नेपालमा उबरको औपचारिक प्रवेश, ट्याक्सीमान्डुसँग सहकार्य गर्दै सेवा सुरु
काठमाडौं । विश्वव्यापी राइड–हेलिङ कम्पनी उबरले नेपाली बजारमा औपचारिक रूपमा प्रवेश गरेको घोषणा गरेको छ । ट्याक्सीमान्डुसँग रणनीतिक सहकार्य गर्दै सेवा सुरु गरेको उबरको आगमनसँगै नेपालमा अन्तर्राष्ट्रिय राइड–हेलिङ प्लेटफर्महरूको संख्या चार पुगेको छ ।
कम्पनीले नेपालमा कुन व्यावसायिक मोडल प्रभावकारी हुन्छ भन्ने मूल्यांकन गर्न सदस्यता (सब्स्क्रिप्सन) र कमिसनमा आधारित दुवै मोडल परीक्षण गरिरहेको जनाएको छ । भारतमा भने उबरले सदस्यता मोडलमार्फत चालकबाट निश्चित शुल्क लिएर सेवा सञ्चालन गर्दै आएको छ, जहाँ चालकले यात्राबाट प्राप्त सम्पूर्ण भाडा आफैं राख्न पाउँछन् ।
उबरका अनुसार नेपाल भ्रमणमा आउने विदेशी पर्यटक कम्पनीको प्रमुख लक्षित समूह हुन् । भारत, अमेरिका तथा उबर सेवा उपलब्ध रहेका अन्य देशबाट नेपाल आउने प्रयोगकर्ताले नयाँ एप डाउनलोड नगरी आफ्नो पुरानै उबर एपमार्फत सहज रूपमा सेवा लिन सक्नेछन् ।
दक्षिण एसियाका लागि अन्तर्राष्ट्रिय बजार प्रमुख आकांक्षा सिंहका अनुसार हाल नेपालमा उबरको प्रतिनिधि कार्यालय नभए पनि यसै वर्षभित्र स्थापना गर्ने तयारी भइरहेको छ । उनले राइड–हेलिङ सेवामा मात्र सीमित नरही भविष्यमा कुरियर, फुड डेलिभरी तथा अन्तरसहर यात्राजस्ता क्षेत्रमा समेत विस्तार गर्ने सम्भावनाको अध्ययन भइरहेको जानकारी दिइन् ।
उबरप्रति चालकहरूको आकर्षण पनि उल्लेखनीय देखिएको कम्पनीको दाबी छ । एक साताभन्दा कम अवधिमा करिब २,५०० चालक कम्पनीसँग आबद्ध भइसकेका छन्, जसमा दुईपांग्रे र चारपांग्रे दुवै सवारीका चालक समावेश छन् । साथै, २० हजारभन्दा बढी चालकले एप डाउनलोड गर्ने प्रयास गरेको कम्पनीले जनाएको छ ।
काठमाडौंमा आयोजित उद्घाटन कार्यक्रममा उबरका एसिया–प्रशान्त क्षेत्रका राइड्स विभागका उपाध्यक्ष तथा क्षेत्रीय महाप्रबन्धक डोमिनिक टेलरले नेपालको तीव्र रूपमा बढिरहेको पर्यटन उद्योगलाई कम्पनीको प्रवेशको प्रमुख आधारमध्ये एक भएको बताए ।
उनले उबर नेपालमा दीर्घकालीन प्रतिबद्धतासहित आएको उल्लेख गर्दै आगामी दशकसम्म यहाँ सेवा विस्तार गर्ने योजना रहेको बताए ।
नेपाल पर्यटन विभागका महानिर्देशक रामकृष्ण लामिछानेले उबरको आगमनले पर्यटकका लागि सहज यातायात सेवा उपलब्ध गराउने विश्वास व्यक्त गरे । नेपालस्थित अमेरिकी दूतावासका कन्सुलर मामिला प्रमुख चेलन जे ब्लिसले अमेरिकी लगानीले नेपालको डिजिटल रूपान्तरण र प्रविधिमैत्री सेवाको विकासमा सकारात्मक योगदान पुर्याउने धारणा राखिन् ।
उबरको प्रवेशसँगै नेपालको डिजिटल यातायात बजारमा प्रतिस्पर्धा थप तीव्र हुने अपेक्षा गरिएको छ । यसले यात्रुलाई थप विकल्प, चालकलाई नयाँ आम्दानीको अवसर तथा समग्र शहरी यातायात व्यवस्थापनमा नयाँ आयाम थप्ने विश्वास गरिएको छ ।