भाद्रमा हुने नाडा अटो शो २०२६, तयारी तीव्र, स्टल बुकिङ खुल्ला
नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपाल द्वारा आयोजना हुने बहुप्रतिक्षित “नाडा अटो शो २०२६” का लागि स्टल बुकिङ औपचारिक रूपमा खुल्ला गरिएको छ । अटोमोबाइल क्षेत्रको सबैभन्दा ठूलो प्रदर्शनी मानिने यस कार्यक्रमको १८औं संस्करण आगामी भाद्र ९ गतेदेखि १४ गतेसम्म आयोजना हुने भएको हो ।
नाडाका अनुसार यस वर्षको अटो शोलाई अझ भव्य, आधुनिक र प्रविधिमैत्री बनाउने तयारी भइरहेको छ । सवारी साधन, पार्टपुर्जा, वित्तीय सेवा तथा अन्य सम्बन्धित उद्योगहरूको नवीनतम उत्पादन, प्रविधि र सेवाहरू एउटै छानामुनि प्रस्तुत गर्ने लक्ष्यसहित कार्यक्रम आयोजना गरिँदैछ ।
स्टल बुकिङ जेठ १८ देखि २६ गतेसम्मका लागि खुल्ला गरिएको छ । आयोजकका अनुसार देशभरका अटोमोबाइल उत्पादक, आयातकर्ता, वितरक, सेवा प्रदायक तथा सम्बन्धित संस्थाहरूलाई समयमै आवेदन गरी आफ्नो सहभागिता सुनिश्चित गर्न अनुरोध गरिएको छ ।
यस प्रदर्शनीमा हजारौं आगन्तुक, उद्योग व्यवसायी, लगानीकर्ता तथा सञ्चारकर्मीहरूको सहभागिता रहने अपेक्षा गरिएको छ । विशेषगरी यस पटकको अटो शोले नयाँ मोडलका सवारी साधन, इलेक्ट्रिक मोबिलिटी प्रविधि तथा भविष्यमुखी अटो ट्रेन्डहरूलाई अझ व्यापक रूपमा प्रदर्शन गर्ने अनुमान गरिएको छ ।
आयोजकले यसलाई नेपालकै अटोमोबाइल उद्योगको सबैभन्दा प्रभावशाली प्लेटफर्मको रूपमा विकास गर्ने लक्ष्य लिएको बताएको छ ।