अवार्ड जितेर आएको प्रोटोन ई.मास ५, नेपाली ग्राहकका लागि किन विशेष ?
काठमाडौं, नेपालको विद्युतीय सवारी बजारमा प्रतिस्पर्धा दिनप्रतिदिन तीव्र बन्दै गइरहेका बेला अन्तर्राष्ट्रिय स्तरमा सम्मानित अर्को नयाँ मोडल नेपाली ग्राहकका लागि उपलब्ध हुने भएको छ । मलेसियाली अटोमोबाइल ब्रान्ड प्रोटोनको पूर्ण विद्युतीय कम्प्याक्ट एसयूभी ई.एमएएस–५ अब नेपालमा सार्वजनिक हुने तयारीमा रहेको छ । कम्पनीका अनुसार आधुनिक प्रविधि, व्यवहारिक डिजाइन र अन्तर्राष्ट्रिय रूपमा प्रमाणित गुणस्तरका कारण यो मोडल नेपाली बजारमा आकर्षक विकल्प बन्ने अपेक्षा गरिएको छ ।
नेपालमा प्रोटोनको आधिकारिक वितरक जगदम्बा मोटर्स ले ई.एमएएस–५ छिट्टै सार्वजनिक गर्ने तयारी गरेको जनाएको छ । कम्पनीका अनुसार यो मोडलले शहरी यात्रालाई सहज बनाउने उद्देश्यसहित विकसित गरिएको हो, जसमा दैनिक प्रयोगलाई प्राथमिकतामा राख्दै स्मार्ट प्रविधि, सहज सञ्चालन र पर्याप्त उपयोगितामा विशेष ध्यान दिइएको छ ।
ई.एमएएस–५ प्रोटोन र विश्वकै अग्रणी अटोमोबाइल समूहहरूमध्ये एक जिलीबीचको रणनीतिक सहकार्यमा विकसित गरिएको विद्युतीय सवारी हो । जिलीको विद्युतीय प्लेटफर्म तथा प्रविधिलाई आधार बनाएर निर्माण गरिएको यो मोडलले विश्व बजारमा प्रोटोनको विद्युतीय यात्रा थप बलियो बनाउने विश्वास कम्पनीको छ ।
यस मोडलले हालै मलेसियाको प्रतिष्ठित एलायन्स डीएसएफ भेहिकल अफ द इयर अवार्ड २०२६ अन्तर्गत ‘इलेक्ट्रिक कम्प्याक्ट भेहिकल अफ द इयर’ उपाधि जितिसकेको छ । आधुनिक डिजाइन, विद्युतीय प्रविधिको प्रभावकारी प्रयोग, आरामदायी इन्टेरियर तथा दैनिक प्रयोगमा उपयोगी विशेषताका आधारमा उक्त सम्मान प्रदान गरिएको कम्पनीले जनाएको छ । अन्तर्राष्ट्रिय स्तरको यस्तो मान्यता प्राप्त गरेपछि ई.एमएएस–५ प्रति विभिन्न बजारमा ग्राहकको चासो समेत बढ्दै गएको बताइएको छ ।
प्रोटोनले यो सवारीलाई केवल आकर्षक देखिने ईभीका रूपमा मात्र नभई व्यवहारिक पारिवारिक सवारीका रूपमा पनि प्रस्तुत गरेको छ । सामान व्यवस्थापनलाई सहज बनाउन गाडीमा तीनवटा फरक स्टोरेज समाधान उपलब्ध गराइएको छ । अगाडिको भागमा ७० लिटर क्षमताको फ्रङ्क, सिटमुनि २८ लिटर क्षमताको स्टोरेज तथा सेन्टर कन्सोलमुनि २० लिटर क्षमताको अतिरिक्त स्टोरेज उपलब्ध गराइएको कम्पनीको दाबी छ । यसले दैनिक किनमेल, यात्राका सामग्री वा साना उपकरण राख्न थप सुविधा दिने विश्वास गरिएको छ ।
जगदम्बा मोटर्सका अनुसार ई.एमएएस–५ ले नेपाली ग्राहकलाई विश्वस्तरीय विद्युतीय सवारी सहज रूपमा उपलब्ध गराउने प्रोटोनको रणनीतिलाई थप मजबुत बनाउनेछ । जिलीको आधुनिक विद्युतीय प्रविधि र प्रोटोनको इन्जिनियरिङ अनुभवको संयोजनले यो मोडललाई सुरक्षा, भरपर्दोपन र मूल्य–प्रतिफलका हिसाबले प्रतिस्पर्धी बनाउने कम्पनीको अपेक्षा छ ।
नेपालको विद्युतीय सवारी बजार पछिल्ला केही वर्षयता उल्लेखनीय रूपमा विस्तार भइरहेको छ । पहिले सीमित ब्रान्ड र केही मोडलमा केन्द्रित रहेको बजारमा अहिले विभिन्न अन्तर्राष्ट्रिय कम्पनीहरूले नयाँ–नयाँ उत्पादन ल्याइरहेका छन् । विशेषगरी कम्प्याक्ट एसयूभी सेग्मेन्टमा ग्राहकको रुचि बढ्दै जाँदा सुविधा, प्रविधि, सुरक्षा र बिक्रीपछिको सेवा खरिद निर्णयका प्रमुख आधार बन्दै गएका छन् ।
यही परिवर्तित बजारलाई लक्षित गर्दै प्रोटोनले ई.एमएएस–५ नेपाल ल्याउन लागेको देखिन्छ । अन्तर्राष्ट्रिय अवार्ड प्राप्त मोडल भएकाले यसको विश्वसनीयताप्रति ग्राहकको विश्वास बढ्ने अपेक्षा गर्न सकिन्छ भने अर्कोतर्फ यसले नेपाली ईभी बजारमा प्रतिस्पर्धालाई अझ तीव्र बनाउने सम्भावना पनि उत्तिकै छ ।
यदि कम्पनीले प्रतिस्पर्धात्मक मूल्य, प्रभावकारी बिक्रीपछिको सेवा र सहज स्पेयर पार्ट्स उपलब्ध गराउन सफल भयो भने ई.एमएएस–५ नेपाली ग्राहकका लागि अर्को आकर्षक विद्युतीय विकल्प बन्न सक्ने विश्लेषकहरूको बुझाइ छ । अन्तर्राष्ट्रिय रूपमा सम्मानित यो मोडलले अब नेपाली सडकमा कस्तो छाप छोड्छ भन्ने विषय भने यसको औपचारिक सार्वजनिककरण र मूल्य घोषणापछि अझ स्पष्ट हुनेछ ।