५ वर्ष वारेन्टीसहित लेटबी फ्लाईगन २२० नेपालमा, मूल्य ५.४९ लाखबाट
काठमाडौं । नेपाली दुईपाङ्ग्रे बजारमा नयाँ ब्रान्डको आगमन भएको छ । नेपालका लागि क्रसफायर मोटरसाइकलको आधिकारिक वितरक क्लासिक ह्विल्स एक्सपोर्ट एन्ड इम्पोर्टले तबेला नेपालमा आयोजित विशेष कार्यक्रममा लेटबी ब्रान्डको औपचारिक शुभारम्भ गर्दै फ्लाईगन २२० मोटरसाइकल सार्वजनिक गरेको हो । कम्पनीले यसलाई फ्लाईगन २२० सिटी र फ्लाईगन २२० हिल्स गरी दुई फरक भेरिएन्टमा बजारमा ल्याएको छ ।
क्रसफायरमार्फत नेपाली बजारमा आफ्नो उपस्थिति स्थापित गरिसकेको कम्पनीले अब लेटबीलाई छुट्टै पहिचानसहित अघि बढाउने रणनीति लिएको देखिन्छ । यस अर्थमा फ्लाईगन २२० केवल नयाँ मोटरसाइकलको लन्च मात्र नभई नयाँ ब्रान्डको औपचारिक प्रवेशका रूपमा पनि महत्वपूर्ण मानिएको छ ।
कम्पनीका अनुसार लेटबीले ‘मेकानिकल कम्प्यानियन’ अवधारणालाई केन्द्रमा राख्दै राइडरको दैनिक आवश्यकता, प्रविधि, बहुउपयोगिता र जीवनशैलीलाई एउटै प्लेटफर्ममा जोड्ने प्रयास गरेको छ । सोही अवधारणाअनुसार विकास गरिएको फ्लाईगन २२० लाई सहरका सडकदेखि राजमार्ग, पहाडी मार्ग र हल्का अफरोडसम्म सहज रूपमा सञ्चालन गर्न सकिने क्रस–टेरेन मोटरसाइकल का रूपमा प्रस्तुत गरिएको छ ।
‘वान बाइक, एभ्री रोड, एभ्री पर्पस’ भन्ने अवधारणामा आधारित यो मोटरसाइकलले दैनिक आवतजावत गर्ने प्रयोगकर्तादेखि लामो दूरीका टुरिङ र एड्भेन्चर राइडरलाई समेत लक्षित गरेको कम्पनीको दाबी छ । एउटै मोटरसाइकलबाट फरक–फरक भू–भागमा सहज र आत्मविश्वासपूर्ण यात्रा गर्न सकिने गरी यसको डिजाइन तथा सेटअप तयार गरिएको बताइएको छ ।
दुवै भेरिएन्टको प्रयोग क्षेत्र भने फरक–फरक छ । फ्लाईगन २२० सिटी मा सहरी सडक तथा राजमार्गका लागि उपयुक्त स्ट्रिट–फोकस्ड टायर प्रयोग गरिएको छ, जसले राम्रो ह्यान्डलिङ र स्थिरता दिने कम्पनीको भनाइ छ । अर्कोतर्फ फ्लाईगन २२० हिल्स मा एड्भेन्चर–ओरिएन्टेड नबी टायर जडान गरिएको छ, जसले ग्राभेल सडक, पहाडी मार्ग र हल्का अफरोड यात्रामा थप ग्रिप र नियन्त्रण प्रदान गर्ने दाबी गरिएको छ ।
प्राविधिक पक्षमा दुवै भेरिएन्टमा बोस्च ईएफआई प्रणालीसहितको २२० सीसी सिंगल–सिलिन्डर एयर–कुल्ड इन्जिन उपलब्ध छ । उक्त इन्जिनले ७,५०० आरपीएममा १२.८ किलोवाट पावर तथा ५,५०० आरपीएममा १७ एनएम टर्क उत्पादन गर्छ । यसमा पाँच–स्पिड गियरबक्स र चेन–ड्राइभ ट्रान्समिसन प्रयोग गरिएको छ ।
फिचरका हिसाबले पनि फ्लाईगन २२० आधुनिक देखिन्छ । यसमा प्यासिभ कीलेस इन्ट्री, पुश–स्टार्ट इग्निसन, स्मार्ट लकिङ सिस्टम, एन्टी–थेफ्ट अलार्म तथा २.८ इन्चको टीएफटी डिस्प्ले जस्ता सुविधा समावेश गरिएका छन् । साथै अपराइट राइडिङ पोजिसन, कम सेन्टर अफ ग्राभिटी र सहज सिट हाइटका कारण नयाँ तथा अनुभवी दुवै प्रकारका राइडरका लागि नियन्त्रण र आराममा विशेष ध्यान दिइएको कम्पनीले जनाएको छ ।
नेपाली सडक अवस्थालाई ध्यानमा राखेर डिजाइन गरिएको यस मोटरसाइकलमा ७८० मिलिमिटर सिट हाइट र २३० मिलिमिटर ग्राउन्ड क्लियरेन्स उपलब्ध गराइएको छ । यसले स्पिड ब्रेकर, कच्ची सडक तथा असमान भू–भागमा समेत सहज रूपमा सञ्चालन गर्न मद्दत गर्ने विश्वास कम्पनीको छ । त्यस्तै ठूलो आकारका अगाडि र पछाडिका टायरले ग्रिप, स्थिरता र रोड प्रेजेन्सलाई थप मजबुत बनाउने बताइएको छ ।
ग्राहकको विश्वास बढाउने उद्देश्यले कम्पनीले फ्लाईगन २२० मा ५ वर्षको वारेन्टी समेत उपलब्ध गराएको छ । यस्तो लामो वारेन्टीले उत्पादनको गुणस्तर र टिकाउपनप्रति कम्पनीको आत्मविश्वास झल्काउने विश्लेषण गरिएको छ ।
मूल्यतर्फ लेटबी फ्लाईगन २२० सिटी को मूल्य ५ लाख ४९ हजार ९ सय रुपैयाँ तथा फ्लाईगन २२० हिल्स को मूल्य ५ लाख ७४ हजार ९ सय रुपैयाँ निर्धारण गरिएको छ । कम्पनीले नेपालभर रहेका आधिकारिक क्रसफायर तथा लेटबी बिक्री केन्द्रमार्फत दुवै मोडलको बुकिङ खुला भइसकेको जनाएको छ ।
नेपालको दुईपाङ्ग्रे बजार पछिल्ला वर्षहरूमा तीव्र प्रतिस्पर्धात्मक बन्दै गएको अवस्थामा नयाँ अन्तर्राष्ट्रिय ब्रान्डहरूको आगमन निरन्तर बढिरहेको छ । विशेषगरी एड्भेन्चर–स्टाइल र बहुउपयोगी मोटरसाइकलप्रति युवापुस्ताको आकर्षण बढिरहेका बेला लेटबीको प्रवेशले यस सेग्मेन्टमा प्रतिस्पर्धा अझ रोचक बन्ने अपेक्षा गरिएको छ । यदि कम्पनीले बलियो बिक्रीपछिको सेवा, स्पेयर पार्ट्सको सहज उपलब्धता र विश्वसनीय नेटवर्क विस्तार गर्न सकेमा लेटबीले नेपाली बजारमा आफ्नो छुट्टै स्थान बनाउन सक्ने सम्भावना देखिन्छ ।