Newad1
Featured blog image

नेपालबाट सुरु भयो भिडाको अन्तर्राष्ट्रिय यात्रा, सीजी मोटर्सले ल्यायो नयाँ विद्युतीय दुईपांग्रे

काठमाडौं । हिरो मोटोकर्पद्वारा सञ्चालित विद्युतीय दुईपांग्रे ब्रान्ड भिडाले आफ्नो पहिलो अन्तर्राष्ट्रिय बजारका रूपमा नेपाल रोजेको छ । सीजी मोटर्समार्फत बजारमा प्रवेश गरेको ब्रान्डले १ लाख ९९ हजार ९ सय रुपैयाँदेखि ३ लाख ९९ हजार ९ सय रुपैयाँसम्मका तीन विद्युतीय दुईपांग्रे मोडल उपलब्ध गराउने भएको छ ।

कम्पनीले सहरी दैनिक आवतजावतका लागि भिडा भीएक्स२ गो र भिडा भीएक्स२ प्लस ल्याएको छ भने युवा राइडरलाई लक्षित गर्दै हिरो डिर्ट ई के–३ विद्युतीय अफ–रोड मोटरसाइकल पनि सार्वजनिक गरेको छ ।

नेपालमा भिडा भीएक्स२ गोको मूल्य २ लाख ९९ हजार ९ सय रुपैयाँ कायम गरिएको छ । भीएक्स२ प्लसको मूल्य ३ लाख ९९ हजार ९ सय रुपैयाँ तोकिएको छ । यता अफ–रोड शैलीको हिरो डिर्ट ई के–३ भने १ लाख ९९ हजार ९ सय रुपैयाँमा उपलब्ध हुनेछ ।

एउटै ब्रान्डभित्र तीन फरक विकल्प

भीएक्स२ गो र भीएक्स२ प्लसलाई मुख्यतः सहरी प्रयोगकर्ता केन्द्रित मोडलका रूपमा अघि सारिएको छ । दैनिक कार्यालय आवतजावत, छोटो दूरीको यात्रा तथा इन्धन खर्च घटाउन चाहने ग्राहकलाई यी मोडलले लक्षित गर्नेछन् ।

डिर्ट ई के–३ भने सामान्य स्कुटरभन्दा भिन्न राइडिङ अनुभव खोज्ने ग्राहकका लागि ल्याइएको हो । विद्युतीय पावरट्रेनसहितको अफ–रोड मोटरसाइकललाई २ लाख रुपैयाँभन्दा कम मूल्यमा उपलब्ध गराइनुले युवा राइडर र नयाँ पुस्ताका ईभी प्रयोगकर्तामाझ यसले अलग पहिचान बनाउन सक्ने देखिन्छ ।

सीजी मोटर्सले सम्हाल्ने बिक्री र सेवा

नेपालमा भिडाका उत्पादनको आधिकारिक बिक्री तथा वितरण सीजी मोटर्सले गर्नेछ । चौधरी ग्रुपअन्तर्गतको कम्पनीले हिरो मोटोकर्पसँगको सहकार्यलाई अब विद्युतीय दुईपांग्रे क्षेत्रमा पनि विस्तार गरेको हो ।

हिरो मोटोकर्पअन्तर्गतको इमर्जिङ मोबिलिटी बिजनेस युनिटकी प्रमुख व्यापार अधिकृत कौशल्या नन्दकुमारले भिडाको अन्तर्राष्ट्रिय यात्रा नेपालबाट सुरु हुनु कम्पनीका लागि महत्त्वपूर्ण क्षण भएको बताएकी छन् । उनले नेपालमा विद्युतीय सवारीप्रतिको आकर्षण तीव्र रूपमा बढेकाले यसलाई रणनीतिक बजारका रूपमा लिइएको उल्लेख गरेकी छन् ।

चौधरी ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरीले भिडाको प्रवेशले नेपालको हरित यातायात यात्रालाई थप गति दिने विश्वास व्यक्त गरेका छन् । उनका अनुसार दैनिक प्रयोगकर्ता र नयाँ पुस्ताका राइडरको आवश्यकतालाई ध्यानमा राखेर ल्याइएका यी उत्पादनले दुईपांग्रे बजारमा नयाँ विकल्प सिर्जना गर्नेछन् ।

नेपालको ईभी दुईपांग्रे बजारमा मूल्य, ब्याट्री रेन्ज, चार्जिङ सुविधा र बिक्रीपछिको सेवाले ग्राहकको निर्णयमा ठूलो भूमिका खेल्छ । भिडाले तीन फरक मूल्यस्तरमा मोडल ल्याएकाले प्रतिस्पर्धा बढाउने निश्चित छ, तर बजारमा यसको वास्तविक प्रभाव सेवा सञ्जाल र प्रयोगकर्ताको अनुभवले तय गर्नेछ ।


footer