नेपालमा ५५.९९ लाखको एक्सियन, भारतबाट एमजी बनेर आए कति सस्तो पर्ला ?
काठमाडौं । नेपालमा वुलिङ एक्सियनका रूपमा बिक्री भइरहेको सात सिटे विद्युतीय एसयूभी अब भारतमा एमजीको लोगो लगाएर आउँदैछ । भारतमा बनेको यही गाडी भविष्यमा नेपाल आए ५५ लाख ९९ हजार रुपैयाँको एक्सियनभन्दा सस्तो पर्ला कि महँगो भन्ने चासो बढेको छ ।
जेएसडब्लू एमजी मोटर इन्डियाले नयाँ तीन पंक्ते विद्युतीय एसयूभीको अग्रिम बुकिङ २१ हजार भारुमा खोलिसकेको छ । अगस्ट २६ मा सार्वजनिक हुने गाडीको सम्भावित नाम ‘एमजी हेक्टर टोमहक’ रहने र मूल्य १८ देखि २५ लाख भारुको आसपास हुन सक्ने भारतीय सञ्चारमाध्यमको अनुमान छ ।
यो गाडी वुलिङ स्टारलाइट ५६० को आधारमा बनेको हो । यही मोडल नेपालमा वुलिङ एक्सियनका रूपमा नाइमा नेपाल मोबिलिटी एक्स्पोबाट सार्वजनिक भइसकेको छ । पारामाउन्ट मोटर्सले यसको नियमित मूल्य ५७ लाख ९९ हजार र विशेष मूल्य ५५ लाख ९९ हजार रुपैयाँ तोकेको छ ।
भारतको अनुमानित मूल्यलाई सामान्य विनिमय दरमा रूपान्तरण गर्दा करिब २८ लाख ८० हजारदेखि ४० लाख नेपाली रुपैयाँ हुन्छ । तर यसकै आधारमा नेपालमा पनि गाडी सस्तो हुन्छ भन्न मिल्दैन । निर्यात मूल्यसँगै भन्सार, स्वच्छ पूर्वाधार लगानी शुल्क, सडक निर्माण दस्तुर, मूल्य अभिवृद्धि कर, ढुवानी र वितरकको लागत जोडिएपछि मात्र अन्तिम मूल्य तय हुनेछ ।
नेपालमा भारतमा बनेका एमजीका मोडल जीओ अटोमोबाइल्सले बिक्री गर्दै आएको छ भने चीनमा उत्पादित एमजी र वुलिङका गाडी पारामाउन्ट मोटर्सले बिक्री गर्छ । त्यसैले भारतीय एमजी संस्करण नेपाल आए एउटै आधारमा बनेका दुई गाडी फरक आयातकर्तामार्फत प्रतिस्पर्धामा उत्रिन सक्छन् । यद्यपि नयाँ मोडल नेपाल ल्याउने औपचारिक घोषणा भएको छैन ।
एक्सियनमा ६९.२ किलोवाट आवरको ब्याट्री, १५० किलोवाटको मोटर र ३१० न्युटन मिटर टर्क उपलब्ध छ । कम्पनीले एकपटकको पूर्ण चार्जमा ५३० किलोमिटरसम्म रेन्ज दिने दाबी गरेको छ । भारतमा आउने संस्करणमा यही संयोजन रहने अनुमान भए पनि अन्तिम विवरण खुल्न बाँकी छ ।
यदि भारतमा स्थानीय उत्पादनका कारण प्रतिस्पर्धी निर्यात मूल्य कायम भयो भने एमजी संस्करणले नेपालमा एक्सियनलाई मूल्यमा चुनौती दिन सक्छ । यसको पहिलो संकेत अगस्ट २६ मा भारतमा सार्वजनिक हुने मूल्यले दिनेछ ।