टेस्लाको एफएसडी अनधिकृत रूपमा सक्रिय गरेको आरोपमा दक्षिण कोरियामा ८० जनामाथि कारबाही
सियोल । दक्षिण कोरियामा टेस्लाका गाडीमा अनधिकृत उपकरण जोडेर फुल सेल्फ–ड्राइभिङ अर्थात् एफएसडी सुविधा सक्रिय गरेको आरोपमा ८० जनाविरुद्ध कानुनी प्रक्रिया अघि बढाइएको छ । सियोल महानगरीय प्रहरीको ट्राफिक अपराध अनुसन्धान टोलीले अक्टोबर २७ मा उनीहरूलाई सवारी व्यवस्थापनसम्बन्धी कानुन उल्लंघनको आरोपमा अभियोजन निकायमा पठाएको जनाएको हो ।
अनुसन्धानका क्रममा प्रहरीले एफएसडी
सक्रिय गर्न प्रयोग गरिएका २१ वटा अनधिकृत उपकरण जफत गरेको छ । आरोपितहरूले युरोप
र चीनबाट खरिद गरेका वा आफैँ बनाएका उपकरणमार्फत गाडीमा उपलब्ध नभएको सुविधा
खोलेको प्रहरीको भनाइ छ ।
दक्षिण कोरियामा एफएसडी प्रयोगको
अनुमति सबै टेस्लामा समान छैन । अमेरिका–कोरिया स्वतन्त्र व्यापार सम्झौताअन्तर्गत
स्थानीय सवारी सुरक्षा प्रमाणीकरणबाट छुट पाएका अमेरिकामा निर्मित मोडल एस, मोडल
एक्स र साइबरट्रकमा यो सुविधा प्रयोग गर्न पाइन्छ । चीनमा निर्मित मोडल थ्री र
मोडल वाईमा भने एफएसडी प्रयोगका लागि आवश्यक स्थानीय स्वीकृति छैन ।
प्रहरीका अनुसार आरोपितहरूले अनलाइन
समुदायमा सुविधा सक्रिय गर्ने र गाडीमा त्यसको अभिलेख नदेखिने उपायसमेत साझा गरेका
थिए । निर्माताको आधिकारिक सफ्टवेयर अपडेट तथा प्रमाणीकरण प्रक्रिया नअपनाई सक्रिय
गरिएको सुविधाले सडकको अवस्था सही रूपमा पहिचान नगर्ने वा चालकको चाहनाभन्दा फरक
ढंगले काम गर्ने जोखिम रहेको प्रहरीको निष्कर्ष छ ।
एफएसडी चालकको निगरानी आवश्यक पर्ने ड्राइभिङ सहायता प्रणाली हो । दक्षिण कोरियाको कानुनले सवारीको सुरक्षित सञ्चालनमा असर पार्न सक्ने सफ्टवेयर आफूखुसी परिवर्तन, स्थापना, थप वा हटाउन रोक लगाएको छ । यस्तो उल्लंघनमा दोषी ठहर भए अधिकतम दुई वर्ष कैद वा दुई करोड कोरियाली वनसम्म जरिवाना हुन सक्छ ।