Newad1
Featured blog image

के कारण बीवाईडीले अस्ट्रेलियामा फिर्ता बोलायो ३२ हजार शार्क ६ ?

काठमाडौं । गाडीको मुख्य ब्याट्री, मोटर वा पावरट्रेनमा समस्या छैन । कमजोरी गाडीमुनि राखिएको स्पेयर ह्विल अड्याउने एउटा केबलमा देखिएको हो । तर त्यसलाई सामान्य मानेर छाड्नुको सट्टा बीवाईडीले अस्ट्रेलियामा बिक्री भएका ३२ हजार ९ वटा शार्क ६ फिर्ता बोलाएको छ ।

बीवाईडी अस्ट्रेलियाले शार्क ६ को स्पेयर ह्विल लिफ्टर एसेम्ब्लीमा सम्भावित सुरक्षा जोखिम पहिचान गरेपछि रिकॉल प्रक्रिया सुरु गरेको हो । रिकॉलमा प्रिमियम, पर्फर्मेन्स र डाइनामिक क्याब च्यासिस गरी अस्ट्रेलियामा उपलब्ध तीनवटै भेरियन्ट समेटिएका छन् ।

कम्पनीका अनुसार स्पेयर ह्विल सही तरिकाले जडान नभएको, ह्विल राखिने ट्रेको पोजिसन नमिलेको वा पर्याप्त टर्कमा नट कसिएको अवस्थामा ह्विल अड्याउने केबल अस्वाभाविक रूपमा घिसिन सक्छ । गाडी चलिरहँदा हुने निरन्तर चाल र घर्षणले केबल कमजोर बनाए स्पेयर ह्विल गाडीबाट छुट्टिएर सडकमा खस्न सक्ने जोखिम रहन्छ ।

समस्या एउटा सीमित मेकानिकल एसेम्ब्लीसँग सम्बन्धित भए पनि त्यसको सम्भावित परिणामलाई कम्पनीले सामान्य मानेको छैन । सडकमा खसेको स्पेयर ह्विलले पछाडिबाट आइरहेको सवारीका लागि अवरोध सिर्जना गर्दै गम्भीर दुर्घटना, चोटपटक वा मृत्युको जोखिमसमेत निम्त्याउन सक्ने भएकाले ठूलो संख्यामा गाडी फिर्ता बोलाइएको हो ।

रिकॉलमा सन् २०२४ अगस्ट २९ देखि २०२६ जुन १२ सम्म उत्पादन भएका २८ हजार ५४३ शार्क ६ प्रिमियम समेटिएका छन् । त्यस्तै, सन् २०२६ जनवरी २७ देखि जुन १५ सम्म बनेका दुई हजार १०० पर्फर्मेन्स र सन् २०२५ सेप्टेम्बर २६ देखि २०२६ अप्रिल १५ सम्म उत्पादन भएका एक हजार ३६६ डाइनामिक क्याब च्यासिस पनि यसमा परेका छन् ।

बीवाईडीले प्रभावित गाडीको स्पेयर ह्विल लिफ्टर एसेम्ब्लीलाई सुधारिएको डिजाइनको नयाँ एसेम्ब्लीसँग निःशुल्क परिवर्तन गर्ने जनाएको छ । उक्त कामका लागि करिब ३० मिनेट लाग्ने अनुमान छ । कम्पनीले ग्राहकलाई इमेल तथा बीवाईडी एपमार्फत जानकारी पठाउने र गाडीको भीआईएनका आधारमा रिकॉलमा परे–नपरेको जाँच गर्न सकिने व्यवस्था मिलाएको छ ।

मर्मत पूरा हुनुअघि गाडी चलाउनैपर्ने ग्राहकलाई स्पेयर ह्विल निकालेर सुरक्षित रूपमा राख्न पनि कम्पनीले सुझाव दिएको छ । ह्विल निकाल्ने प्रक्रिया शार्क ६ को ओनर्स ह्यान्डबुकमा उपलब्ध छ । यसले रिकॉललाई केवल सूचना जारी गर्ने प्रक्रियामा सीमित नराखी सम्भावित जोखिम कम गर्न तत्काल अपनाउन सकिने उपाय पनि ग्राहकसम्म पुर्‍याइएको देखाउँछ ।

रिकॉलको अर्थ कुनै गाडी वा ब्रान्ड स्वतः असुरक्षित प्रमाणित हुनु होइन । उत्पादन, एसेम्ब्ली वा प्रयोगका क्रममा देखिन सक्ने कमजोरी पहिचान गरेर प्रभावित गाडी पत्ता लगाउनु, ग्राहकलाई जानकारी दिनु र कम्पनीकै खर्चमा सुधार गर्नु यसको मूल उद्देश्य हो । ठूलो कम्पनीको जिम्मेवारी समस्या कहिल्यै नदेखिनुमा मात्र होइन, समस्या थाहा पाएपछि त्यसलाई कति पारदर्शी र छिटो सम्बोधन गर्छ भन्नेमा पनि मापन हुन्छ ।

हालको रिकॉल अस्ट्रेलियामा बिक्री भएका निश्चित उत्पादन अवधिका शार्क ६ मा सीमित छ । यो ब्याट्री वा प्लग–इन हाइब्रिड प्रणालीसँग सम्बन्धित समस्या पनि होइन । शार्क ६ नेपालमा आधिकारिक रूपमा बिक्री सुरु भएको पुष्टि नभएकाले नेपाली ग्राहकमा यसको प्रत्यक्ष प्रभाव देखिँदैन । तर नेपालमा पनि सवारी रिकॉलसम्बन्धी स्पष्ट सूचना, प्रभावित गाडी पहिचान र निःशुल्क सुधारको अभ्यास बलियो बनाउनुपर्ने आवश्यकता यस घटनाले सम्झाएको छ ।

footer