अमेरिकामा चिनियाँ गाडी पस्नुअघि नै ढोका बन्द गर्ने तयारी
काठमाडौँ । आकर्षक मूल्य, आधुनिक प्रविधि र तीव्र विस्तारका कारण विश्व अटो बजारमा बलियो बनेका चिनियाँ गाडीका लागि अमेरिकाको ढोका झन् साँघुरो हुने देखिएको छ । अहिलेसम्म प्रशासनिक नियम र उच्च आयात शुल्कबाट रोकिएको प्रवेशलाई अब कानुनमै स्थायी रूपमा बन्द गर्ने दबाब सुरु भएको हो ।
जनरल मोटर्स, फोर्ड, टोयोटा,
फक्सवागन, हुन्डाई, होन्डा र स्टेलान्टिससहितका प्रमुख गाडी उत्पादकको
प्रतिनिधित्व गर्ने एलायन्स फर अटोमोटिभ इनोभेसनले अमेरिकी कङ्ग्रेसलाई चिनियाँ
कनेक्टेड गाडी, सफ्टवेयर र हार्डवेयरमाथि स्थायी प्रतिबन्ध लगाउन आग्रह गरेको छ ।
समूहले प्रतिनिधिसभा र सिनेटका दुवै
दलका शीर्ष नेताहरूलाई पठाएको पत्रमा चालु कङ्ग्रेसको कार्यकाल सकिनुअघि नै गाडीको
बिक्री, आयात र उत्पादन रोक्ने कानुन पारित गर्न माग गरेको हो । चिनियाँ गाडी
अमेरिकी बजारमा उल्लेख्य रूपमा प्रवेश गरिनसकेको अवस्थामा नै भविष्यका सम्भावित
बाटा बन्द गर्नुपर्ने उसको भनाइ छ ।
प्रतिस्पर्धा कम्पनीसँग होइन, चिनियाँ नीतिसँग भएको
दाबी
अटो समूहका अध्यक्ष तथा प्रमुख
कार्यकारी अधिकृत जोन बोजेलाले अमेरिकी उत्पादकको चुनौती कुनै एउटा चिनियाँ
कम्पनीसँग प्रतिस्पर्धा गर्नु मात्र नभएको बताएका छन् । उनका अनुसार चीनको सरकारी
अनुदान, राज्य समर्थित उद्योग, ठूलो उत्पादन क्षमता र कथित अनुचित व्यापारिक
अभ्यासका कारण अन्य देशका उत्पादकले समान अवस्थामा प्रतिस्पर्धा गर्न पाएका छैनन्
।
समूहले चिनियाँ कम्पनीले अनुदान
प्राप्त गाडी विश्व बजारमा आक्रामक रूपमा पठाइरहेको आरोप लगाएको छ । युरोप,
अस्ट्रेलिया, दक्षिणपूर्वी एसिया, मेक्सिको र दक्षिण अमेरिकामा चिनियाँ ब्रान्डको
हिस्सा बढिरहेको उल्लेख गर्दै अमेरिकाले ढिला गर्न नहुने उसको तर्क छ ।
तर चीनले यस्ता आरोप अस्वीकार गर्दै
आएको छ । अमेरिकास्थित चिनियाँ दूतावासले चिनियाँ अटो उद्योगको सफलता सरकारी
अनुदान वा अनुचित अभ्यासभन्दा पनि प्रविधि, प्रतिस्पर्धा र उत्पादन क्षमताबाट आएको
बताएको छ । उसले प्रस्तावित रोकलाई बजार संरक्षणका नाममा अपनाइएको संरक्षणवादी
नीति भनेको छ ।
व्यापारसँगै डेटाको सुरक्षा मुख्य मुद्दा
अमेरिकी पक्षले यो विषयलाई मूल्य र
व्यापारमा मात्र सीमित गरेको छैन । आधुनिक कनेक्टेड गाडीले चालकको गतिविधि,
लोकेसन, सडक संरचना र गाडी प्रयोगसम्बन्धी संवेदनशील डेटा सङ्कलन तथा प्रसारण गर्न
