Newad1
Featured blog image

११ किलोवाट मोटर र ३०० एनएम टर्कसहित याडियाको नयाँ धमाका । नेपालमा कीनेस लन्च

काठमाडौं । इलेक्ट्रिक दुईपांग्रे सेग्मेन्टमा विश्वप्रसिद्ध ब्रान्ड Yadea ले आफ्नो प्रिमियम मोटरसाइकल ‘याडिया कीनेस’ नेपाली बजारमा औपचारिक रूपमा सार्वजनिक गरेको छ ।

नेपालका लागि आधिकारिक विक्रेता Kuzu Nepal Pvt. Ltd. ले सोमबार एक विशेष कार्यक्रममार्फत नयाँ मोडेल सार्वजनिक गर्दै यसको अधिकतम खुद्रा मूल्य ६ लाख ६० हजार रुपैयाँ तोकेको हो ।

कम्पनीका अनुसार ‘याडिया कीनेस’ सामान्य दैनिक राइडका लागि मात्र होइन, उच्च प्रदर्शन, स्पोर्टी डिजाइन र अत्याधुनिक टेक्नोलोजीलाई केन्द्रमा राखेर डिजाइन गरिएको प्रिमियम इलेक्ट्रिक मोटरसाइकल हो । विशेषगरी रोमाञ्चक राइडिङ अनुभव खोज्ने प्रयोगकर्तालाई लक्षित गर्दै यो मोडेल नेपाल भित्र्याइएको हो ।

यस मोटरसाइकलमा ११ किलोवाट क्षमताको मिड–ड्राइभ हाई–परफर्मेन्स मोटर जडान गरिएको छ, जसले ३०० एनएम टर्क उत्पादन गर्छ । कम्पनीको दाबी अनुसार यो बाइकले ० देखि ५० किलोमिटर प्रतिघन्टा गति मात्र ३ सेकेन्डमै लिन सक्छ । यसको टप स्पिड १०० किलोमिटर प्रतिघन्टा रहेको छ, जसले यसलाई प्रिमियम इलेक्ट्रिक मोटरसाइकल सेग्मेन्टमा बलियो प्रतिस्पर्धी बनाएको छ ।

नेपालको भौगोलिक अवस्थालाई ध्यानमा राख्दै यसले २० डिग्रीसम्मको उकालो सहजै चढ्न सक्ने क्षमता समेत राख्छ ।

बाइकमा ४.६ किलोवाट क्षमताको ब्याट्री प्रयोग गरिएको छ । साथै ४० भन्दा बढी सुरक्षा फिचरसहितको उन्नत ब्याट्री म्यानेजमेन्ट सिस्टम (BMS) जडान गरिएको छ, जसले ताप नियन्त्रण, सुरक्षा र दीर्घकालीन कार्यक्षमता सुनिश्चित गर्ने कम्पनीको भनाइ छ ।

डिजाइन र इनोभेसनका कारण याडिया कीनेसले अन्तर्राष्ट्रिय स्तरको प्रतिष्ठित ‘रेड डट डिजाइन अवार्ड’ समेत जितिसकेको छ ।

विश्व बजारमा लगातार ९ वर्षदेखि नम्बर १ इलेक्ट्रिक दुईपांग्रे ब्रान्डका रूपमा स्थापित Yadea का उत्पादनहरू हाल १५० भन्दा बढी देशमा उपलब्ध छन् । कम्पनीका अनुसार १० करोडभन्दा बढी प्रयोगकर्ताले याडियाका विभिन्न मोडेल प्रयोग गरिरहेका छन् ।

नेपालमा यो नयाँ प्रवेशसँगै प्रिमियम इलेक्ट्रिक मोटरसाइकल बजारमा प्रतिस्पर्धा थप चर्किने अपेक्षा गरिएको छ ।

footer