Newad1
Featured blog image

एक चार्जमा १,३३८ किमि गुड्यो आउडी ए६ ई–ट्रोन, बनायो गिनिज वर्ल्ड रेकर्ड

काठमाडौं । आउडी ए६ स्पोर्टब्याक ई–ट्रोन पर्फर्मेन्सले ब्याट्री एकपटक पूर्ण चार्ज गरेर १ हजार ३३८ किलोमिटर यात्रा गर्दै विद्युतीय कारबाट एक चार्जमा तय गरिएको सबैभन्दा लामो दूरीको गिनिज वर्ल्ड रेकर्ड बनाएको छ । पोल्यान्डका र्‍याली चालक मिको मार्जिकले चलाएको गाडीले यसअघि लुसिड एयर ग्रान्ड टुरिङले बनाएको १ हजार २०५ किलोमिटरको रेकर्ड तोडेको हो ।

यो यात्रा सेप्टेम्बर ११ मा पोल्यान्डबाट सुरु भएको थियो । ए६ ई–ट्रोनलाई भिस्तुला नदीको मार्ग हुँदै क्राको, सान्डोमिएर्ज, वार्सा, टोरुन र ग्रुड्जियाजबाट बाल्टिक सागरको हेलसम्म पुर्‍याएर सोही मार्गतर्फ फर्काइएको थियो । नियमित ट्राफिक र केही भागमा व्यस्त समयसमेत सामना गर्दै ४५ घण्टाभन्दा बढी अवधिमा यात्रा पूरा भएको आउडीले जनाएको छ । यात्राका क्रममा औसत तापक्रम १५ डिग्री सेल्सियस र न्यूनतम तापक्रम ७ डिग्री सेल्सियस थियो ।

रेकर्डमा प्रयोग भएको ए६ स्पोर्टब्याक ई–ट्रोन पर्फर्मेन्समा १०० किलोवाट आवरको कुल र ९४.९ किलोवाट आवरको युजेबल ब्याट्री क्यापासिटी छ । यसको आधिकारिक रेन्ज अधिकतम ७७७ किलोमिटर डब्लुएलटीपी हो । तर रेकर्ड यात्रामा गाडीको औसत ऊर्जा खपत प्रतिएक सय किलोमिटर केवल ७.०९ किलोवाट आवरमा सीमित राखिएको थियो । यो दूरी गाडीको डब्लुएलटीपी रेन्जभन्दा करिब ७२ प्रतिशत बढी हो ।

गाडीको ०.२१ ड्र्याग कोफिसियन्ट, ८०० भोल्ट इलेक्ट्रिकल आर्किटेक्चर र २२० किलोवाटसम्म ऊर्जा फिर्ता लिन सक्ने रिजेनेरेटिभ ब्रेकिङले यस्तो एफिसिएन्सी हासिल गर्न सहयोग गरेका थिए । चालकले टायरको सही प्रेसर, सहज एक्सिलेरेसन, अगाडिको ट्राफिक अनुमान गरेर चलाउने शैली र रिजेन ब्रेकिङको योजनाबद्ध प्रयोग गरेका थिए । आउडीका अनुसार सामान्य ड्राइभिङमा हुने करिब ९५ प्रतिशत ब्रेकिङ रिजेनेरेटिभ ब्रेकिङबाट सम्हाल्न सकिन्छ ।

तर १ हजार ३३८ किलोमिटरलाई ए६ ई–ट्रोनको सामान्य ग्राहकले पाउने रेन्जका रूपमा बुझ्नु हुँदैन । यो दूरी एफिसिएन्सीलाई प्राथमिकता दिइएको हाइपरमाइलिङ प्रयासबाट हासिल भएको हो । नेपालको ट्राफिक, उकालो–ओरालो, सडकको अवस्था, गति, तापक्रम, एयर कन्डिसनको प्रयोग र यात्रुको भारले वास्तविक रेन्ज फरक पार्छ । यस रेकर्डले सामान्य रेन्जको वाचा नगरे पनि एरोडाइनामिक्स, रिजेन ब्रेकिङ, टायर प्रेसर र चालकको व्यवहारले ईभीको ऊर्जा खपतमा कति ठूलो अन्तर ल्याउन सक्छ भन्ने देखाएको छ ।

footer