भारतमा चेरीको अर्को कदम, प्रिमियम एसयूभीको डिजाइन पेटेन्ट दर्ता
काठमाडौं । चिनियाँ अटो निर्माता चेरी अटोमोबाइल ले भारतीय बजार प्रवेशको तयारीलाई थप बलियो बनाउँदै दुई नयाँ एसयूभी लेपास एल४ ईभी र एक्सिड आरएक्स प्लग–इन हाइब्रिड (पीएचईभी) को डिजाइन पेटेन्ट भारतमा दर्ता गराएको छ । डिजाइन पेटेन्टले तत्काल बिक्री सुरु हुने पुष्टि नगरे पनि कम्पनीले भारतीय बजारका लागि दीर्घकालीन रणनीति अघि बढाइरहेको संकेत भने स्पष्ट देखिएको छ ।
चेरीले भारतमा जेएसडब्लू मोटर्ससँगको सहकार्यमा नयाँ ऊर्जा सवारी (एनईभी) केन्द्रित नयाँ ब्रान्ड ल्याउने तयारी गरिरहेको चर्चा चलिरहेका बेला यी पेटेन्ट सार्वजनिक भएका हुन् । पछिल्लो समय चेरीसँग सम्बन्धित विभिन्न मोडल भारतीय सडकमा परीक्षणका क्रममा समेत देखिएकाले कम्पनीको भारत प्रवेश योजना क्रमशः मूर्तरूप लिँदै गएको अनुमान गरिएको छ ।
यसअघि पनि चेरीले जेटुर टी२, जेको जे५, जेको जे७, टिग्गो ७एल, टिग्गो भी, लेपास एल६ र क्यूक्यू३ ईभी लगायतका मोडलको डिजाइन भारतमा दर्ता गरिसकेको छ । नयाँ दुई मोडल थपिएसँगै कम्पनीले भारतका लागि विद्युतीय, हाइब्रिड र एसयूभीको फराकिलो उत्पादन लाइनअप तयार पारिरहेको देखिन्छ ।
नयाँ लेपास एल४ ईभी चेरीको प्रिमियम विद्युतीय ब्रान्ड लेपास अन्तर्गत विकसित कम्प्याक्ट एसयूभी हो । सन् २०२६ को बेइजिङ अटो शोमा सार्वजनिक गरिएको यस मोडलमा ६७ किलोवाट–घण्टा ब्याट्री, १५० किलोवाट (करिब २०२ हर्सपावर) क्षमताको मोटर र करिब ४५० किलोमिटर रेन्ज उपलब्ध हुने बताइएको छ । यसको प्लग–इन हाइब्रिड संस्करणमा ९० किलोमिटर विद्युतीय रेन्ज, २०५ किलोवाट संयुक्त शक्ति र ३५० न्युटन मिटर टर्क रहने कम्पनीको दाबी छ । साथै एडास, ३६० डिग्री क्यामेरा, डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर, इन्फोटेनमेन्ट स्क्रिन, भेन्टिलेटेड सिट र प्रिमियम अडियो सिस्टमजस्ता आधुनिक सुविधा पनि उपलब्ध हुनेछन् ।
त्यसैगरी एक्सिड आरएक्स चेरीको प्रिमियम कुपे–स्टाइल एसयूभी हो, जसलाई नयाँ फेसलिफ्ट डिजाइनसहित भारतमा पेटेन्ट गरिएको छ । यसमा ठूलो फ्रन्ट ग्रिल, नयाँ एलईडी लाइटिङ डिजाइन र थप आकर्षक बाह्य स्वरूप दिइएको छ । यसको प्लग–इन हाइब्रिड प्रणालीले अधिकतम १,४०० किलोमिटर संयुक्त रेन्ज र २१० किलोमिटरसम्मको शुद्ध विद्युतीय रेन्ज प्रदान गर्ने कम्पनीले जनाएको छ । साथै २४.६ इन्चको कर्भ्ड डुअल स्क्रिनसहितको प्रिमियम डिजिटल केबिन यसको प्रमुख आकर्षण हो ।
अटो उद्योगका विश्लेषकहरूका अनुसार चेरीले भारतमा निरन्तर डिजाइन पेटेन्ट दर्ता गर्नु केवल कानुनी औपचारिकता नभई दीर्घकालीन बजार रणनीतिको हिस्सा हो । भारतमा विद्युतीय तथा हाइब्रिड सवारीको माग तीव्र रूपमा बढिरहेका बेला जेएसडब्लूसँगको साझेदारीमार्फत चेरीले प्रिमियम एसयूभी सेग्मेन्टमा बलियो उपस्थिति जनाउने तयारी गरिरहेको संकेत देखिएको छ । यद्यपि यी मोडल कहिले सार्वजनिक हुने भन्नेबारे कम्पनीले अहिलेसम्म औपचारिक जानकारी दिएको छैन ।