एक वर्षमा बने साढे नौ करोडभन्दा बढी गाडी, कुन देशले कति बनायो ?
काठमाडौँ । कुनै समय अमेरिका, जापान र जर्मनीको प्रभावमा रहेको विश्व अटोमोबाइल उद्योगको नक्सा अहिले तीव्र गतिमा बदलिएको छ । उत्पादनको ठूलो हिस्सा एसियामा केन्द्रित हुँदा केही उदीयमान देशले परम्परागत अटो शक्ति मानिएका मुलुकलाई समेत पछाडि पार्न थालेका छन् ।
सन् २०२५ मा विश्वभर ९ करोड ६३ लाख ८३
हजार ६५० युनिट सवारी उत्पादन भएका छन् । अघिल्लो वर्ष उत्पादन भएको ९ करोड २५ लाख
४ हजार ३३८ युनिटको तुलनामा यो करिब ४.२ प्रतिशत बढी हो ।
अन्तर्राष्ट्रिय मोटर सवारी उत्पादक
संगठन ‘ओआईसीए’को तथ्याङ्कअनुसार चीनले मात्रै ३ करोड ४५ लाख ३० हजार ७३८ युनिट
सवारी उत्पादन गरेको छ । यो विश्वको कुल उत्पादनको करिब ३५.८ प्रतिशत हो ।
अर्थात्, संसारभर बनेका प्रत्येक १० मध्ये साढे तीनभन्दा बढी सवारी चीनका
कारखानाबाट निस्किएका छन् ।
यो तथ्याङ्कमा प्यासेन्जर कारसँगै
हलुका व्यावसायिक सवारी, ट्रक र बससमेत समावेश छन् ।
कुन देशले कति सवारी बनाए ?
सन् २०२५ मा चीनले ३ करोड ४५ लाख
३० हजार ७३८ युनिट सवारी उत्पादन गर्दै पहिलो स्थान हासिल गरेको छ । चीनको उत्पादन
अघिल्लो वर्षको तुलनामा १०.४ प्रतिशतले बढेको हो ।
दोस्रो स्थानमा रहेको संयुक्त
राज्य अमेरिकाले १ करोड २ लाख ४३ हजार ८४४ युनिट सवारी उत्पादन गरेको छ ।
अमेरिकाको उत्पादन भने ३ प्रतिशतले घटेको छ ।
त्यसैगरी जापानले ८४ लाख १० हजार
२३२ युनिट उत्पादन गर्दै तेस्रो स्थान हासिल गरेको छ । जापानको उत्पादन २.१
प्रतिशतले बढेको हो ।
भारत ६४ लाख ९० हजार ८१० युनिटसहित
चौथो स्थानमा छ । भारतको सवारी उत्पादन एक वर्षमा ७.९ प्रतिशतले बढेको छ ।
मेक्सिकोले ४१ लाख ४८ हजार ८३६
युनिट उत्पादन गर्दै पाँचौँ स्थान हासिल गरेको छ । त्यहाँको उत्पादन २ प्रतिशतले
बढेको हो ।
दक्षिण कोरिया ४१ लाख २ हजार २००
युनिटसहित छैटौँ स्थानमा छ । दक्षिण कोरियाको उत्पादन ०.६ प्रतिशतले घटेको छ ।
जर्मनीले ४० लाख ९२ हजार ४४८
युनिट सवारी उत्पादन गर्दै सातौँ स्थान हासिल गरेको छ । जर्मनीको उत्पादन अघिल्लो
वर्षको तुलनामा २.६ प्रतिशतले घटेको हो ।
ब्राजिल २६ लाख ४४ हजार ५४
युनिटसहित आठौँ स्थानमा छ । ब्राजिलको उत्पादन ३.७ प्रतिशतले बढेको छ ।
स्पेनले २२ लाख ७४ हजार २६ युनिट
उत्पादन गर्दै नवौँ स्थान हासिल गरेको छ । स्पेनको उत्पादन ४.३ प्रतिशतले घटेको हो
।
थाइल्यान्ड १४ लाख ६३ हजार ९९१ युनिट सवारी उत्पादन गर्दै दशौँ स्थानमा छ । थाइल्यान्डको उत्पादन अघिल्लो वर्षको तुलनामा ७.८ प्रतिशतले बढेको छ ।
चीनको उत्पादन अमेरिकाको भन्दा तीन गुणा बढी
दोस्रो स्थानमा रहेको संयुक्त राज्य
अमेरिकाले १ करोड २ लाख ४३ हजार ८४४ युनिट सवारी उत्पादन गरेको छ । चीनको उत्पादन
अमेरिकाको तुलनामा तीन गुणाभन्दा बढी छ ।
चीनको उत्पादन एक वर्षमै ३२ लाख ४९
