बाढीपीडितको राहतमा यामाहा परिवारको १५ लाख १५ हजार रुपैयाँ सहयोग
काठमाडौं । बाढीले घर मात्रै बगाएको छैन, थुप्रै परिवारको वर्षौंको कमाइ, भविष्यको आधार र आफ्ना मानिससमेत खोसेको छ । विपद्को यही कठिन घडीमा प्रभावित परिवारसम्म राहत र भरोसा पुर्याउने उद्देश्यले अटोमोबाइल क्षेत्रसँग जोडिएको एउटा सिंगो सञ्जाल एक ठाउँमा उभिएको छ ।
यामाहा नेपालको टु–ह्विलर डिभिजन र
देशभर रहेका यामाहा डिलरले संयुक्त रूपमा बाढीपीडितका लागि १५ लाख रुपैयाँ सहयोग
गरेका छन् । उक्त रकम यामाहा डिलर सोलिडारिटी फन्डमार्फत जुटाइएको कम्पनीले जनाएको
छ ।
यससँगै यामाहा डिभिजनको जेन–जी टिमले
आफ्नो व्यक्तिगत बचतबाट थप १५ हजार रुपैयाँ योगदान गरेको छ । दुवै सहयोग जोड्दा
यामाहा परिवारका तर्फबाट जुटाइएको रकम १५ लाख १५ हजार रुपैयाँ पुगेको छ ।
नेपालमा यामाहा टु–ह्विलरको आधिकारिक
वितरक एमएडब्लू राइड्स प्रालि हो । कम्पनीको देशव्यापी डिलर सञ्जाल, कर्मचारी र
यामाहा राइडर समुदाय राहत तथा सहयोग अभियानमा एकसाथ जोडिएको जनाइएको छ । यामाहाले
नेपालमा मोटरसाइकल र स्कुटरका विभिन्न मोडल बिक्री गर्दै आएको छ ।
गत अगस्ट २६ मा भोटेकोशी नदीमा आएको
विनाशकारी बाढीले रसुवासहित नुवाकोट, धादिङ र गोरखाका नदी तटीय क्षेत्रमा ठूलो
जनधनको क्षति पुर्याएको थियो । गृह मन्त्रालयले खोज, उद्धार र तत्काल राहतसँगै
विस्थापित परिवारको दीर्घकालीन पुनःस्थापनालाई पनि मुख्य आवश्यकता मानेर सहयोगका
लागि सार्वजनिक अपिल गरेको थियो ।
विपद्पछि खाद्यान्न र अस्थायी
बसोबासको तत्काल आवश्यकता पूरा गर्नु जति महत्त्वपूर्ण हुन्छ, जीविकोपार्जन पुनः
सुरु गराउन र क्षतिग्रस्त समुदायलाई सामान्य अवस्थामा फर्काउन त्यसभन्दा लामो समय
लाग्छ । डिलरदेखि कर्मचारीसम्म सहभागी यस्तो सामूहिक सहयोगले राहत कोषमा रकम
थप्नुका साथै निजी क्षेत्रलाई पुनःस्थापना र पुनर्निर्माणमा जोडिन प्रेरित गर्न
सक्छ ।
यामाहा नेपालले प्रभावित समुदायसँग उपलब्ध माध्यमबाट आवश्यक समयसम्म साथ रहने प्रतिबद्धता जनाएको छ । जुटाइएको सहयोग सबैभन्दा बढी आवश्यकता भएका परिवारसम्म पुगेर उनीहरूको तत्काल राहत तथा पुनःस्थापनामा उपयोगी हुने कम्पनीको अपेक्षा छ ।