भारतीय अटो बजारमा वृद्धि कायम, जुनमा दुईपाङ्ग्रे र पीभी बिक्री दोहोरो अंकले बढ्ने संकेत
काठमाडौं । भारतको अटोमोबाइल बजारले जुन २०२६ मा पनि मजबुत गति कायम राख्ने संकेत देखिएको छ । विशेषगरी दुईपाङ्ग्रे र यात्रुवाहक सवारी प्यासेन्जर भेहिकल सेग्मेन्टमा दोहोरो अंकको बिक्री वृद्धि हुने प्रक्षेपण गरिएको छ । बजारमा नयाँ मोडलको आगमन, विद्युतीय सवारी प्रति बढ्दो आकर्षण तथा उपभोक्ता माग निरन्तर बलियो रहनुले समग्र अटो उद्योगलाई सकारात्मक दिशा दिएको विश्लेषण गरिएको छ ।
येस सेक्युरिटिज इन्स्टिच्युसनल इक्विटिज (Yes Securities Institutional Equities) ले सार्वजनिक गरेको प्रतिवेदनअनुसार जुन महिनामा दुईपाङ्ग्रे सवारीको खुद्रा बिक्री वार्षिक आधारमा १५ प्रतिशतभन्दा बढीले बढ्ने अपेक्षा गरिएको छ । यद्यपि हिन्दू पात्रोअनुसार पर्ने अधिक मासका कारण केही उपभोक्ताले खरिद निर्णय स्थगित गरेकाले मासिक आधारमा भने बिक्री २ देखि ३ प्रतिशतसम्म घट्न सक्ने अनुमान गरिएको छ ।
प्रतिवेदनले १२५ सीसीभन्दा माथिका स्कुटर र मोटरसाइकलको माग अझै बलियो रहेको उल्लेख गरेको छ । ग्रामीण क्षेत्रमा प्रतिकूल मौसम, इन्धनको बढ्दो लागत तथा हालै गरिएको मूल्यवृद्धिका कारण इन्ट्री लेभलका मोडलको मागमा केही दबाब देखिए पनि समग्र दुईपाङ्ग्रे बजार सकारात्मक अवस्थामा रहेको विश्लेषण गरिएको छ ।
यात्रुवाहक सवारी पीभी सेग्मेन्टमा पनि दोहोरो अंकको वृद्धि हुने अपेक्षा गरिएको छ । नयाँ मोडल सार्वजनिक हुनु, अधिक मासपछि स्थगित खरिद पुनः सुरु हुनु तथा शोरुमहरूमा ग्राहकको आगमन बढ्नुले बिक्रीलाई थप टेवा पुग्ने प्रतिवेदनमा उल्लेख छ । दक्षिण भारतमा दोहोरो अंकको वृद्धि देखिएको छ भने पश्चिम र उत्तर भारतमा पनि उच्च एकल अंकदेखि प्रारम्भिक दोहोरो अंकसम्मको वृद्धिको संकेत देखिएको बताइएको छ ।
अर्कोतर्फ, प्रमुख अटो निर्माता कम्पनीहरूले जुन महिनादेखि अधिकांश मोडलमा ०.५ देखि १.५ प्रतिशतसम्म मूल्य बढाएका छन् । बढ्दो उत्पादन लागत व्यवस्थापन गर्न कम्पनीहरूले मूल्य समायोजन गरेको प्रतिवेदनले जनाएको छ । मूल्यवृद्धिपछि पनि उपभोक्ता मागमा उल्लेखनीय कमी नआएको विश्लेषण गरिएको छ ।
विद्युतीय सवारी (ईभी) सेग्मेन्टमा पनि उत्साहजनक वृद्धि जारी रहेको छ । नयाँ ईभी मोडल बजारमा प्रवेश गर्नु, पेट्रोलियम इन्धनको बढ्दो खर्च तथा सञ्चालन लागत कम हुने फाइदाका कारण उपभोक्ताको आकर्षण अझ बढेको प्रतिवेदनमा उल्लेख छ । त्यसको प्रभावस्वरूप ईभीसम्बन्धी सोधपुछ र बुकिङ १५ देखि २० प्रतिशतसम्म बढेको अनुमान गरिएको छ ।
यता, कृषि क्षेत्रमा प्रयोग हुने ट्र्याक्टर बजारले पनि सकारात्मक संकेत देखाएको छ । आर्थिक वर्ष २०२६/२७ को पहिलो त्रैमास मा ट्र्याक्टर बिक्री २३ देखि २४ प्रतिशतसम्म बढ्ने अनुमान गरिएको छ । यद्यपि आगामी महिनामा मूल्यवृद्धिको प्रभावका कारण यसको वृद्धि केही सुस्त हुन सक्ने प्रतिवेदनले औंल्याएको छ ।
समग्रमा, मूल्यवृद्धि, ग्रामीण बजारका चुनौती तथा मौसमी प्रभावका बाबजुद भारतीय अटो उद्योगमा उपभोक्ता माग बलियो रहेको देखिएको छ । विशेषगरी दुईपाङ्ग्रे, यात्रुवाहक सवारी र विद्युतीय सवारी सेग्मेन्टले बजार विस्तारको नेतृत्व गर्ने अपेक्षा गरिएको छ ।