Newad1
Featured blog image

सहरी यात्राका लागि आयो वुलिङ मिनीईभी, मूल्य २० लाखमुनि

काठमाडौँ । नेपाली विद्युतीय गाडी बजारमा सानो आकार, सहज सञ्चालन र सहरी प्रयोगलाई प्राथमिकता दिने नयाँ विकल्प थपिएको छ । भीडभाड र साँघुरा सडकमा दैनिक यात्रा गर्ने ग्राहकलाई लक्षित यो गाडी आकर्षक मूल्यसहित भित्रिएको हो ।

नेपालका लागि वुलिङको आधिकारिक वितरक पारामाउन्ट मोटर्सले नाइमा नेपाल मोबिलिटी एक्सपो २०२६ मा पाँचौँ पुस्ताको मिनीईभी सार्वजनिक गरेको छ । चारढोका र चार सिट भएको यो गाडी स्ट्यान्डर्ड तथा लङ रेन्ज गरी दुई भेरियन्टमा उपलब्ध छ ।

स्ट्यान्डर्ड भेरियन्टमा १६.२ किलोवाट आवरको लिथियम आइरन फस्फेट ब्याट्री दिइएको छ, जसले एकपटकको चार्जमा २०५ किलोमिटरसम्म यात्रा गर्न सक्ने कम्पनीको दाबी छ । लङ रेन्ज भेरियन्टमा रहेको २५.१ किलोवाट आवरको ब्याट्रीले ३०१ किलोमिटरसम्मको रेन्ज दिने जनाइएको छ ।

दुवै भेरियन्टमा डीसी फास्ट चार्जिङ सुविधा उपलब्ध छ । यसको ब्याट्रीलाई ३५ मिनेटमा ३० बाट ८० प्रतिशतसम्म चार्ज गर्न सकिने कम्पनीले जनाएको छ । गाडीमा स्ट्यान्डर्ड, इको र स्पोर्ट गरी तीन ड्राइभिङ मोड राखिएका छन् ।

तीन हजार २६८ मिलिमिटर लामो मिनीईभीको टर्निङ रेडियस ४.५ मिटर छ । यसले काठमाडौँसहितका सहरका साँघुरा सडकमा गाडी मोड्न र सीमित ठाउँमा पार्किङ गर्न सहज बनाउने अपेक्षा गरिएको छ । पछाडिको सिट मिलाउँदा यसको सामान राख्ने क्षमता १७० लिटरबाट बढाएर ८३८ लिटरसम्म पुर्‍याउन सकिन्छ ।

गाडीमा १०.१ इन्चको सेन्ट्रल कन्ट्रोल स्क्रिन, स्मार्टफोन कनेक्टिभिटी, स्मार्ट एसी र विभिन्न प्रयोगअनुकूल मोड उपलब्ध छन् । सुरक्षातर्फ एन्टिलक ब्रेकिङ प्रणाली, इलेक्ट्रोनिक ब्रेकफोर्स डिस्ट्रिब्युसन, ट्र्याक्सन कन्ट्रोल, अटो होल्ड, हिल होल्ड कन्ट्रोल र इलेक्ट्रोनिक पार्किङ ब्रेक समावेश गरिएको छ ।

मिनीईभी स्ट्यान्डर्डको नियमित मूल्य २० लाख ९९ हजार रुपैयाँ र लङ रेन्जको २२ लाख ९९ हजार रुपैयाँ तोकिएको छ । नाइमा विशेष अफरमा भने यी भेरियन्ट क्रमशः १९ लाख ९९ हजार र २१ लाख ९९ हजार रुपैयाँमा उपलब्ध हुनेछन् ।

footer