टाटा सिएरा ईभी सार्वजनिक, प्रारम्भिक मूल्य १८.७९ लाख भारतीय रुपैयाँ
काठमाडौं । टाटा मोटर्सले भारतमा नयाँ टाटा सिएरा ईभी सार्वजनिक गरेको छ । यसको प्रारम्भिक मूल्य १८.७९ लाख भारतीय रुपैयाँ निर्धारण गरिएको छ । कम्पनीले बुकिङ खुला गरिसकेको छ भने डेलिभरी जुलाई १५ देखि सुरु हुनेछ ।
नयाँ सिएरा ईभी टाटाको Acti.ev+ प्लेटफर्ममा आधारित छ । यसमा ६३ kWh र ७५ kWh गरी दुईवटा ब्याट्री विकल्प उपलब्ध छन् ।
६३ kWh भेरियन्टमा रियर-ह्विल ड्राइभ प्रणालीसहित २३८ हर्सपावर क्षमताको मोटर दिइएको छ भने ७५ kWh RWD भेरियन्टले २०९ hp शक्ति उत्पादन गर्छ । शीर्ष भेरियन्टमा डुअल मोटर एडब्ल्यूडी (AWD) प्रणाली उपलब्ध छ, जसले संयुक्त रूपमा ५०४ एनएम (Nm) टर्क उत्पादन गर्छ । कम्पनीका अनुसार AWD भेरियन्टले ० देखि १०० किमि/घण्टा गति ५.८ सेकेन्डमा हासिल गर्न सक्छ ।
रेन्जको कुरा गर्दा ७५ kWh RWD भेरियन्टले ६६५ किमि, AWD भेरियन्टले ६२४ किमि तथा ६३ kWh भेरियन्टले ५३५ किमि (MIDC) रेन्ज प्रदान गर्ने कम्पनीको दाबी छ ।
चार्जिङतर्फ १२० किलोवाट डीसी फास्ट चार्जर प्रयोग गर्दा १५ मिनेटमा २६३ किमिसम्म चल्ने ऊर्जा थप्न सकिने तथा २० देखि ८० प्रतिशत चार्ज हुन करिब २६ मिनेट लाग्ने बताइएको छ ।
फिचरतर्फ सिएरा ईभीमा ट्रिपल स्क्रिन सेटअप, १२.३ इन्च टचस्क्रिन, जेबीएल को १२ स्पिकर अडियो सिस्टम, प्यानोरामिक सनरुफ, भेन्टिलेटेड तथा पावर्ड फ्रन्ट सिट, हेड्स-अप डिस्प्ले, लेभल–२ एडास, ३६० डिग्री क्यामेरा, डिजिटल की, ओभर-द-एयर अपडेट, भीटुओएल तथा भीटुओभी जस्ता आधुनिक सुविधा समावेश गरिएको छ । सबै भेरियन्टमा ६ एयरब्याग स्ट्यान्डर्ड रूपमा उपलब्ध छन् ।
एडब्ल्यूडी भेरियन्टमा नर्मल, ग्रास/स्नो, मड/ग्राभेल, स्यान्ड, रक क्रल र कस्टम गरी ६ वटा टेरेन मोड, लो-स्पिड क्रुज कन्ट्रोल तथा अफ-रोड ड्राइभिङलाई सहज बनाउने विशेष फिचरहरू पनि दिइएको छ ।
डिजाइनका हिसाबले सिएरा ईभी पेट्रोल/डिजेल संस्करणसँग निकै मिल्दोजुल्दो देखिन्छ । अगाडिको बम्पर र केही ईभी-विशेष डिजाइन परिवर्तन बाहेक यसको बाहिरी स्वरूप लगभग उस्तै राखिएको छ ।