टेस्लाको दबदबा सकियो कि अझै बाँकी छ ? बीवाईडी र रिभियनबीचको प्रतिस्पर्धाले बदलिँदै विश्व बजार
काठमाडौँ, केही वर्षअघिसम्म विद्युतीय सवारीसाधन अर्थात् ईभी बजारको पर्याय नै टेस्ला मानिन्थ्यो । विश्वभर ईभीको चर्चा हुँदा सबैभन्दा पहिले टेस्लाकै नाम आउँथ्यो र अन्य कम्पनीहरू त्यसलाई पछ्याइरहेका देखिन्थे । तर अहिले परिस्थिति निकै फेरिएको छ । चीनको बीवाईडी उत्पादन र बिक्री दुवैमा तीव्र गतिले अघि बढिरहेको छ भने अमेरिकाको रिभियनले प्रिमियम विद्युतीय पिकअप ट्रक र एसयूभी क्षेत्रमा आफ्नै पहिचान बनाउन थालेको छ । यस्तो अवस्थामा लगानीकर्तामाझ एउटा प्रश्न निकै चर्चामा छ— सन् २०२६ मा ईभी क्षेत्रको वास्तविक ‘क्राउन’ अर्थात् नेतृत्व कसको हातमा छ ?
विश्व बजारको पछिल्लो अवस्था हेर्दा तीनवटै कम्पनीले फरक–फरक रणनीतिसहित आफ्नो प्रभाव विस्तार गरिरहेका छन् । कसैले उत्पादन क्षमतामा बलियो उपस्थिति देखाएको छ भने कसैले नयाँ प्रविधि र भविष्यका परियोजनामा ठूलो लगानी गरिरहेको छ । त्यसैले यी तीन कम्पनीबीचको प्रतिस्पर्धा केवल गाडी बेच्ने दौडमा सीमित छैन, भविष्यको प्रविधि र सम्पूर्ण इकोसिस्टम निर्माणको होडमा पनि रूपान्तरित भइसकेको छ ।
उत्पादन क्षमतामा बीवाईडी सबैभन्दा अगाडि
यदि केवल बिक्री र उत्पादनकै आधारमा मूल्याङ्कन गर्ने हो भने अहिले बीवाईडी सबैभन्दा अगाडि देखिन्छ । सन् २०२५ मा कम्पनीले करिब ४६ लाख ब्याट्री इलेक्ट्रिक र प्लग–इन हाइब्रिड सवारी बिक्री गरेर विश्वकै ठूलो ईभी निर्माता बन्न सफल भएको थियो । अघिल्लो वर्षको तुलनामा कम्पनीको बिक्रीमा उल्लेखनीय वृद्धि भएको थियो ।
बीवाईडीको सफलताको प्रमुख कारण यसको ‘भर्टिकल इन्टिग्रेसन’ रणनीति हो । कम्पनीले आफ्नै ब्याट्री, सेमिकन्डक्टर, इलेक्ट्रिक मोटर र पावर इलेक्ट्रोनिक्स उत्पादन गर्ने भएकाले लागत नियन्त्रण गर्न र बजारको मागअनुसार छिटो उत्पादन समायोजन गर्न सहज भएको छ । चीनबाहिर युरोप, ल्याटिन अमेरिका र दक्षिणपूर्वी एसियामा उत्पादन विस्तार गर्दै निर्यात बढाइरहेको बीवाईडी अहिले विश्वव्यापी अटोमोबाइल कम्पनीको रूपमा उभिएको छ ।
यद्यपि, बीवाईडीका लागि सबैभन्दा ठूलो चुनौती अमेरिकी बजार नै बनेको छ । विश्वकै दोस्रो ठूलो अटोमोबाइल बजार अमेरिकामा अझै कम्पनी प्रवेश गर्न सकेको छैन । वार्षिक करोडौँ सवारी बिक्री हुने यस्तो विशाल बजारबाट टाढा रहनु दीर्घकालीन वृद्धिका हिसाबले ठूलो कमजोरी मानिन्छ ।
रिभियनको यात्रा सही दिशातर्फ
रिभियनले पनि पछिल्ला वर्षहरूमा उल्लेखनीय सुधार गरेको छ । लामो समय घाटामा सञ्चालन भएको कम्पनीले सन् २०२५ मा पहिलोपटक वार्षिक ‘ग्रस प्रोफिट’ हासिल गर्दै उत्पादन क्षमता र सञ्चालन दक्षता दुवैमा सुधार गरेको थियो ।
कम्पनीको वार्षिक आम्दानी करिब ५ अर्ब ३८ करोड अमेरिकी डलर पुगेको छ भने उत्पादन पनि क्रमशः बढिरहेको छ । विशेषगरी मध्यम मूल्यको ‘आर२’ एसयूभी सार्वजनिक गर्ने तयारीमा रहेको रिभियनले आगामी वर्षहरूमा आफ्नो बिक्री उल्लेखनीय रूपमा बढाउने अपेक्षा गरिएको छ ।
तर यस वर्ष कम्पनीले करिब ६२ हजारदेखि ६७ हजार सवारी मात्रै ग्राहकसम्म पुर्याउने अनुमान गरिएको छ, जुन टेस्लाको वार्षिक उत्पादनको तुलनामा निकै कम हो । अझै कम्पनी पूर्ण रूपमा नाफामा पुग्न नसकेकाले लगानीकर्ताले भविष्यको सम्भावनामा विश्वास गरेर मात्रै लगानी गर्नुपर्ने अवस्था कायम छ ।
टेस्ला किन अझै फरक देखिन्छ ?
