Newad1
Featured blog image

आयोन वाई आगलागीबारे के भन्छ सीजी मोटर्स ?

काठमाडौं । भरतपुरमा जीएसी आयोन वाई विद्युतीय कारमा आगलागी हुँदा एक जनाको मृत्यु भएको घटनापछि सीजी मोटर्स प्रालिले निष्पक्ष, प्राविधिक तथा वैज्ञानिक अनुसन्धानमा पूर्ण सहयोग गर्ने जनाएको छ । भदौ ३० गते जारी विज्ञप्तिमा कम्पनीले अनुसन्धानबाट घटनाको वास्तविक कारण बाहिर आउने विश्वास व्यक्त गरेको हो ।

भदौ २६ गते भरतपुरको सडकमा भएको उक्त घटनामा अमर पराजुलीको मृत्यु भएको थियो । सीजी मोटर्सले पराजुलीप्रति श्रद्धाञ्जली अर्पण गर्दै परिवारजनमा समवेदना व्यक्त गरेको छ ।

कम्पनीका अनुसार घटनाबारे नेपाल प्रहरी तथा सरकारका सम्बन्धित निकायबाट अनुसन्धान भइरहेको छ । यस्तो अवस्थामा सम्बन्धित निकायको अनुसन्धानमा सहयोग गर्नु र त्यसको निष्कर्ष पर्खनु आफ्नो कर्तव्य रहेको सीजी मोटर्सले जनाएको छ ।

विज्ञप्तिमा आगलागी भएको गाडीको निर्माता कम्पनीले समेत सवारीको परीक्षण तथा अनुसन्धान गरी त्यसको रिपोर्ट सार्वजनिक गर्ने उल्लेख छ । विश्वव्यापी रूपमा यस्ता घटनाको अनुसन्धानमा अपनाइने प्रोटोकलअनुसार प्राविधिक परीक्षण भएर वास्तविक कारण पत्ता लाग्ने अपेक्षा कम्पनीले गरेको छ ।

अनुसन्धानको अन्तिम निष्कर्ष आउनुअघि सामाजिक सञ्जाल तथा केही सञ्चारमाध्यममा अपुष्ट सूचना, अनुमान वा एकपक्षीय दाबीका आधारमा घटना प्रस्तुत नगर्न पनि कम्पनीले आग्रह गरेको छ । कसैलाई नियतवश दोषी ठहर गर्ने वा समाजमा उत्तेजना फैलाउने गतिविधिलाई आफूले गैरकानुनी मानेको भन्दै सीजी मोटर्सले आधिकारिक अनुसन्धानको नतिजा पर्खन अनुरोध गरेको छ ।


footer