विश्व ईभी बजारमा बीवाईडीको अर्को फड्को, १७ मिलियनौं गाडी बन्यो सील ०८
काठमाडौँ । विश्वको विद्युतीय सवारीसाधन उद्योगमा चिनियाँ अटो निर्माता बीवाईडीले अर्को ऐतिहासिक उपलब्धि हासिल गरेको छ । कम्पनीले आफ्नो १ करोड ७० लाखौं नयाँ ऊर्जा सवारीसाधन (एनईभी) उत्पादन सम्पन्न गरेको घोषणा गर्दै उक्त उपलब्धिको प्रतीकका रूपमा नयाँ फ्ल्यागसिप सेडान सील ०८ लाई उत्पादन लाइनबाट बाहिर निकालेको छ ।
बीवाईडीका अनुसार जुलाई २ मा औपचारिक रूपमा सार्वजनिक गरिएको सील ०८ ले बजारमा छोटो समयमै एक लाखभन्दा बढी निश्चित अर्डर प्राप्त गरिसकेको छ । यसले नयाँ मोडलप्रति ग्राहकको आकर्षण कति बलियो छ भन्ने संकेत दिएको उद्योग विश्लेषकहरूको भनाइ छ ।
बीवाईडीको उत्पादन गति पछिल्ला केही वर्षयता लगातार तीव्र बन्दै गएको छ । कम्पनीले सन् २०२४ नोभेम्बरमा १ करोड एनईभी उत्पादन गर्ने विश्वकै पहिलो अटो निर्माता बनेको थियो । त्यसपछि सन् २०२५ डिसेम्बरमा १ करोड ५० लाखको आँकडा पार गरेको कम्पनीले त्यसको केवल केही महिनामै १ करोड ७० लाख उत्पादनको नयाँ उपलब्धि हासिल गरेको हो । उत्पादनको यो गति अहिले विश्व अटो उद्योगकै सबैभन्दा तीव्रमध्ये एक मानिएको छ ।
नेपालमा पनि बीवाईडीका विद्युतीय सवारीसाधनको लोकप्रियता लगातार बढिरहेको अवस्थामा कम्पनीको यो उपलब्धिलाई यहाँका ईभी प्रयोगकर्ता र सम्भावित ग्राहकले समेत चासोका साथ हेर्ने निश्चित छ । बीवाईडीको बढ्दो प्रभावबारे चर्चा भइरहेकै बेला कम्पनीले यस्तो कीर्तिमान बनाउनु आफैंमा अर्थपूर्ण मानिएको छ ।
९०५ किमि रेन्जदेखि १,६६० किमिसम्म यात्रा
सील ०८ दुई फरक पावरट्रेनमा उपलब्ध छ । पहिलो पूर्ण विद्युतीय (बीईभी) संस्करण र दोस्रो प्लग–इन हाइब्रिड (पीएचईभी) संस्करण । पूर्ण विद्युतीय मोडल ८०० भोल्ट उच्च भोल्टेज प्लेटफर्म तथा दोस्रो पुस्ताको ब्लेड ब्याट्री मा आधारित छ । कम्पनीका अनुसार यसले सीएलटीसी मापदण्डअनुसार ९०५ किलोमिटर सम्मको रेन्ज प्रदान गर्छ । अझ विशेष कुरा, केवल पाँच मिनेटको चार्जमै करिब ४०० किलोमिटर चल्न पुग्ने ऊर्जा प्राप्त गर्न सकिने दाबी गरिएको छ ।
प्लग–इन हाइब्रिड संस्करणमा १.५ लिटर टर्बो पेट्रोल इन्जिन, ४०० किलोवाट क्षमताको मोटर तथा ४५.३६ किलोवाट–आवर ब्याट्री प्याक प्रयोग गरिएको छ । यसले शुद्ध विद्युतीय मोडमै ४०० किलोमिटर तथा इन्धन र ब्याट्री दुवै प्रयोग गर्दा १,६६० किलोमिटर सम्मको संयुक्त रेन्ज उपलब्ध गराउने कम्पनीको भनाइ छ ।
बीवाईडीको १७ मिलियन एनईभी उत्पादन केवल एउटा तथ्याङ्क मात्र होइन, विश्व अटो उद्योगमा विद्युतीय सवारीको नेतृत्व कसले गरिरहेको छ भन्ने स्पष्ट संकेत पनि हो । उच्च उत्पादन क्षमता, तीव्र प्रविधि विकास र नयाँ मोडलको मागलाई हेर्दा कम्पनीले आगामी वर्षहरूमा पनि विश्व ईभी बजारमा आफ्नो प्रभाव अझ विस्तार गर्ने सम्भावना बलियो देखिन्छ । नेपालको बजारमा पनि बीवाईडीको उपस्थिति निरन्तर मजबुत बन्दै गएकाले यस्ता नयाँ प्रविधि भविष्यमा नेपाली ग्राहकसम्म पुग्ने अपेक्षा गर्न सकिन्छ ।