Newad1
Featured blog image

बुकिङसँगै अनौठो अफर, भाग्यमानी ग्राहकले आफ्नै मूल्यमा पाउनेछन् प्रोटोन इ.मास

काठमाडौं । नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रालिले बहुप्रतिक्षित विद्युतीय एसयूभी प्रोटोन इ.मास ५ को औपचारिक बुकिङ खुला गरेको छ । सार्वजनिक बिक्रीअघि नै ग्राहकलाई आकर्षित गर्ने उद्देश्यले कम्पनीले ‘गेस एन्ड बुक द अल न्यु इ.मास ५ एट योर प्राइस’ नामक विशेष अभियान पनि सुरु गरेको हो ।

यो योजनाअन्तर्गत सहभागी हुने ग्राहकले इ.मास ५ को आधिकारिक बिक्री मूल्य अनुमान गरी आफ्नो मूल्य सुरक्षित गर्न सक्नेछन् । कम्पनीले सार्वजनिक गर्ने वास्तविक मूल्यसँग सबैभन्दा नजिक वा सोही मूल्य अनुमान गर्ने भाग्यमानी ग्राहकले आफूले अनुमान गरेकै मूल्यमा गाडी खरिद गर्ने अवसर प्राप्त गर्नेछन् ।

योजनामा सहभागी हुन इच्छुक ग्राहकले कम्पनीले सञ्चालनमा ल्याएको विशेष वेबसाइटमा https://emas5predict.proton-nepal.com प्रवेश गरी आफूले रोजेको भेरियन्ट चयन गर्नुपर्नेछ । त्यसपछि प्राइस स्लाइडर प्रयोग गरेर आफूले उपयुक्त ठानेको मूल्य निर्धारण गरी त्यसलाई लक गर्न सकिने व्यवस्था गरिएको कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार इ.मास ५ प्राइम भेरियन्टका लागि मूल्य अनुमानको दायरा रु. २९ लाख ९९ हजारदेखि रु. ३४ लाख ९९ हजार सम्म तोकिएको छ । त्यसैगरी प्रिमियम भेरियन्टका लागि रु. ३४ लाख ९९ हजारदेखि रु. ३९ लाख ९९ हजार सम्म मूल्य अनुमान गर्न सकिनेछ ।

अभियानमा नियमअनुसार सहभागी भएका ग्राहकहरूमध्ये प्रत्येक भेरियन्टबाट लक्की ड्र मार्फत पाँच–पाँच जना विजेता छनोट गरिनेछ । ती विजेताले कम्पनीले तोकेको सर्त तथा नियमको अधीनमा रही आफूले अनुमान गरेको मूल्यमै नयाँ इ.मास ५ खरिद गर्न सक्नेछन् ।

यससँगै कम्पनीले रु. १ लाख बुकिङ रकम निर्धारण गर्दै इ.मास ५ को आधिकारिक बुकिङ पनि सुरु गरेको छ । ग्राहकले बैंक वा अनलाइन माध्यमबाट रकम भुक्तानी गरी सम्बन्धित बिक्री परामर्शदातालाई भुक्तानी प्रमाण उपलब्ध गराएर बुकिङ प्रक्रिया पूरा गर्न सक्नेछन् । साथै, सोही वेबसाइटमार्फत भुक्तानी भौचर अपलोड गरेर पनि बुकिङ गर्न सकिने व्यवस्था मिलाइएको छ । कम्पनीका अनुसार वेबसाइटमार्फत दर्ता भएका बुकिङलाई नै लक्की ड्रका लागि आधार मानिनेछ ।

प्रोटोन र जिलीको सहकार्यमा विकास गरिएको इ.मास ५ ले हालै मलेसियामा आयोजित अलायान्ज डीएसएफ भेहिकल अफ द इयर अवार्ड्स २०२६ मा ‘इलेक्ट्रिक कम्प्याक्ट भेहिकल अफ द इयर’ सम्मान प्राप्त गरेको थियो । कम्पनीको दाबीअनुसार नेपाली बजारमा यो आफ्नो वर्गकै पहिलो रियर–ह्विल–ड्राइभ कम्प्याक्ट इलेक्ट्रिक एसयूभी हुनेछ ।

इ.मास ५ मा प्रिमियम स्तरको विद्युतीय ड्राइभिङ अनुभव दिने उद्देश्यले पाँच प्रमुख विशेषता समावेश गरिएको कम्पनीले जनाएको छ । यद्यपि ती सुविधाबारे विस्तृत विवरण भने आधिकारिक सार्वजनिक कार्यक्रमसँगै खुलाइने अपेक्षा गरिएको छ ।

नेपालमा पछिल्ला वर्षहरूमा विद्युतीय सवारीसाधनप्रतिको आकर्षण तीव्र रूपमा बढ्दै गएको र यात्रुवाहक गाडीको बिक्रीमा ईभीको हिस्सा निरन्तर विस्तार भइरहेको अवस्थालाई ध्यानमा राख्दै यस्तो विशेष योजना ल्याइएको जगदम्बा मोटर्सले जनाएको छ । कम्पनीले इ.मास ५ नेपाली कम्प्याक्ट इलेक्ट्रिक एसयूभी बजारमा बलियो प्रतिस्पर्धी विकल्प बन्ने विश्वास व्यक्त गरेको छ ।


footer