गाडी आयातकर्तालाई कडा मापदण्डमा बाँध्ने तयारी, ५ वर्षको स्पेयर पार्ट्सदेखि ५० चार्जिङ स्टेशनसम्म अनिवार्य हुन सक्ने

काठमाडौं । नेपालमा सवारीसाधन आयात, उत्पादन तथा जडान क्षेत्रलाई थप व्यवस्थित बनाउन यातायात व्यवस्था विभागले ‘सवारीसाधन आयात, उत्पादन तथा जडान सम्बन्धी निर्देशिका २०८२’ को मस्यौदा तयार गरेको छ । करिब १०० पृष्ठ लामो मस्यौदाले सवारीको गुणस्तर, सुरक्षा, प्रदूषण नियन्त्रण तथा बिक्रीपछिको सेवामा कडाइ गर्ने प्रस्ताव गरेको छ ।

मस्यौदाअनुसार अब नेपालमा आयात हुने सवारीसाधनले अन्तर्राष्ट्रिय मान्यता प्राप्त सुरक्षा तथा गुणस्तर मापदण्ड पूरा गरेको हुनुपर्नेछ । आयातकर्ताले आवश्यक प्राविधिक जनशक्ति, सेवा केन्द्र र स्पेयर पार्ट्सको सुनिश्चितता गर्नुपर्ने व्यवस्था प्रस्ताव गरिएको छ ।

निर्देशिकाले एबीएस वा सीबीएस जस्ता सुरक्षा प्रणालीलाई अनिवार्य बनाउने, यात्रुवाहक सवारीमा एयरब्याग र सबै सिटमा सिटबेल्टको व्यवस्था गर्नुपर्ने तथा युरो–४ वा सोभन्दा माथिको उत्सर्जन मापदण्ड पूरा गर्नुपर्ने व्यवस्था गरेको छ ।

त्यस्तै, सवारीको इन्जिन क्षमता, टर्क, ब्रेकिङ प्रणाली, ब्याट्री क्षमता, ऊर्जा खपत र उकालो चढ्ने क्षमतासमेत परीक्षण गरेर मात्रै स्वीकृति दिने व्यवस्था प्रस्ताव गरिएको छ । विद्युतीय सवारीका लागि ब्याट्री क्षमता र एकपटकको चार्जमा गुड्ने दूरीसम्बन्धी परीक्षणलाई पनि अनिवार्य बनाउने तयारी छ ।

मस्यौदाले बिक्रीपछिको सेवामा विशेष जोड दिएको छ । मोटरसाइकल, स्कुटरलगायत हलुका सवारी आयात गर्ने कम्पनीले कम्तीमा पाँच वर्षसम्म पुग्ने स्पेयर पार्ट्स मौज्दात राख्नुपर्ने प्रस्ताव गरिएको छ ।

त्यसैगरी वार्षिक ५ हजारभन्दा बढी विद्युतीय सवारी आयात वा जडान गर्ने कम्पनीसँग कम्तीमा १५ वटा सेवा केन्द्र, ४ जना इन्जिनियरसहित २० जना प्राविधिक, ब्याट्री व्यवस्थापन केन्द्र तथा ५० वटा चार्जिङ स्टेशन हुनुपर्ने व्यवस्था प्रस्ताव गरिएको छ ।

विभागले तयार पारेको मस्यौदा अब भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा छलफल हुने छ । त्यसपछि आयातकर्ता, उद्योगी, प्राविधिक तथा अन्य सरोकारवालासँग सुझाव लिएर अन्तिम रूप दिइने जनाइएको छ ।

सरकारले बढ्दो सडक दुर्घटना न्यूनीकरण, वायु प्रदूषण नियन्त्रण र सवारी प्रयोगकर्ताको सुरक्षा सुनिश्चित गर्ने उद्देश्यसहित नयाँ निर्देशिका ल्याउन लागेको जनाएको छ । लागू भएमा यसले नेपालमा सवारीसाधन आयात र बिक्री प्रणालीलाई थप व्यवस्थित तथा गुणस्तरीय बनाउने अपेक्षा गरिएको छ ।