भारतको पहिलो हाइड्रोजन रेल सञ्चालनमा, १० कोचमा एकैपटक २६ सय यात्रु यात्रा गर्न सक्ने
काठमाडौँ, भारतले स्वच्छ तथा दिगो रेल यातायाततर्फ महत्त्वपूर्ण कदम चाल्दै आफ्नो पहिलो हाइड्रोजन रेल व्यावसायिक रूपमा सञ्चालनमा ल्याएको छ । ‘नमो ग्रिन रेल’ नाम दिइएको यो रेल प्रधानमन्त्री नरेन्द्र मोदीले हरियाणाको जिन्द रेल्वे स्टेसनबाट शुक्रबार उद्घाटन गरेका हुन् । वातावरणमैत्री ऊर्जा प्रयोग गर्ने यो रेललाई भारतीय रेल इतिहासकै नयाँ अध्यायका रूपमा हेरिएको छ ।
प्रारम्भिक चरणमा यो रेल हरियाणाको जिन्द–सोनीपत ८९ किलोमिटर रेलमार्गमा सञ्चालन हुनेछ । यात्राका क्रममा जिन्द, गोहाना, सोनीपतसहित बीचका विभिन्न स्टेशन र हल्टमा सेवा उपलब्ध गराइनेछ । हाइड्रोजनबाट आफ्नै विद्युत् उत्पादन गर्ने भएकाले यसलाई भविष्यको हरित रेल प्रणालीको आधार मानिएको छ ।
विश्वका अधिकांश हाइड्रोजन रेल दुई वा तीन कोचसम्म सीमित रहेका बेला भारतले भने एकैपटक १० कोचको रेल सञ्चालनमा ल्याएको छ । यो रेलमा एकपटकमा करिब दुई हजार ६ सय यात्रुले यात्रा गर्न सक्ने क्षमता रहेको भारतीय रेल मन्त्रालयले जनाएको छ ।
यस रेलको विशेषता भनेको सञ्चालनका लागि ओभरहेड विद्युत् लाइन आवश्यक नपर्नु हो । रेलभित्र जडान गरिएको प्रोटोन एक्सचेन्ज मेम्ब्रेन फ्युल सेल प्रणालीले हाइड्रोजन र हावाबाट प्राप्त अक्सिजनबीच रासायनिक प्रतिक्रिया गराएर विद्युत् उत्पादन गर्छ । यही विद्युत्ले ट्र्याक्सन मोटर सञ्चालन गरी रेलका पाङ्ग्रा घुमाउँछ ।
यस प्रक्रियाबाट धुवाँ वा प्रत्यक्ष कार्बन उत्सर्जन हुँदैन । यसको सट्टा जलवाष्प र केही ताप मात्रै उत्पादन हुने भएकाले यो रेल वातावरणमैत्री मानिएको छ । बढ्दो जलवायु परिवर्तन र कार्बन उत्सर्जन घटाउने विश्वव्यापी अभियानका बीच भारतले यस्तो प्रविधि अपनाउनु उल्लेखनीय उपलब्धिका रूपमा हेरिएको छ ।
रेलमा दुईवटा हाइड्रोजन ड्राइभिङ पावर कार र आठवटा ट्रेलर कोच जडान गरिएको छ । प्रत्येक पावर कारमा प्रोटोन एक्सचेन्ज मेम्ब्रेन फ्युल सेल, लिथियम आइरन फस्फेट ब्याट्री तथा उच्च क्षमताका हाइड्रोजन भण्डारण सिलिन्डर राखिएका छन् । प्रत्येक पावर कारले एक हजार दुई सय किलोवाट विद्युत् उत्पादन गर्न सक्ने क्षमता राख्छ ।
दुवै पावर कारको संयुक्त क्षमताले रेललाई अधिकतम ११० किलोमिटर प्रतिघण्टाको गतिमा सञ्चालन गर्न सक्नेछ । यद्यपि प्रारम्भिक चरणमा यसको सञ्चालन गति ७५ किलोमिटर प्रतिघण्टा निर्धारण गरिएको छ ।
सुरक्षाका दृष्टिले पनि यो रेललाई अत्याधुनिक बनाइएको छ । रेलमा डिजिटल निगरानी प्रणाली, आधुनिक सेन्सर तथा रियल–टाइम निगरानी प्रविधि जडान गरिएको छ, जसले यात्रु सुरक्षा र सञ्चालन व्यवस्थापनलाई थप प्रभावकारी बनाउने विश्वास गरिएको छ ।
यस रेलका लागि आवश्यक हाइड्रोजन आपूर्ति सुनिश्चित गर्न हरियाणाको जिन्दमा भारतकै सबैभन्दा ठूलो रेल हाइड्रोजन रिफ्युलिङ केन्द्र निर्माण गरिएको छ । उक्त केन्द्रमा इलेक्ट्रोलाइसिस प्रविधिबाट पानीलाई हाइड्रोजन र अक्सिजनमा छुट्याएर हरित हाइड्रोजन उत्पादन गरिन्छ । केन्द्रमा करिब तीन हजार केजी हाइड्रोजन भण्डारण गर्न सकिने क्षमता रहेको बताइएको छ ।
भारतीय रेलका अनुसार पछिल्ला १२ वर्षमा देशभरका ९९ प्रतिशतभन्दा बढी ब्रोडगेज रेलमार्ग विद्युतीकरण भइसकेका छन् । अब हाइड्रोजन प्रविधिको प्रयोगसँगै भारतले स्वच्छ ऊर्जा आधारित रेल प्रणाली विस्तार गर्ने लक्ष्य लिएको छ ।
दक्षिण एसियामै हाइड्रोजन प्रविधिमा आधारित रेल सञ्चालनमा आएको यो उपलब्धिले नेपालजस्ता मुलुकका लागि पनि भविष्यमा हरित सार्वजनिक यातायात विकासका सम्भावित विकल्पबारे नयाँ बहस सुरु गराएको छ । अहिले नेपालमा रेल सेवा सीमित रहे पनि स्वच्छ ऊर्जा, हरित हाइड्रोजन तथा वैकल्पिक इन्धनको प्रयोगबारे विश्वभर भइरहेको प्रगतिले आगामी दिनमा नेपालको यातायात नीतिमा समेत सकारात्मक प्रभाव पार्न सक्ने देखिन्छ ।