सक्ने भएकाले राष्ट्रिय सुरक्षामा जोखिम पुग्न सक्ने दाबी गरिएको छ ।
गाडीमा प्रयोग हुने क्यामेरा, सेन्सर,
मोबाइल नेटवर्क, ब्लुटुथ, वाइफाई र अन्य कनेक्टेड सिस्टममार्फत सङ्कलित सूचना
विदेशी निकायसम्म पुग्न सक्ने अमेरिकी चिन्ता छ । यस्ता सिस्टम प्रयोग गरेर
गाडीलाई टाढाबाट प्रभावित वा नियन्त्रण गर्न सकिने सम्भावनासमेत प्रतिबन्धको आधार
बनाइएको छ ।
यद्यपि चिनियाँ गाडीबाट डेटा दुरुपयोग
भएको ठोस घटना अमेरिकाले सार्वजनिक गरेको छैन । अहिले अघि सारिएको कदम प्रमाणित
घटनाभन्दा सम्भावित आर्थिक तथा साइबर सुरक्षा जोखिम रोक्ने नीतिका रूपमा आएको
देखिन्छ ।
विधेयक समितिबाट पारित, तर कानुन बन्न बाँकी
रिपब्लिकन सिनेटर बर्नी मोरेनो र
डेमोक्रेटिक सिनेटर एलिसा स्लटकिनले कनेक्टेड भेहिकल सेक्युरिटी एक्ट सन् २०२६
प्रस्तुत गरेका छन् । विधेयकले चीनसहित अमेरिकाले सुरक्षा जोखिम मानेका देशसँग
सम्बन्धित कनेक्टेड गाडी, सफ्टवेयर र हार्डवेयरको आयात, उत्पादन, बिक्री तथा पुनर्बिक्री
रोक्ने प्रस्ताव गरेको छ ।
विधेयक अमेरिकी सिनेटको कमर्स, साइन्स
एन्ड ट्रान्सपोर्टेसन कमिटीबाट सर्वसम्मत रूपमा अगाडि बढिसकेको छ । प्रतिनिधिसभामा
पनि यससँग मिल्दोजुल्दो प्रस्ताव दर्ता गरिएको छ । यद्यपि दुवै सदनबाट पारित भएर
राष्ट्रपतिको स्वीकृति नपाएसम्म यो स्थायी कानुन बन्ने छैन ।
अमेरिकामा यसअघि नै चिनियाँ कनेक्टेड
प्रविधिमाथि प्रशासनिक प्रतिबन्ध लगाइएको छ । सफ्टवेयरसम्बन्धी रोक सन् २०२७ मोडल
वर्षबाट र हार्डवेयरसम्बन्धी रोक सन् २०३० बाट लागू गर्ने व्यवस्था छ । नयाँ
विधेयकले यही व्यवस्थालाई फराकिलो बनाउँदै भविष्यको सरकारले सजिलै परिवर्तन गर्न
नसक्ने गरी कानुनी रूप दिन खोजेको हो ।
शुल्कभन्दा कडा बन्न सक्छ नयाँ व्यवस्था
अमेरिकाले चिनियाँ इलेक्ट्रिक गाडीमा
यसअघि नै शतप्रतिशत आयात शुल्क लगाएको थियो । तर उच्च शुल्क हुँदाहुँदै पनि
चिनियाँ कम्पनीले अमेरिका वा तेस्रो देशमा उत्पादन सुरु गर्न सक्ने सम्भावना बाँकी
रहन्थ्यो ।
प्रस्तावित कानुन पारित भए गाडी कहाँ
एसेम्बल गरिएको हो भन्ने मात्र निर्णायक हुने छैन । ब्रान्डको स्वामित्व, गाडीको
डिजाइन, सफ्टवेयर विकास, कनेक्टेड हार्डवेयर र चिनियाँ कम्पनीसँगको साझेदारीसमेत परीक्षणको
दायरामा पर्न सक्छ । यसले चिनियाँ लगानी वा पार्ट्स प्रयोग गर्ने गैरचिनियाँ
कम्पनीलाई समेत जटिलता थप्न सक्ने चिन्ता देखिएको छ ।