जरिवानाको रकम कहाँ जान्छ ? नेपाल प्रहरीले दियो आधिकारिक जवाफ
काठमाडौं । सामाजिक सञ्जाल तथा केही सञ्चारमाध्यममा पछिल्ला दिनहरूमा "ट्राफिक प्रहरीले जरिवाना काटेबापत २५ प्रतिशत विशेष भत्ता पाउने" भन्ने आशयका समाचार तथा टिप्पणीहरू सार्वजनिक भएपछि नेपाल प्रहरीले त्यसलाई भ्रामक र तथ्यहीन भन्दै आधिकारिक स्पष्टिकरण दिएको छ । नेपाल प्रहरी प्रधान कार्यालयले मंगलबार प्रेस विज्ञप्ति जारी गर्दै ट्राफिक नियम उल्लंघन गरेबापत संकलन हुने जरिवाना सिधै नेपाल सरकारको राजस्व खातामा जम्मा हुने व्यवस्था रहेको जनाएको छ । उक्त रकमबाट ट्राफिक प्रहरी वा अन्य कुनै कर्मचारीले अतिरिक्त शुल्क, सुविधा वा विशेष भत्ता प्राप्त गर्ने कुनै कानुनी व्यवस्था नरहेको प्रहरीको भनाइ छ । प्रहरीका अनुसार तथ्य पुष्टि नगरी अनुमानका आधारमा यस्ता समाचार र टिप्पणी सार्वजनिक हुँदा आम नागरिकमा भ्रम सिर्जना हुने, सार्वजनिक संस्थाप्रतिको विश्वासमा नकारात्मक असर पर्ने तथा प्रशासनिक प्रक्रियालाई अनावश्यक रूपमा विवादित बनाउने अवस्था उत्पन्न हुन सक्छ । त्यसैले यस्ता अफवाह, भ्रामक र तथ्यहीन सूचनाको पछि नलाग्न नेपाल प्रहरीले सबैमा अनुरोध गरेको छ । साथै, सञ्चारमाध्यम तथा सामाजिक सञ्जाल प्रयोगकर्तालाई समाचार वा सूचना प्रकाशन तथा प्रसारण गर्नुअघि सम्बन्धित निकायबाट तथ्य पुष्टि गरेर मात्रै जिम्मेवारीपूर्वक सूचना सम्प्रेषण गर्न नेपाल प्रहरीले आग्रह गरेको छ ।