Newad1
Featured blog image

शोरुम मात्र होइन, दुई नयाँ ईभीसहित पोखरा पुग्यो जीडब्लूएम

पोखरा । जीडब्लूएमले पोखरामा ओरा ५ र हाभल जोलियन म्याक्स ईभी सार्वजनिक गर्दै दुवै मोडलको बुकिङ तथा टेस्ट ड्राइभ खुलाएको छ । उत्तमचोकमा सञ्चालनमा आएको नयाँ शोरुमबाट यी गाडीको बिक्रीसँगै सर्भिस र स्पेयर पार्ट्सको सुविधा पनि उपलब्ध हुनेछ ।

ओरा ५ मा ५८.३ किलोवाट आवरको ब्याट्री दिइएको छ । यसले डब्लूएलटीपी परीक्षण मापदण्डअनुसार एकपटकको पूर्ण चार्जमा ४३५ किलोमिटरसम्म चल्ने प्रमाणित रेन्ज दिन्छ । दुई सय मिलिमिटर ग्राउन्ड क्लियरेन्स रहेको यो गाडीलाई सहरी प्रयोगसँगै नेपालका मिश्रित सडक अवस्थासमेत ध्यानमा राखेर प्रस्तुत गरिएको छ ।

जोलियन म्याक्स ईभीमा १५० किलोवाट क्षमताको विद्युतीय मोटर र ५८.३ किलोवाट आवरको ब्याट्री छ । कम्पनीले यसको रेन्ज ४०० किलोमिटरभन्दा बढी हुने जनाएको छ । यद्यपि, उक्त रेन्ज कुन परीक्षण मापदण्डमा आधारित हो भन्ने विवरण सार्वजनिक गरिएको छैन । यसमा पानोरामिक सनरुफ, १४.६ इन्चको इन्फोटेनमेन्ट स्क्रिन, एडास र भीटूएलसहितका सुविधा उपलब्ध छन् ।

रेज मोटर्सले सञ्चालन गरेको नयाँ आउटलेट जीडब्लूएमको ३एस शोरुम हो । यहाँ ग्राहकले गाडी खरिद, मर्मतसम्भार र पार्टपुर्जासम्बन्धी सेवा एउटै स्थानबाट लिन सक्नेछन् । विद्युतीय गाडीका लागि आवश्यक प्राविधिक सहयोग र बिक्रीपछिको सेवा पनि यही केन्द्रबाट उपलब्ध गराइने कम्पनीले जनाएको छ ।

नयाँ शोरुम सञ्चालनसँगै जीडब्लूएमले पोखरा तथा आसपासका जिल्लामा आफ्नो बिक्री र सर्भिस पहुँच विस्तार गरेको छ ।

footer