टेस्लाको सबैभन्दा ठूलो शक्ति केवल ईभी उत्पादन होइन । कम्पनीले सवारी बिक्रीभन्दा बाहिरको विशाल प्रविधि इकोसिस्टम निर्माण गरिरहेको छ । विश्वभर ८० हजारभन्दा बढी सुपरचार्जर सञ्चालनमा ल्याइसकेको टेस्लाले छिटो चार्जिङ पूर्वाधारमा स्पष्ट अग्रता कायम राखेको छ ।
त्यसैगरी ऊर्जा उत्पादन र भण्डारण व्यवसाय पनि कम्पनीको आम्दानीको महत्वपूर्ण स्रोत बन्दै गएको छ । ‘मेगाप्याक’ ब्याट्री प्रणालीमार्फत विद्युत् ग्रिडका लागि ठूलो स्तरको ऊर्जा भण्डारण समाधान उपलब्ध गराइरहेको कम्पनीले आर्टिफिसियल इन्टेलिजेन्स, स्वचालित ड्राइभिङ, रोबोटिक्स तथा अत्याधुनिक उत्पादन प्रविधिमा पनि निरन्तर अर्बौँ डलर लगानी गरिरहेको छ ।
यी सबै परियोजनाले भविष्यमा कति सफलता पाउँछन् भन्ने समयले देखाउनेछ । तर अन्य अधिकांश अटोमोबाइल कम्पनीको तुलनामा टेस्लासँग आम्दानीका धेरै विकल्प हुनु यसको सबैभन्दा ठूलो बल मानिन्छ ।
आर्थिक रूपमा पनि बलियो आधार
आर्थिक पक्षबाट हेर्दा पनि टेस्ला प्रतिस्पर्धीभन्दा धेरै अघि देखिन्छ । कम्पनीले सन् २०२५ मा करिब ६ अर्ब २० करोड अमेरिकी डलर ‘फ्री क्यास फ्लो’ सिर्जना गरेको थियो भने सन् २०२६ को पहिलो त्रैमासिकसम्म कम्पनीसँग ४४ अर्ब अमेरिकी डलरभन्दा बढी नगद तथा अल्पकालीन लगानी रहेको थियो ।
वार्षिक १६ लाखभन्दा बढी सवारी उत्पादन गरिरहेको टेस्लासँग नयाँ प्रविधि, उत्पादन विस्तार, रोबोटिक्स, आर्टिफिसियल इन्टेलिजेन्स तथा स्वचालित सवारी विकासमा ठूलो लगानी गर्ने वित्तीय क्षमता पनि पर्याप्त छ ।
यद्यपि पछिल्ला वर्षहरूमा मूल्य प्रतिस्पर्धाका कारण कम्पनीको नाफा मार्जिन केही घटेको छ र बिक्री वृद्धिको गति पनि पहिलेजस्तो तीव्र छैन । त्यसका बाबजुद धेरै प्रतिस्पर्धी कम्पनी अझै घाटामा सञ्चालन भइरहेका बेला टेस्लाले नाफासहित व्यवसाय सञ्चालन गरिरहेको छ ।
अबको प्रतिस्पर्धा केवल गाडी बेच्ने होइन
बीवाईडीले उत्पादन र बिक्रीमा नयाँ कीर्तिमान बनाइरहेको छ भने रिभियनले नयाँ उत्पादनमार्फत भविष्यको सम्भावना देखाएको छ । दुवै कम्पनी विश्व ईभी उद्योगका महत्वपूर्ण खेलाडी बनिसकेका छन् ।
तर दीर्घकालीन दृष्टिले हेर्दा प्रतिस्पर्धा अब केवल कसले धेरै गाडी उत्पादन गर्छ भन्ने विषयमा सीमित छैन । चार्जिङ पूर्वाधार, ऊर्जा भण्डारण, आर्टिफिसियल इन्टेलिजेन्स, स्वचालित ड्राइभिङ, रोबोटिक्स र अत्याधुनिक उत्पादन प्रविधिलाई एउटै इकोसिस्टममा जोड्न सक्ने कम्पनी नै भविष्यको वास्तविक विजेता बन्ने सम्भावना बढ्दो छ ।
यही कारणले धेरै विश्लेषकले अहिले पनि टेस्लालाई ईभी उद्योगको सबैभन्दा बलियो दीर्घकालीन कम्पनीका रूपमा हेरिरहेका छन् । बिक्रीमा बीवाईडी अगाडि देखिए पनि सम्पूर्ण प्रविधि इकोसिस्टम, आर्थिक क्षमता र भविष्यका सम्भावित अवसरका आधारमा भने टेस्लाले अझै आफ्नो ‘ईभी क्राउन’ जोगाइरहेको विश्लेषण गरिएको छ ।