सात अर्ब खर्चेर किन माथि उठाइँदैछ टिकौली जंगलको दुई किलोमिटर सडक ?
चितवन । पूर्व–पश्चिम राजमार्गअन्तर्गत टिकौली जंगलको करिब दुई किलोमिटर सडकलाई जमिनको सतहभन्दा माथि उठाएर निर्माण गर्ने प्रक्रिया ग्लोबल टेन्डरमा प्रवेश गरेको छ । सवारीसाधन फ्लाइओभरबाट गुड्ने र वन्यजन्तुले त्यसको तलबाट निर्बाध जंगल वारपार गर्न सक्ने गरी संरचना बनाउन अन्तर्राष्ट्रिय निर्माण कम्पनी खोजिएको हो ।
सडक विभागअन्तर्गतको आयोजना
निर्देशनालयले हेटौंडाको राप्तीपुलदेखि चितवनको गोद्राङसम्मको करिब ७० किलोमिटर
सडक विस्तार तथा स्तरोन्नतिका लागि बोलपत्र आह्वान गरेको छ । इच्छुक निर्माण
कम्पनीले असोज २६ गतेसम्म प्रस्ताव पेस गर्न सक्नेछन् । ठेक्का सम्झौता भएको
मितिदेखि ४२ महिनाभित्र निर्माण सक्ने लक्ष्य राखिएको छ ।
यसअघि योजनाका रूपमा सार्वजनिक
भएको टिकौली फ्लाइओभर अब ठेक्का प्रक्रियामा पुगेको हो । यो पूर्वतर्फ जाने र
पश्चिमतर्फ आउने सवारीका लागि अलग–अलग दुई समानान्तर संरचनामा निर्माण हुनेछ ।
एप्रोच सडकबाहेक दुवै फ्लाइओभरको लम्बाइ १.९९२ किलोमिटर रहनेछ भने प्रवेश र
निकासका लागि दुवैतर्फ ६००–६०० मिटर सडक थपिनेछ ।
टिकौली जंगलमा वर्षेनी
सवारीसाधनको ठक्करबाट वन्यजन्तु मर्ने समस्या घटाउन राजमार्गलाई नै उनीहरूको
प्राकृतिक बाटोभन्दा माथि लैजाने डिजाइन तयार गरिएको हो । संरचनामुनि ७ देखि ७.५
मिटर उचाइ खुला राखिने भएकाले ठूला वन्यजन्तुले समेत जंगलको एक भागबाट अर्को भागमा
आउजाउ गर्न सक्ने आयोजनाको अपेक्षा छ । सडक विभागका अनुसार संरक्षित वन क्षेत्रमा
यस प्रकारको फ्लाइओभर निर्माण गर्न लागिएको नेपालमै पहिलो हो ।
करिब दुई किलोमिटर लामो संरचना ६७
वटा पिलरमा अडिनेछ । प्रत्येक दिशातर्फको फ्लाइओभर ११ मिटर चौडा हुनेछ, जसमध्ये
७.५ मिटर भागमा सवारी चल्नेछ भने २.७५ मिटर चौडा फुटपाथ रहनेछ । यसको अनुमानित
लागत करिब ७ अर्ब रुपैयाँ छ । राप्तीपुलदेखि गोद्राङसम्मको समग्र ७० किलोमिटर सडक
स्तरोन्नतिको लागत भने करिब ४२ अर्ब ५० करोड रुपैयाँ अनुमान गरिएको छ ।
एडीबीको ऋण सहयोग र नेपाल सरकारको
लगानीमा अघि बढ्ने समग्र आयोजनाको ८२ प्रतिशत रकम एडीबीको ऋणबाट जुटाइनेछ । बाँकी
१८ प्रतिशत नेपाल सरकारले व्यहोर्नेछ । निर्माणपछि सम्बन्धित कम्पनीले नै पाँच
वर्षसम्म सडक र त्यहाँ बनेका संरचनाको मर्मतसम्भार गर्नुपर्ने प्रावधान राखिएको छ
।
सडक विस्तारलाई तीन प्याकेजमा
विभाजन गरिएको छ । राप्तीपुल–लोथरपुल ३९.९२ किलोमिटर, लोथरपुल–टिकौली २६.१८
किलोमिटर र टिकौली–गोद्राङ ३.८२ किलोमिटर तेस्रो प्याकेजमा छन् । करिब दुई
किलोमिटर लामो वन्यजन्तुमैत्री फ्लाइओभर यही ३.८२ किलोमिटरको तेस्रो प्याकेजभित्र
निर्माण हुनेछ ।
हाल दुई लेनमा सञ्चालन भइरहेको सडक ग्रामीण तथा वन क्षेत्रमा चार लेन र केही सहरी क्षेत्रमा सर्भिस लेनसहित ६ लेनसम्म विस्तार गर्ने योजना छ । समग्र खण्डमा १० नयाँ पुल, १० बक्स कल्भर्ट तथा पाँच ओभरपास र अन्डरपास निर्माण गरिनेछ । सञ्चालनमा रहेका ११ पुलको समेत स्तरोन्नति गरिने भएकाले आयोजना टिकौली फ्लाइओभरमा मात्रै सीमित रहनेछैन ।