Newad1
Featured blog image

४१.२ किलोवाट–आवर ब्याट्री र ४ सय किमि रेन्ज, यस्तो छ नेपाल आउँदै गरेको चेरी क्यू

काठमाडौं: नेपालमा विद्युतीय सवारीसाधनको बजार विस्तार भइरहेका बेला चेरी ब्रान्डले आफ्नो बहुप्रतीक्षित अर्बन क्रसओभर चेरी क्यू लाई नेपाली ग्राहकमाझ पहिलोपटक प्रस्तुत गर्ने भएको छ । कम्पनीको आधिकारिक वितरक पायोनियर मोटो कर्प ले आगामी ११ देखि १६ अगस्त सम्म काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुने नाइमा मोबिलिटी एक्स्पो २०२६ मार्फत यो नयाँ मोडल सार्वजनिक गर्ने जानकारी दिएको हो ।

अन्तर्राष्ट्रिय डिजाइन जगतमा समेत चर्चा कमाएको चेरी क्यूले रेडडट डिजाइन अवार्ड २०२५ र आईएफ डिजाइन अवार्ड २०२६ जस्ता प्रतिष्ठित सम्मान प्राप्त गरिसकेको छ । यही कारणले पनि नेपाली बजारमा यसको आगमनलाई विशेष चासोका साथ हेरिएको छ ।

एक्स्पो अवधिभर प्रदर्शनी स्थलमा पुग्ने आगन्तुकले चेरी क्यूलाई प्रत्यक्ष रूपमा अवलोकन गर्न, यसको डिजाइन तथा विशेषताबारे जानकारी लिन र आधुनिक विद्युतीय प्रविधिको अनुभव गर्न सक्नेछन् ।

दैनिक सहरी यात्रालाई सहज, आरामदायी र ऊर्जा–दक्ष बनाउने उद्देश्यका साथ विकास गरिएको चेरी क्यूमा ४१.२ किलोवाट–आवर क्षमताको ब्याट्री प्याक तथा ९० किलोवाट क्षमताको विद्युतीय मोटर जडान गरिएको छ । कम्पनीका अनुसार एनईडीसी मापदण्डअनुसार यसले करिब ४०० किलोमिटरसम्मको ड्राइभिङ रेन्ज उपलब्ध गराउने अपेक्षा गरिएको छ ।

रियल ह्वील ड्राइभ प्लेटफर्ममा आधारित यो अर्बन क्रसओभरले सन्तुलित ह्यान्डलिङ, सहज ड्राइभिङ अनुभव र उच्च ऊर्जा दक्षतालाई प्राथमिकतामा राखेको कम्पनीको दाबी छ । विशेषगरी शहर केन्द्रित प्रयोगकर्तालाई लक्षित गर्दै यसको इन्जिनियरिङ गरिएको बताइएको छ ।

डिजाइनका हिसाबले पनि चेरी क्यूलाई आधुनिक सोचअनुसार तयार पारिएको कम्पनीले जनाएको छ । सफा र आकर्षक बाह्य बनावट, न्यूनतम डिजाइन अवधारणामा आधारित प्रिमियम इन्टेरियर, विशिष्ट लाइटिङ सिग्नेचर तथा फराकिलो क्याबिनले यसलाई समकालीन सहरी जीवनशैलीसँग मेल खाने विद्युतीय क्रसओभरका रूपमा उभ्याएको कम्पनीको भनाइ छ ।

पायोनियर मोटो कर्पका अनुसार अन्तर्राष्ट्रिय स्तरमा सम्मानित डिजाइन, अत्याधुनिक विद्युतीय प्रविधि र व्यावहारिक प्रयोगलाई एउटै प्याकेजमा समेटेको चेरी क्यूले नेपाली विद्युतीय सवारी बजारमा नयाँ विकल्प थप्ने विश्वास गरिएको छ । नाइमा मोबिलिटी एक्स्पोमा सार्वजनिक भएपछि यसको मूल्य, उपलब्ध भेरियन्ट तथा बिक्री सम्बन्धी थप विवरण पनि सार्वजनिक हुने अपेक्षा गरिएको छ ।

footer