Newad1
Featured blog image

नेपाली बजारमा आउँदै वुलिङ एक्सिओन ईभी

काठमाडौं । नेपाली बजारमा वुलिङ ब्रान्डका सवारीसाधन बिक्री गर्दै आएको प्यारामाउन्ट मोटर्सले नयाँ इलेक्ट्रिक एसयूभी ‘वुलिङ एक्सिओन ईभी’ सार्वजनिक गर्ने तयारी गरेको छ । कम्पनीले यो मोडल आगामी NAIMA Mobility Expo 2026 मार्फत पहिलोपटक नेपाली उपभोक्तामाझ प्रस्तुत गर्ने जनाएको छ ।

परिवार केन्द्रित प्रयोगलाई ध्यानमा राखेर विकास गरिएको एक्सिओन ईभीको विशेषता यसको परिवर्तन गर्न मिल्ने सिट व्यवस्थापन हो । सामान्य अवस्थामा पाँच सिट प्रयोग गर्न सकिने यो गाडीमा आवश्यक पर्दा पछाडिका दुई अतिरिक्त सिट खोल्दै सात जनासम्म यात्रा गर्न सकिन्छ । तेस्रो पंक्तिका सिट फोल्ड गर्दा ठूलो बुट स्पेस उपलब्ध हुने कम्पनीको भनाइ छ भने दोस्रो र तेस्रो दुवै पंक्तिका सिट फोल्ड गरेपछि सामान बोक्न पर्याप्त स्थान तयार हुन्छ ।

यो एसयूभीमा ६९.२ किलोवाट–घण्टाको लिथियम आइरन फस्फेट ब्याट्री जडान गरिएको छ । कम्पनीका अनुसार एकपटक पूर्ण चार्ज गरेपछि गाडीले अधिकतम ५३० किलोमिटरसम्म यात्रा गर्न सक्छ । फास्ट चार्जिङ सपोर्टका कारण ब्याट्रीलाई ३० प्रतिशतबाट ८० प्रतिशतसम्म चार्ज गर्न करिब २० मिनेट मात्रै लाग्ने दाबी गरिएको छ ।

नेपालका विविध सडक अवस्थालाई ध्यानमा राखेर यसको बडी स्ट्रक्चर उच्च शक्ति भएको स्टिलबाट तयार गरिएको कम्पनीले जनाएको छ । साथै ब्याट्रीले आगो तथा पंक्चर परीक्षण सफलतापूर्वक पार गरेको उल्लेख गरिएको छ । मल्टि–लिंक रियर सस्पेन्सन प्रयोग गरिएकाले उबडखाबड सडकमा समेत आरामदायी यात्रा अनुभव हुने अपेक्षा गरिएको छ ।

पर्फर्मेन्सतर्फ एक्सिओन ईभीमा १५० किलोवाट क्षमताको इलेक्ट्रिक मोटर र ३१० एनएम टर्क उपलब्ध छ। यसले यात्रु र सामानले भरिएको अवस्थामा पनि पहाडी उकालोमा सहज रूपमा चल्न सक्ने कम्पनीको विश्वास छ ।

सुरक्षाका लागि यसमा एड्भान्स्ड ड्राइभर असिस्टेन्स सिस्टम (ADAS), अटोमेटिक इमर्जेन्सी ब्रेकिङ, एडप्टिभ क्रुज कन्ट्रोल, ३६० डिग्री क्यामेरा र ट्रान्सपरेन्ट चेसिस भ्यूजस्ता आधुनिक फिचर समावेश गरिएको छ। ट्रान्सपरेन्ट चेसिसले गाडीमुनिको सतह स्क्रिनमार्फत देखाउने सुविधा प्रदान गर्छ ।

कम्पनीले एक्सिओन ईभीसँगै वुलिङ मिनी ईभी, वुलिङ डेरियन एमपिभी र वुलिङ बिङ्गो ईभी पनि NAIMA Mobility Expo 2026 मा प्रदर्शन गर्ने जनाएको छ । इच्छुक ग्राहकले एक्स्पोमै गाडीको डिजाइन, इन्टेरियर, स्पेस र विभिन्न फिचर प्रत्यक्ष अवलोकन गर्न सक्नेछन् ।

footer