८ लाख बिक्रीको कीर्तिमान, टाटा पञ्चले फेरि प्रमाणित गर्यो आफ्नो लोकप्रियता
काठमाडौं । भारतीय अटोमोबाइल बजारमा टाटा मोटर्सको माइक्रो–एसयूभी टाटा पञ्च ले अर्को महत्त्वपूर्ण उपलब्धि आफ्नो नाममा लेखाएको छ । सन् २०२१ मा बजारमा आएको पञ्चले हालसम्म ८ लाख युनिट बिक्री पार गर्दै कम्पनीको सबैभन्दा सफल मोडलमध्ये एक बन्न सफल भएको हो । छोटो अवधिमै हासिल भएको यो उपलब्धिले भारतीय बजारमा पञ्चप्रतिको ग्राहक विश्वास कति बलियो छ भन्ने स्पष्ट देखाएको छ ।
कम्पनीका अनुसार एमवाई २०२६ संस्करण सार्वजनिक भएपछि पञ्चको माग अझ तीव्र गतिमा बढिरहेको छ । नयाँ संस्करणमा डिजाइन, प्रविधि र सुविधामा गरिएको सुधारसँगै पेट्रोल, सीएनजी र विद्युतीय गरी तीनवटै पावरट्रेन विकल्प उपलब्ध भएकाले विभिन्न वर्गका ग्राहकलाई एउटै मोडलले आकर्षित गरिरहेको छ ।
भारतीय बजारमा माइक्रो–एसयूभी सेग्मेन्टलाई लोकप्रिय बनाउन टाटा पञ्चले महत्वपूर्ण भूमिका खेलेको मानिन्छ । कम्प्याक्ट आकार, अग्लो ग्राउन्ड क्लियरेन्स, एसयूभी जस्तो डिजाइन, सहज ड्राइभिङ अनुभव र बलियो सुरक्षाका कारण यो मोडल युवा पुस्तादेखि परिवारसम्मको रोजाइ बन्न सफल भएको छ । विशेषगरी शहरभित्रको दैनिक प्रयोग र लामो यात्राका लागि सन्तुलित विकल्प खोज्ने ग्राहकले पञ्चलाई प्राथमिकतामा राख्दै आएका छन् ।
एमवाई २०२६ अपडेटसँगै पञ्चमा बाहिरी स्वरूपलाई थप आधुनिक बनाइएको छ भने भित्री भागमा पनि उल्लेखनीय परिवर्तन गरिएको छ । यसमा १०.२५ इन्च टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम, पूर्ण डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर, भेन्टिलेटेड फ्रन्ट सिट, ३६० डिग्री क्यामेरा, नयाँ डिजाइनको स्टेयरिङ ह्विल तथा अन्य प्रिमियम सुविधाहरू थपिएका छन् । यी परिवर्तनले सानो एसयूभी भए पनि प्रिमियम अनुभव दिने कम्पनीको प्रयास झल्काउँछ ।
सुरक्षाको विषयमा पनि टाटा पञ्चले आफ्नो बलियो पहिचान बनाएको छ । पेट्रोल संस्करणले ग्लोबल एनक्याप परीक्षणमा पाँच–स्टार सुरक्षा रेटिङ प्राप्त गरेको थियो भने पञ्च ईभी ले भारत एनक्याप परीक्षणमा पनि पाँच–स्टार सुरक्षा रेटिङ हासिल गरेको छ । यही कारण सुरक्षा प्राथमिकतामा राख्ने ग्राहकमाझ पनि यसको लोकप्रियता निरन्तर बढिरहेको छ ।
टाटा मोटर्सले एउटै मोडललाई पेट्रोल, सीएनजी र ईभी गरी फरक–फरक पावरट्रेनमा उपलब्ध गराएर बजारको बदलिँदो आवश्यकता समेट्ने रणनीति अपनाएको छ । परम्परागत इन्धन रोज्ने ग्राहकदेखि कम सञ्चालन खर्च र वातावरणमैत्री सवारी खोज्ने ग्राहकसम्म सबैका लागि विकल्प उपलब्ध गराउनु यसको सफलताको प्रमुख आधार बनेको विश्लेषण गरिएको छ ।
भारतीय बजारमा पञ्चको निरन्तर बढ्दो मागले टाटा मोटर्सको एसयूभी पोर्टफोलियोलाई थप मजबुत बनाएको छ । कम्पनीले एमवाई २०२६ संस्करण सार्वजनिक गरेयता शोरुममा ग्राहकको चहलपहल र बुकिङ दुवैमा उल्लेखनीय वृद्धि भएको जनाएको छ । यसले आगामी महिनाहरूमा पनि पञ्चको बिक्री लय कायम रहने संकेत गरेको छ ।
नेपालका लागि पनि यो उपलब्धि सान्दर्भिक मानिन्छ । भारतमा देखिएको यो सफलताले नेपाली ग्राहकबीच पनि पञ्च ब्रान्डप्रतिको विश्वास थप मजबुत बनाउन सक्ने अपेक्षा गरिएको छ । सुरक्षा, आधुनिक प्रविधि र व्यवहारिक उपयोगिताको संयोजनले टाटा पञ्चलाई दक्षिण एसियाकै सफल माइक्रो–एसयूभीमध्ये एक बनाएको देखिन्छ ।