४६.३ इन्चको विशाल ८के स्क्रिनसहित फ्रिल्यान्डर ८ सार्वजनिक तयारीमा, कारभित्रै सिनेमाको अनुभव
काठमाडौं । चिनेरी–ज्यागुआर ल्याण्ड रोभर (सीजेएलआर) को नयाँ ब्रान्ड फ्रिल्यान्डर अन्तर्गत विकास गरिएको फ्रिल्यान्डर ८ एसयूभीले आधिकारिक सार्वजनिक हुनुअघि नै आफ्नो अत्याधुनिक इन्फोटेनमेन्ट प्रणाली सार्वजनिक गर्दै चर्चा बटुलेको छ । कम्पनीले सन् २०२६ को दोस्रो छ महीनामा बजारमा ल्याउने तयारी गरिरहेको यो एसयूभीले गाडीभित्रको डिजिटल अनुभवलाई नयाँ स्तरमा पुर्याउने दाबी गरेको छ ।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत वेन फेईका अनुसार फ्रिल्यान्डर ८ मा ‘सिनेमाटिक’ शैलीको ह्युमन–मेसिन इन्टरफेस प्रयोग गरिएको छ । यसमा ‘फ्रिल्यान्डर कन्टिनेन्ट’ नामक नयाँ प्रयोगकर्ता अनुभव समावेश गरिएको छ, जसले दिन र रातको दृश्यलाई स्वाभाविक रूपमा परिवर्तन गर्दै अझ जीवन्त वातावरण सिर्जना गर्ने कम्पनीको भनाइ छ ।
यस एसयूभीको सबैभन्दा ठूलो आकर्षण भनेको ड्यासबोर्डभर फैलिएको ४६.३ इन्चको ८के डिस्प्ले हो । करिब १.२ मिटर चौडाइ भएको यो स्क्रिनले १,००० निट्स सम्मको ब्राइटनेस प्रदान गर्नेछ । यसको साथमा फ्लोटिङ टचस्क्रिन पनि उपलब्ध हुनेछ, जसलाई क्वालकम स्न्यापड्रागन ८३९७ अटोमोटिभ ग्रेड चिपले सञ्चालन गर्नेछ ।
स्क्रिनमार्फत चालकले सेन्टर लक, सनरुफ सड, टेलगेट, चार्जिङ पोर्ट कभर, संगीत, आर्टिफिसियल इन्टेलिजेन्स फिचर तथा विभिन्न विजेट सहज रूपमा नियन्त्रण गर्न सक्नेछन् । साथै रेस्ट मोड, सिनेमा मोड, क्याम्पिङ मोड, एनिमल मोड, चिल्ड्रेन मोड लगायतका इन्टेरियर मोड, इमर्सिभ अडियो प्रणाली, सिट मसाज, जिरो–ग्राभिटी सिट, तेस्रो पङ्क्तिका सिट एकै क्लिकमा फोल्ड गर्ने सुविधा, सुगन्ध नियन्त्रण र फग लाइट सञ्चालनजस्ता फिचर पनि समावेश गरिएको छ ।
आकारका हिसाबले पनि फ्रिल्यान्डर ८ निकै ठूलो एसयूभी हो । यसको लम्बाइ ५,११८ मिमि, चौडाइ २,०५० मिमि, उचाइ १,८९८ मिमि तथा ह्विलबेस ३,०४० मिमि रहेको छ । यसमा २+२+२ लेआउटमा छ सिट उपलब्ध हुनेछन् भने अधिकतम २,००० केजी सम्म टो गर्न सक्ने क्षमता पनि दिइएको छ ।
सुरक्षाका लागि छतमा हुवावे द्वारा विकसित ८९६ लाइन लिडार सेन्सर जडान गरिएको छ, जसले हुवावे एडीएस ४.१ सहायक ड्राइभिङ प्रणालीसँग मिलेर काम गर्नेछ । साथै यो एसयूभी ८०० भोल्ट उच्च भोल्टेज प्लेटफर्ममा आधारित हुनेछ ।
पावरट्रेनतर्फ फ्रिल्यान्डर ८ मा १.५ लिटर टर्बो पेट्रोल इन्जिन प्रयोग गरिएको छ, जसले ११५ किलोवाट (१५४ हर्सपावर) शक्ति उत्पादन गर्छ । यो इन्जिनले सीएटीएल निर्मित ६०.३३ किलोवाट–आवर क्षमताको टर्नरी एनएमसी ब्याट्री चार्ज गर्नेछ । कम्पनीका अनुसार यसले डब्लुएलटीसी मापदण्डअनुसार २२१ किलोमिटर सम्म शुद्ध विद्युतीय रेन्ज दिनेछ । यद्यपि यसको विद्युतीय मोटर सम्बन्धी विस्तृत जानकारी भने कम्पनीले अझै सार्वजनिक गरेको छैन ।
यता चीनको बजारमा चिनेरी–ज्यागुआर ल्याण्ड रोभरले रणनीतिक रूपमा फ्रिल्यान्डर ब्रान्डतर्फ ध्यान केन्द्रित गरिरहेको देखिन्छ । चीन ईभी डाटाट्र्याकरका अनुसार कम्पनीले जुन २०२६ मा ३,२८३ वटा स्थानीय रूपमा एसेम्बल गरिएका सवारीसाधन बिक्री गरेको थियो, जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा २२८.३ प्रतिशत बढी हो । कम्पनीले नयाँ फ्रिल्यान्डर ब्रान्डलाई प्राथमिकता दिनुअघि पुराना मोडलको स्टक व्यवस्थापन गर्न रेन्ज रोभर इभोक मा ठूलो छुट अभियान सञ्चालन गरेको बताइएको छ । अन्तिम निर्णय तथा आधिकारिक मूल्य भने फ्रिल्यान्डर ८ को औपचारिक सार्वजनिकसँगै खुल्ने अपेक्षा गरिएको छ ।