सीएटीएलको नयाँ ट्रक ब्याट्री, २५ मिनेट चार्ज गर्दा १ हजार किलोमिटरसम्म रेन्ज
काठमाडौं । चिनियाँ ब्याट्री निर्माता सीएटीएलले विद्युतीय ट्रक, बस तथा अन्य कमर्सियल गाडीका लागि नयाँ पुस्ताको टेक्ट्रान्स–२ ब्याट्री प्लेटफर्म सार्वजनिक गरेको छ । जर्मनीको ह्यानोभरमा आयोजित आईएए ट्रान्सपोर्टेसन २०२६ मा सार्वजनिक गरिएको यसको अधिकतम कन्फिगरेसनले एकपटकको चार्जमा १ हजार किलोमिटरसम्म रेन्ज दिने कम्पनीको दाबी छ ।
टेक्ट्रान्स–२ कुनै एउटा निश्चित
क्षमताको ब्याट्री प्याक नभई आवश्यकता अनुसार थपघट गर्न सकिने मोड्युलर प्लेटफर्म
हो । गाडीको आकार, बोक्नुपर्ने भार र सञ्चालन दूरीअनुसार फरक संख्यामा
स्ट्यान्डर्ड ब्याट्री प्याक राख्न सकिन्छ । यसले ई–एक्सल र सेन्ट्रल ड्राइभ दुवै
संरचनालाई सपोर्ट गर्नुका साथै फास्ट चार्जिङ र ब्याट्री स्वापिङमध्ये उपयुक्त
विकल्प प्रयोग गर्न सक्ने सीएटीएलले जनाएको छ ।
ब्याट्रीको ग्राभिमेट्रिक इनर्जी
डेन्सिटी १७० वाट आवर प्रतिकिलोग्राम रहेको छ, जुन उद्योगको औसतभन्दा करिब १३
प्रतिशत बढी भएको कम्पनीको भनाइ छ । समान ब्याट्री क्षमतामा यसले ट्रकलाई करिब ६
सय किलोग्राम थप भार बोक्न सहयोग पुग्ने दाबी गरिएको छ । यसको फुल–ट्याब
लो–इम्पिडेन्स डिजाइनले चार्ज र डिस्चार्जका क्रममा ९६ प्रतिशत राउन्ड–ट्रिप ऊर्जा
दक्षता दिने बताइएको छ ।
टेक्ट्रान्स–२ ले मेगावाटस्तरको फास्ट
चार्जिङ सपोर्ट गर्छ । सीएटीएलका अनुसार ब्याट्रीलाई २५ मिनेटमा ८० प्रतिशतसम्म
चार्ज गर्न सकिन्छ । तर कम्पनीले चार्जिङ सुरु गर्दाको प्रतिशत र १ हजार किलोमिटर
रेन्ज मापन गरिएको परीक्षण प्रणाली खुलाएको छैन । ब्याट्रीको अधिकतम क्षमता र
प्रयोग गरिएको सेल केमेस्ट्रीसमेत सार्वजनिक गरिएको छैन ।
हेभी–ड्युटी ट्रकमा प्रयोग हुने
टेक्ट्रान्स–२ को डिजाइन आयु १२ वर्ष वा १५ लाख किलोमिटर तोकिएको छ । उक्त अवधिपछि
पनि ब्याट्रीमा ७० प्रतिशत क्षमता कायम रहने लक्ष्य राखिएको छ । ब्याट्री प्याकलाई
सडकबाट हुने धक्का, थिचाइ तथा खिया लाग्ने समस्याबाट जोगाउन स्टिलको माथिल्लो कभर,
बलियो तल्लो प्लेट र आल्मुनियम संरचना प्रयोग गरिएको कम्पनीले जनाएको छ ।
सीएटीएलले यसै प्रदर्शनीमा डीएचएल
समूहसँग युरोपमा हरित मालवाहक करिडोर विकास गर्ने समझदारी पनि गरेको छ । लामो
दूरीमा चल्ने विद्युतीय ट्रकका लागि रेन्जसँगै चार्जिङ समय र बोक्न सक्ने भार
मुख्य चुनौती हुन् । टेक्ट्रान्स–२ का दाबी व्यावहारिक सञ्चालनमा पुष्टि भए
कमर्सियल ईभीलाई लामो दूरीको ढुवानीमा प्रयोग गर्ने सम्भावना बढ्न सक्छ । यद्यपि
नेपालमा यसको प्रयोगका लागि गाडीको उपलब्धतासँगै मेगावाट क्षमताको चार्जिङ
पूर्वाधार पनि आवश्यक पर्नेछ ।