नेपालमा आउँदै गरेको यामाहा एक्सएसआर १५५ किन बन्न सक्छ वर्षकै सबैभन्दा चर्चित मोटरसाइकल ? यस्ता छन् पर्खिनुपर्ने ५ कारण
नेपालमा पछिल्ला केही वर्षयता प्रिमियम १५० देखि २०० सीसी मोटरसाइकलप्रति युवापुस्ताको आकर्षण तीव्र रूपमा बढिरहेको छ । स्पोर्ट्स नेकेड, एड्भेन्चर र रेट्रो–मोडर्न डिजाइन भएका मोटरसाइकलको माग लगातार बढिरहेका बेला अब नेपाली बाइक पारखीले लामो समयदेखि प्रतिक्षा गरिरहेको यामाहा एक्सएसआर १५५ पनि छिट्टै नेपाली बजारमा प्रवेश गर्ने तयारीमा छ ।
यसको संकेत यामाहा नेपाल ले आफ्नो आधिकारिक सामाजिक सञ्जालमार्फत सार्वजनिक गरिसकेको छ । कम्पनीले टिजर सार्वजनिक गरेसँगै एक्सएसआर १५५ को आगमन अब लगभग निश्चित बनेको छ । त्यसैले यदि तपाईं नयाँ मोटरसाइकल किन्ने योजनामा हुनुहुन्छ भने, केही समय पर्खिनु फाइदाजनक हुन सक्छ ।
नेपालमा एमएडब्लु राइड्स (MAW Rides) मार्फत यामाहाका मोटरसाइकल बिक्री–वितरण हुँदै आएका छन् । जापानी ब्रान्ड यामाहाले विश्वभर विश्वसनीय इन्जिन, उत्कृष्ट रिफाइनमेन्ट, टिकाउपन र उच्च रिसेल भ्यालुका कारण विशेष पहिचान बनाएको छ । नेपालमा पनि कम्पनीको बलियो डिलर नेटवर्क, सहज स्पेयर पार्ट्स उपलब्धता र राम्रो अफ्टर–सेल्स सर्भिसले यामाहाप्रतिको विश्वास अझ मजबुत बनाएको छ ।
किन पर्खिने यामाहा एक्सएसआर १५५ ? यहाँ छन् ५ बलिया कारण :
१. क्लासिक र आधुनिक डिजाइनको आकर्षक संयोजन
एक्सएसआर १५५ को सबैभन्दा ठूलो विशेषता यसको Neo-Retro डिजाइन हो । गोलाकार एलईडी हेडलाइट र टेललाइटले क्लासिक मोटरसाइकलको झल्को दिन्छ भने यूएसडी फ्रन्ट फोर्क, एक्सपोज्ड डेल्टाबक्स फ्रेम र आकर्षक फ्युल ट्याङ्कले आधुनिक स्पोर्टी लुक थप्छ ।
यामाहाले यसलाई आफ्नै शैलीमा कस्टमाइज गर्न सकिने मोटरसाइकलको रूपमा विकास गरेको छ । यही कारण यसको डिजाइन लामो समयसम्म पनि पुरानो नदेखिने प्रकारको मानिन्छ ।
२. फिचरमा कुनै सम्झौता छैन
यो मोटरसाइकलमा आधुनिक राइडरले चाहने अधिकांश प्रविधि समावेश गरिएको छ । यसमा स्मार्टफोन कनेक्टिभिटीसहितको एलसीडी इन्स्ट्रुमेन्ट क्लस्टर, सबै एलईडी लाइटिङ, स्विचेबल ट्र्याक्सन कन्ट्रोल, स्लिपर तथा असिस्ट क्लच र डुअल–च्यानल एबीएस उपलब्ध छ ।
यी फिचरहरूले दैनिक राइडिङदेखि लामो यात्रासम्म सुरक्षा र सहजता दुवै बढाउँछन् ।
३. स्पोर्टी राइडिङ अनुभव
एक्सएसआर १५५ को राइडिङ पोस्चर हल्का स्पोर्टी भए पनि माथिल्लो शरीर सीधा रहने भएकाले दैनिक प्रयोगमा सहज अनुभव दिन्छ । यसको करिब १३७ केजी कर्ब तौलका कारण ट्राफिकमा चलाउन पनि सजिलो हुन्छ ।
१७ इन्चका टायर र राम्रो ग्रिपले कर्नरिङ गर्दा आत्मविश्वास बढाउने भएकाले घुम्न मन पराउने राइडरका लागि पनि यो आकर्षक विकल्प बन्न सक्छ ।
४. उत्कृष्ट माइलेज र दैनिक प्रयोगमा किफायती
१० लिटर क्षमताको फ्युल ट्याङ्क भएको एक्सएसआर १५५ ले वास्तविक प्रयोगमा करिब ४७ किलोमिटर प्रतिलिटर सम्म माइलेज दिन सक्ने देखिएको छ । सावधानीपूर्वक चलाउँदा ५० किलोमिटर प्रतिलिटर आसपास पुग्न सक्ने सम्भावना पनि छ ।
यस हिसाबले एक पटक फुल ट्याङ्क गर्दा करिब ३५० किलोमिटरभन्दा बढी दूरी पार गर्न सकिने भएकाले दैनिक आवतजावतसँगै लामो यात्राका लागि पनि यो किफायती विकल्प बन्न सक्छ ।
५. यामाहाको विश्वसनीयता र बलियो अफ्टर–सेल्स नेटवर्क
नेपालमा यामाहाको सबैभन्दा ठूलो बल यसको ब्रान्ड विश्वास हो । एमएडब्लु राइड्समार्फत देशभर फैलिएको डिलर तथा सर्भिस नेटवर्क, सहज स्पेयर पार्ट्स उपलब्धता र गुणस्तरीय सेवा यामाहाका मोटरसाइकल रोज्ने प्रमुख कारणमध्ये एक हो ।
पर्खिन लायक मोटरसाइकल ?
यदि तपाईं एमटी–१५ भन्दा फरक पहिचान भएको, रेट्रो डिजाइन, आधुनिक फिचर, राम्रो माइलेज र यामाहाको विश्वसनीयता एउटै प्याकेजमा खोजिरहनुभएको छ भने यामाहा एक्सएसआर १५५ निश्चित रूपमा प्रतिक्षा गर्न लायक मोटरसाइकल बन्न सक्छ ।
यामाहा नेपालले यसको आगमनको संकेत दिइसकेको अवस्थामा अब मूल्य र आधिकारिक लन्च मितिमाथि मात्रै सबैको नजर केन्द्रित भएको छ । नेपाली बजारमा यसको मूल्य प्रतिस्पर्धात्मक राख्न सकिएमा प्रिमियम १५५ सीसी सेग्मेन्टमा एक्सएसआर १५५ ले उल्लेखनीय प्रभाव पार्ने अपेक्षा गरिएको छ ।