टाटा पञ्च ईभीका लागि नयाँ चुनौती, हुन्डाईले ल्याउँदै प्रिमियम कम्प्याक्ट इलेक्ट्रिक एसयूभी
22 Jul 2026
काठमाडौँ । भारतको मास–मार्केट विद्युतीय सवारी बजारमा प्रतिस्पर्धा थप चर्किने भएको छ । हुन्डाई मोटर इन्डियाले आर्थिक वर्ष २०२६–२७ भित्र नयाँ कम्प्याक्ट विद्युतीय एसयूभी सार्वजनिक गर्ने योजना आधिकारिक रूपमा पुष्टि गरेको छ । यो मोडलले भारतीय बजारमा टाटा पञ्च ईभीसँग प्रत्यक्ष प्रतिस्पर्धा गर्नेछ ।
आन्तरिक रूपमा ‘एचई१आई’ कोडनेम दिइएको यो ईभी युरोपमा बिक्री भइरहेको इन्स्टर ईभीबाट प्रेरित हुने अपेक्षा गरिएको छ । कम्पनीले यसलाई किफायती मूल्यमा प्रिमियम सुविधा दिने रणनीतिसहित बजारमा ल्याउने तयारी गरेको छ ।
सार्वजनिक विवरणअनुसार नयाँ ईभीमा ४२ किलोवाट–आवर र ४९ किलोवाट–आवर का दुई ब्याट्री विकल्प उपलब्ध हुन सक्नेछन् । साथै आधुनिक डिजाइनसँगै दुईवटा १०.२५ इन्चका डिजिटल स्क्रिन, वायरलेस एन्ड्रोइड अटो र एप्पल कारप्ले, भेन्टिलेटेड सिट, सनरुफ, वायरलेस चार्जर, अटोमेटिक क्लाइमेट कन्ट्रोल, ब्लुलिङ्क कनेक्टेड कार प्रविधि, ओभर–द–एयर अपडेट तथा एडास सुरक्षा प्रणाली जस्ता प्रिमियम फिचर रहने अपेक्षा गरिएको छ ।
हुन्डाईले उच्च लोकलाइजेसनमार्फत मूल्य प्रतिस्पर्धी राख्न सके टाटा पञ्च ईभीका लागि यो नयाँ मोडल बलियो चुनौती बन्न सक्ने विश्लेषण गरिएको छ । नेपालको सन्दर्भमा पनि हुन्डाईका विद्युतीय मोडलप्रति बढ्दो आकर्षणका कारण भविष्यमा यो कम्प्याक्ट ईभी नेपाली बजारमा पनि प्रवेश गर्ने सम्भावना रहेको छ ।