याडियाले ल्यायो तीन नयाँ स्कुटर, नाइमा एक्स्पोसम्म विशेष छुट
काठमाडौं । दैनिक कार्यालय आउजाउदेखि लामो दूरीको यात्रासम्म एउटै ब्रान्डभित्र फरक आवश्यकता पूरा गर्ने विद्युतीय स्कुटर खोजिरहेका ग्राहकले अब तीन नयाँ विकल्प पाउने भएका छन् । मूल्य, रेन्ज र मोटर क्षमतामा फरक यी स्कुटरमा नाइमा एक्स्पोलाई लक्षित गरी विशेष छुटसमेत घोषणा गरिएको छ ।
याडियाको आधिकारिक वितरक कुजु नेपाल
प्रालिले जिएस७०, जिटी७० र जिटी८० गरी तीन नयाँ विद्युतीय स्कुटर नेपाली बजारमा
सार्वजनिक गरेको हो । कम्पनीले जिएस७० को मूल्य २ लाख ५० हजार, जिटी७० को ३ लाख ८५
हजार र जिटी८० को ३ लाख ५० हजार रुपैयाँ निर्धारण गरेको छ ।
सहरी यात्रालाई लक्षित जिएस७० मा २.१
किलोवाट आवर क्षमताको एलएफपी ब्याट्री र २.८ किलोवाट क्षमताको मोटर दिइएको छ ।
कम्पनीका अनुसार यसले एकपटकको पूर्ण चार्जमा १०५ किलोमिटरसम्म यात्रा गर्न सक्छ ।
तीनमध्ये सबैभन्दा लामो रेन्ज जिटी७०
ले दिने दाबी गरिएको छ । यसमा ३.६ किलोवाट आवरको स्थायी र २.१ किलोवाट आवरको
निकाल्न मिल्ने गरी कुल ५.७ किलोवाट आवर क्षमताको दुईवटा एलएफपी ब्याट्री प्रणाली
छ । ३.७ किलोवाट क्षमताको मोटर रहेको यो स्कुटरले एकपटकको चार्जमा २२०
किलोमिटरसम्म रेन्ज दिने कम्पनीको दाबी छ ।
अझ बढी गति र प्रिमियम अनुभव खोज्ने
ग्राहकका लागि जिटी८० ल्याइएको छ । यसमा ३.६ किलोवाट आवरको लिथियम ब्याट्री र ५
किलोवाट क्षमताको मोटर छ । स्कुटरको उच्च गति ८० किलोमिटर प्रतिघण्टा र दाबी
गरिएको रेन्ज १५० किलोमिटरसम्म छ ।
तीनै स्कुटरमा ब्लुटुथ कनेक्टिभिटी,
टिएफटी स्मार्ट डिस्प्ले, मोबाइल नेभिगेसन मिररिङ, याडिया स्मार्ट एप र स्मार्ट
चाबी प्रणाली उपलब्ध छन् । एउटै स्कुटर पाँच जनासम्मले प्रयोग गर्न मिल्ने
पारिवारिक सेयरिङ सुविधा पनि समावेश गरिएको छ ।
सुरक्षाका लागि ट्रयाक्सन कन्ट्रोल,
क्रुज कन्ट्रोल, उकालोमा स्कुटर पछाडि सर्न नदिने हिल होल्ड, ओरालोमा गति
नियन्त्रण गर्ने हिल डिसेन्ट कन्ट्रोल र दुवै चक्कामा डिस्क ब्रेक दिइएको छ ।
कम्पनीले ब्याट्रीमा तीन वर्ष वा ५०
हजार किलोमिटरसम्मको वारेन्टी दिने जनाएको छ । नेपालभरका २० आधिकारिक बिक्री
केन्द्रबाट उपलब्ध हुने तीनै मोडलमा नाइमा एक्स्पो सम्पन्न नहुँदासम्म १० हजार
रुपैयाँ छुट पाइनेछ ।
नेपालमा दैनिक यात्राका लागि विद्युतीय दुईपांग्रे रोज्ने ग्राहक बढ्दै जाँदा याडियाका यी नयाँ मोडलले फरक मूल्य र रेन्ज समूहमा प्रतिस्पर्धा थप्ने देखिन्छ ।