विश्वकै उत्कृष्ट १० बलिया टायर ब्रान्डमा भारतका तीन कम्पनी; एमआरएफ विश्वकै तेस्रो स्थानमा
काठमाडौँ । विश्वव्यापी टायर उद्योगमा भारतीय कम्पनीहरूले उल्लेखनीय सफलता हासिल गरेका छन् । ‘ब्रान्ड फाइनान्स टायर्स २५–२०२६’ प्रतिवेदनअनुसार विश्वका उत्कृष्ट १० सबैभन्दा बलिया टायर ब्रान्डहरूको सूचीमा भारतका तीन कम्पनीले स्थान बनाउन सफल भएका छन् ।
प्रतिवेदनका अनुसार भारतीय टायर उत्पादक एमआरएफ, सिएट र अपोलो टायर्स ले विश्वका प्रतिष्ठित बहुराष्ट्रिय ब्रान्डहरूसँग प्रतिस्पर्धा गर्दै शीर्ष १० भित्र आफ्नो उपस्थिति मजबुत बनाएका हुन्। यस उपलब्धिलाई भारतीय टायर उद्योगको अन्तर्राष्ट्रिय स्तरमा बढ्दो प्रभाव र विश्वसनीयताको संकेतका रूपमा हेरिएको छ ।
१०० अङ्कको ब्रान्ड स्ट्रेन्थ स्कोरका आधारमा गरिएको मूल्याङ्कनमा फ्रान्सको मिसेलिन ९३.२ अङ्कसहित विश्वकै सबैभन्दा बलियो टायर ब्रान्ड बनेको छ । अमेरिकाको गुडइयर ८९.० अङ्कसहित दोस्रो स्थानमा रहेको छ ।
भारतीय कम्पनीहरूमध्ये एमआरएफ ले ८७.७ अङ्क प्राप्त गर्दै विश्वकै तेस्रो स्थान सुरक्षित गरेको छ । त्यसपछि सिएट ८४.९ अङ्कसहित चौथो स्थानमा रहँदा जापानको ब्रिजस्टोन (Bridgestone) ८०.७ अङ्कसहित पाँचौँ स्थानमा परेको छ ।
यस्तै, अपोलो टायर्स ले ८०.६ अङ्कसहित छैटौँ स्थान हासिल गर्दै जापानको योकोहामा लाई पछि पारेको छ। योकोहामा ७९.६ अङ्कसहित सातौँ स्थानमा सीमित भएको छ ।
सूचीको आठौँ स्थानमा सिङ्गापुरको गिटी ७३.७ अङ्कसहित रहेको छ भने जर्मनीको कन्टिनेन्टल ७३.३ अङ्कसहित नवौँ स्थानमा परेको छ । इटालीको पिरेली ७३.० अङ्कसहित शीर्ष १० को अन्तिम स्थानमा रहेको छ ।
विश्वका उत्कृष्ट १० सबैभन्दा बलिया टायर ब्रान्डमध्ये तीनवटा भारतीय कम्पनी पर्नु केवल एउटा उपलब्धि मात्र होइन, भारतीय टायर उद्योगको गुणस्तर, अनुसन्धान, प्रविधि र विश्व बजारमा बढ्दो प्रतिस्पर्धात्मक क्षमताको प्रमाण पनि हो। विशेषगरी एमआरएफ र सिएटले विश्वका स्थापित ब्रान्डहरूलाई पछि पार्दै शीर्ष चारभित्र स्थान बनाउन सफल हुनु भारतीय उत्पादनप्रतिको अन्तर्राष्ट्रिय विश्वास निरन्तर बलियो बन्दै गएको संकेतका रूपमा विश्लेषण गरिएको छ ।