हजार १४६ युनिटले बढेको छ । विद्युतीय तथा प्लग–इन हाइब्रिड गाडीको बढ्दो माग,
निर्यात विस्तार, ठूलो आपूर्ति सञ्जाल र उच्च उत्पादन क्षमताले चीनलाई स्पष्ट
अग्रता दिलाएका छन् ।
बीवाईडी, चेरी, गिली, एसएआईसी र
चाङ्गानजस्ता स्वदेशी उत्पादकले अन्तर्राष्ट्रिय बजार विस्तार गरिरहेका छन् ।
यसबाहेक टेस्ला, फक्सवागन, टोयोटा र बीएमडब्ल्यूजस्ता विदेशी कम्पनीका ठूला
कारखाना पनि चीनमै सञ्चालनमा छन् ।
अमेरिका दोस्रो स्थानमा रहे पनि
त्यहाँको उत्पादन अघिल्लो वर्षको तुलनामा ३ प्रतिशतले घटेको छ । अमेरिकी उत्पादनमा
पिकअप, एसयूभी र हलुका व्यावसायिक सवारीको हिस्सा ठूलो छ ।
जापानलाई पछ्याउँदै भारत
जापानले ८४ लाख १० हजार २३२ युनिट
सवारी उत्पादन गर्दै तेस्रो स्थान कायम राखेको छ । चौथो स्थानको भारतले भने
उत्पादनमा उच्च वृद्धि गर्दै जापानसँगको दूरी घटाइरहेको छ ।
भारतमा सन् २०२५ मा ६४ लाख ९० हजार
८१० युनिट सवारी उत्पादन भएका छन् । यो अघिल्लो वर्षभन्दा करिब ४ लाख ७६ हजार
युनिट अर्थात् ७.९ प्रतिशत बढी हो ।
बढ्दो घरेलु माग, निर्यातमुखी उत्पादन
र सुजुकी, हुन्डाई, टाटा, महिन्द्रा, किया तथा टोयोटाजस्ता कम्पनीको क्षमता
विस्तारले भारतको उत्पादन बढाएको छ ।
भारतको यो विस्तार नेपालका लागि पनि
महत्त्वपूर्ण छ । नेपाली बजारमा बिक्री हुने पेट्रोल, डिजेल र विद्युतीय गाडीको
ठूलो हिस्सा भारतबाट आउने गरेको छ । त्यहाँ उत्पादन र कम्पोनेन्ट स्थानीयकरण बढ्दा
नेपालमा नयाँ मोडलको उपलब्धता, आपूर्ति र मूल्यमा समेत असर पर्न सक्छ ।
मेक्सिकोले जर्मनी र दक्षिण कोरियालाई उछिन्यो
४१ लाख ४८ हजार ८३६ युनिट सवारी
उत्पादन गरेको मेक्सिको पाँचौँ स्थानमा पुगेको छ । उत्तर अमेरिकी बजारसँगको सहज
पहुँच, तुलनात्मक रूपमा कम उत्पादन लागत र अन्तर्राष्ट्रिय कम्पनीका ठूला
कारखानाले मेक्सिकोलाई प्रमुख निर्यात केन्द्र बनाएका छन् ।
दक्षिण कोरिया ४१ लाख २ हजार २००
युनिटसहित छैटौँ र जर्मनी ४० लाख ९२ हजार ४४८ युनिटसहित सातौँ स्थानमा छन् । यी
तीन देशको उत्पादनबीच निकै कम अन्तर देखिन्छ ।
ब्राजिल, स्पेन र थाइल्यान्ड क्रमशः
आठौँ, नवौँ र दशौँ स्थानमा छन् । शीर्ष १० देशले मात्रै विश्वको कुल सवारी
उत्पादनको करिब ८१ प्रतिशत हिस्सा ओगटेका छन् ।
चीन, जापान, भारत, दक्षिण कोरिया र
थाइल्यान्ड गरी पाँच एसियाली देशले विश्वका करिब ५७ प्रतिशत सवारी उत्पादन गरेका
छन् । यसले विश्व अटोमोबाइल उद्योगको उत्पादन केन्द्र एसियातर्फ सरेको स्पष्ट
संकेत गर्छ ।
यो सूचीले ब्रान्डको उत्पत्ति भएको देश होइन, सवारी उत्पादन भएको स्थान देखाउँछ । जापानी, अमेरिकी, जर्मन वा दक्षिण कोरियाली ब्रान्डका गाडी चीन, भारत, मेक्सिको र थाइल्यान्डलगायत देशमा उत्पादन हुन सक्ने भएकाले सम्बन्धित देशका कारखानाबाट निस्किएको कुल संख्या गणना गरिएको हो ।