Newad1
Featured blog image

ईभी किन्न बजेट पुगेन ? अब पुरानो गाडीका लागि पनि कर्जा

काठमाडौं । विद्युतीय सवारीसाधनको प्रयोग तीव्र रूपमा बढिरहेको नेपालमा अब पुरानो गाडी किन्ने योजना बनाइरहेका ग्राहकका लागि पनि वित्तीय पहुँच सहज बन्ने संकेत देखिएको छ । नयाँ व्यवस्था लागू भएसँगै कम लागतमा विद्युतीय सवारीसाधन खरिद गर्न चाहने सर्वसाधारण र व्यवसायी दुवैले प्रत्यक्ष लाभ लिन सक्ने अपेक्षा गरिएको छ ।

यसैक्रममा एनएमबी बैंकले सेकेन्ड ह्यान्ड अर्थात् प्रयोग भइसकेका चारपांग्रे विद्युतीय सवारीसाधन खरिदका लागि विशेष कर्जा योजना सार्वजनिक गरेको छ । ‘प्रि–ओन्ड ईभी फाइनान्सिङ’ नाम दिइएको यो योजनामार्फत व्यक्तिगत प्रयोगका साथै व्यावसायिक प्रयोजनका ग्राहकले पनि कर्जा सुविधा लिन सक्ने बैंकले जनाएको छ ।

बैंकका अनुसार आवेदन प्रक्रिया सहज बनाइएको छ । ग्राहकले देशभर रहेका बैंकका शाखामार्फत वा बैंकका डिजिटल माध्यम प्रयोग गरेर कर्जाका लागि आवेदन दिन सक्नेछन् । छिटो प्रक्रिया र ग्राहकमैत्री सेवामार्फत पुरानो विद्युतीय सवारीसाधन खरिदलाई थप सहज बनाउने लक्ष्य राखिएको बैंकको भनाइ छ ।

नेपालमा पछिल्ला केही वर्षयता नयाँ विद्युतीय गाडीको बिक्रीसँगै सेकेन्ड ह्यान्ड ईभीको बजार पनि विस्तार हुँदै गएको छ । तर पुराना ईभी खरिदका लागि सहज कर्जा सुविधा अभाव रहेको गुनासो उपभोक्ताबाट आउने गरेको थियो । नयाँ योजनाले यही आवश्यकतालाई सम्बोधन गर्ने विश्वास गरिएको छ ।

हरित बैंकिङलाई प्राथमिकतामा राख्दै आएको एनएमबी बैंकले वातावरणमैत्री यातायातलाई थप प्रोत्साहन गर्ने उद्देश्यले यो योजना ल्याएको जनाएको छ । विद्युतीय सवारीसाधनको प्रयोग बढ्दै जाँदा कार्बन उत्सर्जन घटाउन र स्वच्छ यातायात प्रणाली विस्तार गर्न पनि यस्ता वित्तीय योजनाले सकारात्मक योगदान पुग्ने अपेक्षा गरिएको छ ।

नेपालमा ईभीको प्रयोग विस्तार भइरहेका बेला नयाँ गाडीसँगै पुराना विद्युतीय सवारीसाधनको कारोबार पनि बढ्दो क्रममा छ । बजारमा गुणस्तरीय सेकेन्ड ह्यान्ड ईभीको उपलब्धता बढ्दै गएपछि धेरै ग्राहक कम लागतमा विद्युतीय सवारीसाधनतर्फ आकर्षित भइरहेका छन् । यस्तो अवस्थामा बैंकिङ क्षेत्रबाट आएको नयाँ कर्जा योजनाले पुरानो ईभी बजारलाई थप चलायमान बनाउन सक्ने विश्लेषण गरिएको छ ।

हाल एनएमबी बैंकले देशभर १९८ शाखा, १७६ एटीएम तथा ९ वटा विस्तारित काउन्टरमार्फत बैंकिङ सेवा प्रदान गर्दै आएको छ । बैंकले आगामी दिनमा पनि हरित वित्तीय सेवामा आफ्नो सक्रिय भूमिका निरन्तर विस्तार गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।

footer