्चालन र यात्रु सुरक्षालाई केन्द्रमा राखिएका ती च्यासिसले व्यवसायीको ध्यान तानेका छन् ।
नेपालका लागि टाटा मोटर्सको आधिकारिक वितरक सिप्रदी ट्रेडिङले धनगढीमा आयोजित कार्यक्रममा टाटाका बीएस–६ बस च्यासिस सार्वजनिक गरेको हो । कार्यक्रममा सुदूरपश्चिमका यातायात व्यवसायी, यातायात समिति तथा सरोकारवालाको सहभागिता थियो ।
प्रदर्शनीमा आठदेखि १२ मिटर लम्बाइसम्मका विभिन्न च्यासिस राखिएका थिए । ती च्यासिस छोटो तथा मध्यम दूरीमा चल्ने डे बसदेखि लामो दूरीका नाइट बस निर्माणसम्म प्रयोग गर्न मिल्ने गरी तयार गरिएको कम्पनीले जनाएको छ ।
सिप्रदीका उत्पादन प्रबन्धक इन्द्रमणि पोखरेलका अनुसार नयाँ च्यासिसमा कम प्रदूषण उत्सर्जन, राम्रो इन्धन दक्षता, बढी माइलेज र न्यून मर्मत खर्चमा विशेष ध्यान दिइएको छ । यसमा आधुनिक इन्जिन व्यवस्थापन प्रणाली, सेलेक्टिभ क्याटालिटिक रिडक्सन प्रविधि र उन्नत उत्सर्जन नियन्त्रण प्रणाली समावेश छन् ।
बस चलाउँदा हुने कम्पन र आवाज घटाउनुसँगै इन्जिनको आयु लम्ब्याउने गरी च्यासिस तयार गरिएको कम्पनीको दाबी छ । चालकको सहजताका लागि डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर, सवारीको समस्या पहिचान गर्ने आधुनिक प्रणाली, प्रभावकारी ब्रेकिङ क्षमता र उकालो सडकमा सहज रूपमा चल्न सहयोग गर्ने उच्च ग्रेडेबिलिटीसमेत दिइएको छ ।
नेपालका पहाडी र लामो दूरीका मार्गमा बस सञ्चालन गर्दा इन्धन खर्च, मर्मतसम्भार र उकालो चढ्ने क्षमता व्यवसायीका प्रमुख चासो हुन् । नयाँ च्यासिसका विशेषताले सञ्चालन खर्च नियन्त्रण गर्दै यात्रालाई सुरक्षित र भरपर्दो बनाउन सहयोग पुग्ने कम्पनीको भनाइ छ ।
सिप्रदीले बीएस–६ सवारी बिक्रीसँगै चालकलाई प्रविधि प्रयोग, एडब्लुको सही व्यवस्थापन, इन्धन बचत, सुरक्षित सवारी सञ्चालन र नियमित मर्मतसम्भारसम्बन्धी प्रशिक्षण पनि दिँदै आएको जनाएको छ ।
कार्यक्रममा सहभागी व्यवसायीले नयाँ प्रविधिका बस च्यासिसले सुदूरपश्चिमसहित देशको सार्वजनिक यातायातलाई सुरक्षित, व्यवस्थित र वातावरणमैत्री बनाउन सहयोग पुर्याउने अपेक्षा व्यक्त गरेका छन् ।